arrow

वार्षिक अर्ब बढी कमाउने गरी बन्दै तिलोत्तमा इलेक्ट्रिक ट्राम रेल

logo
नारायण वली,
प्रकाशित २०७९ पुष १ शुक्रबार
Tilottama-Relway-7.jpg

रुपन्देही । तिलोत्तमा चक्रपथ निर्माण गरी इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्ने प्रक्रियाको डीपीआर प्रस्तुत गरिएको छ । ट्राम रेल सञ्चालन गर्नका लागि तिलोत्तमा नगरपालिका वडा–१ बनवाटिकामा ०७७ सालमा तिलोत्तमा पब्लिक रेल्वे कम्पनीको कार्यालय स्थापना गरेर औपचारिक रुपमा काम थालनी गरिएको थियो ।

नागरिक, स्थानीय तह र दातृ निकायको संयुक्त लगानीबाट इलेक्ट्रिक ट्राम रेल सञ्चालन गरी रुपन्देहीको आर्थिक विकास, कृषि उत्पादनको बजारीकरण, धार्मिक स्थल लगायत क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटकिय गन्तव्यहरुको प्रबर्धन हुने बताइएको छ । 

मुनस्टार इन्जिनियर कन्सल्टेन्सी दाङले तयार पारेको डिपिआरको तिलोत्तमा नगरपालिका नगरप्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरुको मंगलवार एकभेला आयोजना गरी डीपीआर प्रस्तुत गरियो । प्रस्तुतिकरणका क्रममा सहभागी स्थानीय एवं नगरकार्यपालिका सदस्यहरुको मुहारमा उत्साह देखिएको थियो । डीपीआरबारे तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रवन्धक तथा सञ्चालक भोलानाथ शर्माले रेल सञ्चालनका लागि निर्माण कार्य, लागत, विशेषता र फाइदाका बारेमा जानकारी दिएका थिए । 

शर्मा जनकपुर रेल्वे कम्पनीका पूर्वमहाप्रबन्धक हुन् । तिलोत्तमामा ट्राम सञ्चालन गर्ने योजना ल्याउने मुख्य योजनाकार मानिन्छन् । शर्माको योजनामा स्थानीय पूर्व शंकरनगर वनबाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष बावुराम अर्याल, समाजसेवी खिमलाल पाण्डे, हालका तिलोत्तमा रेल्वे कम्पनीका अध्यक्ष हरिप्रसाद तिवारी र पूर्वमेयर वासुदेव घिमिरेले साथ दिएपछि कम्पनीले रेल सञ्चालनका लागि थप टेवा पुगेसँगै गति लिएको प्रबन्धक शर्मा बताउँछन् । 

शर्माले आम्दानी र आगामी प्रगति प्रतिवेदन प्रस्तुतले लगानी कर्ताहरुमा उत्साह थपिदै गएको र शहरी विकास कोष अन्तर्गत नगर विकास, सडक विभाग लगायतले समर्थन जनाउँदै निजी स्रोतले आँटेको गौरवपूर्ण आयोजनाप्रति साथ रहने बताएका छन् । प्रोजेक्ट देख्दा सरकारी निकायका कर्मचारीहरु पनि उत्साही भएको उनले बताए । रेलको भौतिक संरचना निर्माणदेखि सञ्चालन गर्नेकार्य सम्पन्न सम्म कुल पुँजी साढे ८ अर्ब, भ्याट सहित १० अर्ब लाग्ने डीपीआर प्रतिवेदनमा उल्लेख छ । 

ट्राम रेलले आर्थिक कायापलट 
छिमेकी देश भारत लगायत विशेषगरी युरोपियन देशहरुमा सञ्चालन भएको ट्राम रेल नेपालका लागि नौलो अध्यास र नयाँ आयोजना हो । ट्राम रेल सञ्चालनले आर्थिक, भौतिक, सामाजिक, कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको विकास एवं प्रबर्धनका लागि प्रत्यक्ष टेवा पुग्नुका साथै पर्यटकहरुको रोजाईमा पर्ने डीपीआर प्रतिवेदनमा खुलाइएको छ । स्थानीय कृषिजन्य पदार्थको उत्पादन तथा बजारीकरण सहुलियतसँगै सहजता हुने भएकाले खेतीयोग्य जमिनहरु बाँझो हुने समस्या अन्त्य हुने विश्वास लिइएको छ ।

बार्षिक आम्दानी १ अर्बभन्दा माथि
चक्रपथमा जम्मा १२ वटा ट्राम रेल चल्ने छन् । एउटा रेलमा ३ वटा डिब्बा हुने, दैनिक २५ हजार यात्रुहरुले सवार गर्ने, प्रतिडिब्बामा ७० जना बस्न मिल्ने भएकाले एउटा रेल २ सय १० जना यात्रु क्षमताको हुने जनाइएको छ । आधुनिक एसी सहितको व्यवस्था हुने प्रवन्धक शर्माको भनाइ छ । 

पहिलो चरणमा चार किलोमिटर शिलान्यास
तिलोत्तमा नगरपालिका वडा न–२ योगिकुटीदेखि रोहिणी खोलाको ड्यामसम्म पहिलो चरणमा १५ किलोमिटर दूरीमा इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्नेगरी अघि बढेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले ४ किलोमिटर दूरीको निर्माण कार्यलाई तत्काल शुरु गर्ने भएको छ । जसको शिलान्यास पुस ८ गते गर्ने र औपचारिक रुपमा कामलाई अगाडि बढाइने रेल्वे कम्पनीका अध्यक्ष हरिप्रसाद तिवारी बताउँछन् । उनी भन्छन्, अब हामी ४ किलोमिटरको कामलाई थाल्छौं, त्यो सकिएलगत्तै फेरी दोस्रो चरणको कामलाई सुचारु गर्छौं । निर्माण कार्यलाई छिटो गर्ने गरी अघि बढेको बताउँदै उनले सबैको सहयोग अपरिहार्य रहेको जनाए ।

रेलबाट के लाभ हुन्छ ?
रोजगार, आर्थिक उन्नति, पर्यटन क्षेत्रमा पर्यटनहरुको आगमन लगायत फाइदा हुने, जनताको प्रत्यक्ष लगानीबाट संचालित रेलबाट वार्षिक १ अर्ब २ करोड आम्दानी गर्न सकिने तयारी डीपीआरमा प्रस्ट्याइएको छ । वार्षिक बाह्य तथा आन्तरिक गरी ९० लाख यात्रुहरुले सवार गर्ने, २५ वटा स्टेशन निर्माण हुने र एकसय जनाले रोजगारी पाउने प्रतिवेदनमा छ । ४ किलोमिटरको सिभिल कार्य हुने र लागत १० करोड लाग्ने रेल्वे कम्पनीले जनाएको छ ।

विद्युत् खपतमा ठूलो कम्पनी 
नेपालमा पछिल्लो समय विद्युत उत्पादन बढ्दै गएकाले इलेक्ट्रिक ट्राम रेल आमनागरिकका लागि निकै फाइदाजनक हुने तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले बताएको छ । कम्पनी भन्छ, यो नेपालको नौलो कुरा भए पनि उत्पादित विद्युत्को खपतमा ठूलो कम्पनी मानिन्छ । विद्युत् बिना इलेक्ट्रिक रेल सञ्चालन असम्भव भएकाले स्वदेशी विद्युत् खपतमा वृद्धि हुने अपेक्षा छ ।

मेयरको लगानीमा चासो
हालसम्म ५ सय ३४ जना शेयर सदस्यहरु रहेको तिलोत्तमा पब्लिक रेल कम्पनीले आयोजना गरेको डिपिआर प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी भएका तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणको मुहार खुशी देखिन्थ्यो । रेल सञ्चालनले नगरको गरिमा बढाउने भन्दै आर्थिक क्रान्तिको पहिलो जग बन्ने अपेक्षा गर्दै, उक्त कम्पनीमा आफुले पनि शेयर हाल्ने प्रतिवद्धता गरे । मेयर खाँणले भने डीपीआरको स्वरुप हेर्दा निकै मन उत्सुक भएको, तत्कालै शुरु गर्न पाए हुन्थ्यो जस्तो भएको र सबै क्षेत्रको विकासका लागि उपयोगी हुने आफूले सोचेको भन्दै नगर र देशको लागि गौरबको आयोजना बन्ने र यसलाई पीपी मोडलमा लग्नुपर्ने सुझाए । 

उपमेयर जागेश्वरी चौधरीले सो आयोजनामा नगरपालिका सहमत भएको बताउँदै सहयोग गर्न तत्पर रहेको र योजनामा समेटिएका केहि स्टेशनहरुका नाम सच्याउन आग्रह गरिन् । उनले  यसमा नागरिकको पनि सहभागिता गराएमा दीर्घकालीन हुने सुझाव दिँदै आयोजनालाई छिटो बनाएर रेल चलाएको हेर्न आफ्नो मन आतुर भएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ