arrow

तिलोत्तमाका मेयर रामकृष्ण खाँणद्वारा इलेक्ट्रिक ट्राम रेल्वेको शिलान्यास

logo
नारायण वली,
प्रकाशित २०७९ पुष ८ शुक्रबार
Tilottama-rail- tillottama-4.jpg

रुपन्देही । नेपालको पहिलो एवं नयाँ योजना रहेको इलेक्ट्रिक ट्राम रेल सञ्चालन प्रक्रिया अघि बढेको छ । ०७६ साल देखि शुरु गरिएको रेल सञ्चालन योजनाको शुक्रवार रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले एक कार्यक्रमकाबीच वडा–१ योगिकुटी स्थित तिलोत्तमा क्याम्पस नजिक शिलान्यास गरेका छन् । 

५ सय ३४ जना शेयर सदस्यहरू रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीमा तिलोत्तमा नगरपालिका प्रमुख खाँणले पनि रेल्वे कम्पनी आगामी दिनमा अत्यन्तै लाभदायक योजना भएकाले आफ्नो अपनत्व समेत हुने गरी १ लाख १० हजार रुपैयाँ लगाएर शेयर सदस्य बनेका छन् । नगरप्रमुख सहित ५ सय ३५ जना पुगेको र शेयर कर्ता बन्न धेरैले आकाङ्क्षा देखाएको पाइएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै, मेयर खाँणले तिलोत्तमावासीको गौरवपूर्ण योजना भएकाले नेपालकै पहिलो ट्राम रेल सञ्चालन गरेर आर्थिक उन्नति एवं अन्य क्षेत्रहरूको विकास हुने कार्यमा नगरवासीको दायित्व अत्यावश्यक रहेको जनाएका थिए ।  

तिलोत्तमा चक्रपथ निर्माण गरी इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्ने प्रक्रियाको डीपीआरलाई करिब एक हप्ता अगाडि जनप्रतिनिधि, तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य लगायत शेयरकर्ताहरूबीच प्रस्तुत गरिए सँगै भौतिक निर्माणलाई अघि बढाइएको छ । ट्राम रेल सञ्चालन गर्नका लागि तिलोत्तमा नगरपालिका वडा–१ बनवाटिकामा ०७६ सालमा तिलोत्तमा पब्लिक रेल्वे कम्पनीको कार्यालय स्थापना गरेर औपचारिक रूपमा कामलाई थालनी गरिएको थियो ।

नागरिक, स्थानीय तह र दातृ निकायको संयुक्त लगानीबाट इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्ने भनिए पनि यद्यपि दातृ निकायले चासो नदिएमा पब्लिक–नगरपालिकाबीच ५१÷४९ को लगानी मिलाएर सञ्चालन गर्न सकिने बताइएको छ । रेल सञ्चालनले नगरपालिका सहित नागरिक तथा देशैकै आर्थिक विकास, कृषि उत्पादनको बजारीकरण, ऐतिहासिक धार्मिक स्थल लगायत क्षेत्रहरूमा पर्यटकहरूको आगमन ह्वात्तै बढ्ने तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका प्रबन्धक भोलानाथ शर्माले बताए । 

शिलान्यास कार्यक्रममा बोल्दै प्रबन्धक शर्माले वार्षिक १ अरब २ करोड रुपैयाँ आम्दानी हुने जनाए । ट्राम रेलले वातावरण प्रदूषण, धुलो धुवाँ उडाउने र सार्वजनिक सवारी जस्तै चर्को भाडा दर नहुने र रोजगारी लगायत स्थानीयहरूले प्रत्यक्ष फाइदा लिन पाउने दावी गरे । जसले गर्दा स्थानीय स्तरमा आगामी दिनमा यात्रुहरु सवार गर्दा गाडीमा नभई रेलमा नै चढ्ने खालको वातावरण आउने उल्लेख गरे ।   

चक्रपथमा जम्मा १२ वटा ट्राम रेल सञ्चालन हुने, दैनिक २५ हजार यात्रुहरूले सवार गर्ने र रेलमा आधुनिक एसी सहितको व्यवस्था तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले जनाएको छ । कुल पुँजी साढे ८ अरब लाग्ने भए पनि भ्याट सहित १० अर्ब लाग्ने डीपीआर प्रतिवेदनले देखाएको छ । ट्राम रेलले स्थानीय कृषिजन्य पदार्थको उत्पादन तथा बजारीकरण सहुलियतसँगै सहजता हुने भएकाले खेतीयोग्य जमिनहरू बाँझो हुने समस्या अन्त्य हुने समेत विश्वास लिइएको छ ।

तिलोत्तमा नगरपालिका वडा न–२ योगिकुटीमा पहिलो स्टेशन राखिने भएको छ । योगिकुटीदेखि रोहिणी खोलाको ड्यामसम्म पहिलो चरणमा १५ किलोमिटर दूरीमा इलेक्ट्रिक ट्राम रेल सञ्चालन गर्ने गरी अघि बढेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले ४ किलोमिटर दूरीको निर्माण कार्यलाई शिलान्यास गरेको छ । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ