arrow

दलको नेता बनेसँगै भट्टलाई खुल्यो सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने बाटो 

logo
सुनील आउजी, 
प्रकाशित २०७९ पुष १७ आइतबार
khagaraj-bhatta-sudurpachhim.jpg

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बिहान प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो ।

पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गरेका केन्द्रीय सदस्यसमेत रहेका ओमबिक्रम भाटले अन्तिम समयमा भने भट्टलाई समर्थन गरेका हुन् ।

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले भट्ट सर्वसम्मत रुपमा दलको नेतामा चयन भएको जानकारी दिए ।

‘आज बिहान बसेको संसदीय दलको बैठकले दलको नेतामा कमरेड खगराज भट्टलाई सर्वसम्मत रुपले चयन गरेको छ । अर्का दाबेदार कमरेड ओमबिक्रम भाटले पनि समर्थन गर्नुभएको छ,’ धामीले भने ।


माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले पनि दलको नेतामा भट्टलाई नै सर्वसम्मत चयन गर्न उपयुक्त हुने सुझाव दिएको थियो ।

शनिबार बसेको दलको बैठक बसे पनि दुवै नेताले दाबी नछाड्दा सहमति हुन सकेको थिएन ।

दलको नेतामा चयन भएका भट्ट डेडेल्धुराको प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।

मुख्यमन्त्री बनाउने समझदारीअनुसार नै आफू प्रदेश सभाको चुनाव लडेको बताउने गरेका भट्ट दलको नेता चयन भएसँगै उक्त बाटो पनि खुलेको छ ।

एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनमा पनि सुदूरपश्चिम माओवादीको भागमा पर्ने सम्भावना छ । माओवादीको भागमा परेको अवस्थामा भट्ट नै मुख्यमन्त्री बन्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ