arrow

सुप्रिम सहकारीबाट बचत रकम पाउनै सकस

logo
नारायण वली,
प्रकाशित २०७९ पुष ५ मंगलबार
supreme-bachat.jpg
पुस-४ केैद फोटो फाइल ।

रुपन्देही । सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका शेयर एवं बचतकर्ताहरुले वचत गरेको रकम पाउनै सकस भएको छ । २०५७ सालमा बुटवल उपमहानगरपालिका वडा–९ राजमार्ग चौराह स्थित उदय सिनेमा हलको भवनमा सहकारीको प्रधान कार्यालय छ ।

दशैभन्दा अगाडिबाट सदस्यहरुले सहज रुपमा पैसा पाउन नसकेको र उक्त रहस्य बाहिर आएपछि बदनाम हुने भन्दै थामथुम पार्दै आएको सहकारीमा अन्ततः गत कार्तिक २२ गते सिसा तोडफोड भएको थियो । 

आफुले बचत गरेको रकम पाउन दैनिक धाउँदापनि दशै, तिहार मनाउने रकम निकाल्न आउँदा समेत नपाउँदा चुप लागेर बसेका   शेयर सदस्यहरु आक्रोशित हुँदै गेटको सिसा तोडफोड गरेपछि तनावग्रस्त बन्यो । स्थिती असामान्य बनेपछि प्रहरीलाई खवर गरेर सुरक्षाका लागि अपिल गरेका सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओम प्रकाश गुरुङ र सहकारीका व्यवस्थापक (सीईओ) सागर केसी नजिकै रहेको एक होटलमा बसेका थिए ।

सयौं सदस्यहरुको जमघटले सहकारी खचाखच भरिएका बेला अध्यक्ष गुरुङ र सीईओ केसी होटल भित्रको गार्डेनमा बसेर सेल्टर लिएका थिए । तोडफोडपछि कार्तिक २३ गते सहकारीले एउटा सुचना जारी गर्दै, विभिन्न बारहरु उल्लेख गरि हप्ताको २ दिन भुक्तानी हुनेगरी चेक सटही गर्न सकिने भनिएपनि तर व्यवहारमा भने लागू भएन । थामथुम पार्ने काम बाहेक अरु प्रगति भएन । सोही सुचनालाई आधार मानेर पैसा पाईन्छ कि भनेर सदस्यहरु जान छाडेनन्, । जसको पात्र बनिन धन कुमारी थापा । "उनी भन्छिन्, म एउटा अफिसमा काम गर्ने मान्छे हुँ, अन्य फजुल खर्च कटाएर वचत गरेको आफ्नै रकम पाउन एउटा युद्ध गरेभन्दा पनि मुस्किल परिरहेको छ । मेरो त थोरै रकम छ, यहाँ त बुझ्दा लाखौं रुपैयाँ वचत एंव मुद्दतीमा राखेको पाईयो, कसरी कहिले पाईने हो पैसा डुब्छ कि भन्ने चिन्तामा छु ।"

२ हजार ५ सय शेयर सदस्य रहेको वताईएको सुप्रिम सहकारीको १ अरब ३० करोड निक्षेप रहेको सिईयो सागर केसीको भनाई छ । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु र दाङमा समेत शाखा विस्तार गरेको सहकारीले बैंकको जस्तै प्रक्रिया अवलम्वन गर्दै स्थापनाको छोटो समयदेखि चेक बनाएर जम्मा र निकाल्न मिल्ने, शेयर कर्ताहरुलाई लाभांश, जम्मा गरेको रकमको आधारमा सोही सहकारीमा सदस्य भएका अन्य दुईजनालाई साक्षी राखी बिना धितो कर्जा प्रवाह गरि बजारमा रहेका अरु सहकारीहरु भन्दा अब्बल रफ्तारमा देखाएको क्रेजले दैनिक २०/३० लाख रुपैयाँ सम्म बजारबाट उठ्ने गरेको थियो, सहकारीका सिईयो– केसीले भने  । तर पछिल्लो समय देशको आर्थिक तरलताले गर्दा यस्तो अवस्था आएको उनले भनेको उक्त भनाईको भिडियो क्लिप्स सुरक्षित छ । पछिल्लो समय उनले फोनै उठाउँदैनन् । 

जसले गर्दा पछिल्लो समय सहकारीमा दैनिक करिव एकजना आएर फर्किने गरेकाले नागरिकमा सहकारीप्रति विश्वास गुम्दै गएको छ ।

सहकारीले ग्लोबल आईएमई बैंक, प्राइम बैंक, मेगा बैंक, सिटिज बैंक, गरिमा विकास बैंक र राष्ट्रिय सहाकारी बैंक लगायतमा २ करोड रुपैयाँ रहेको उल्लेख छ । शेयर सदस्य, वचतकर्ताहरुले पैसा पाउन नसकेपछिको विवादमा तानिएसंगै सहकारीले तोडफोडपछि बजारबाट दैनिक वचत रकम उठाउन छोडेको वताईएको छ । “पुस ४ गते सहकारीमा पुग्दापनि पैसा निकाल्न आएकाहरु कराउँदै गरेको भेटियो । उनीहरु भन्दै थिए, आफ्नो पैसा पाउन पनि संर्घष गर्नुपर्ने, कि दिनुपर्यो, होईन भने दिन्छौं भन्ने, दैनिक ५० जनालाई ५ हजारका दरले बाँड्छौ भनेपछि विहान आउँदा कर्मचारीहरुले टोकन प्याक भइसक्यो दुई हप्ताको लागि भनेर जवाफ दिने भन्दै जनताको पैसा खान खोजेको हो भनी आक्रोश पोख्दै थिए, ।“

यसो भन्छन्, अध्यक्ष गुरुङ !
सहकारीमा तोडफोडपछि र हालसम्म सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओम प्रकाश गरुङ खासै चिन्तित देखिदैनन् । उनले सहजै एउटा मात्रै जवाफ दिन्छन्, त्यो हो “हामी सहज बनाउन निरन्तर लागेका छौं हजुर“ । ३ महिनाभित्र यो समस्या हल गर्छौ भनेर केही हप्ता अगाडिको साधारणसभामा उपस्थित १ हजार ५ जनालाई भनेर निर्णय पास गरेएका छौं । 

अध्यक्ष गुरुङले भने, पुस ३ गते आइतबारदेखि साधारणसभाले दैनिक ५० जनालाई प्रतिव्यक्ति ५ हजारका दरले बाँड्ने गरि निर्णय पारित भएको छ । बाहिर हल्ला गरिएको छ । हामीले दिईरहेका छौं   भनी दाबी गर्छन् । 
 
“सरल र सहज रुपमा जवाफ दिने गरेका अध्यक्षले ३ महिना भित्र मिलाएरै छोड्छौं भनेर बोलेको भिडियो कार्तिक २२ गते कैद गर्दा उनले भनेका थिए । त्यो हिसाब गर्ने हो भने, झण्डै २ महिना पुग्न थालिसक्यो । उनको बोली आजसम्म उहीँ नै छ ।“ तर पछिल्लो समय उनले साधारणसभा भएको मितिले ३ महिनाभित्र दिने बताउँछन् ।

अर्थ तथा सहकारी मन्त्रालय, सहरकारी प्रर्वद्धन शाखा यसो भन्छ !
अर्थ तथा सहकारी मन्त्रालय लुम्विनी प्रदेश अस्थायी मुकाम बुटवलको सहकारी प्रवद्र्धन शाखाका प्रमुख सुमन पौडेलले सुप्रिमको कुरा बजारमा पनि छ्यापछ्याप्ती आएको हो । तर मन्त्रालयको काम निति नियम वनाउने र नियमन रजिष्टार कार्यालयले गर्ने हो । 

रजिष्टारमा उजुरी परेमा हामीले उसलाई अनुसन्धानमा सहयोग गर्छाै, हालसम्म उजुरी परेको छैन् । पौडेलले भने, यहि विचमा केहि समय अगाडि हामी कहाँ सुप्रिम सहकारीको व्यवस्थापक ज्यु आउनु भएको थियो, हामी सोध्दा उहाँले भन्नुभयो–पहिले हामीले बजारमा धेरै लगानी गर्यौं, अहिले उक्त लगानी झरेन, त्यसैले यस्तो समस्या आएको हो । त्यही पनि हामी सहकारीमा आउनेहरुलाई व्यवस्थापन गरिरहेको मन्त्रालयमा वताएको वताए । 

के भन्छ सहकारी नियमन निकाय ?
सहकारी दर्ता अधिकारीको कार्यालय लुम्विनी प्रदेश राप्ती उपत्यका देउखुरी दाङका कार्यालय प्रमुख भिम प्रसाद तिवारीले अनुगमन र अनुसन्धान गर्ने विषय फरक विषय भएकाले हामीले अनुगमन गर्न सक्छौं, तर अनुसन्धान गर्नका लागि पिडितले उजुरी दिनुपर्ने वताए । उनले भने, पीडितले उजुरी  दिएमा हामीले गम्भिर रुपमा इन्भेष्टीकेशन गर्छाैं । 

उनले थपे, यसअघि यस्तै विषय बर्दिया स्थित नमस्ते सहकारीको पनि आएको भन्दै, बाहिर बाट अनुगमन गर्दा हिसाव ठिक थियो, पछि उजुरी परेपछि सिईयोलाई झिकाएर अनुसन्धान गर्दा विग्रिएको भेटिएपछि अहिले कारबाही प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

प्रमुख तिवारीले उजुरी परेमा छानविन गर्न सहज हुने भएकाले कुनैपनि पिडितले उजुरी गरेमा तत्काल छानविन प्रक्रियालाई अगाडि बढाउने वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ