arrow

बहस भागबण्डाको

एमालेको भागमा परेको सभामुखमा को को दावेदार ?

एमाले–माओवादीबीच आधा–आधा कार्यकाल दुई पार्टीबाट सभामुख बन्ने सहमति भएको भनिए पनि एमालेको पूरै कार्यकाल दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
sabhamukh-dabedar-uml.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने समय लिएपछि एमालेभित्र सभामुख कसले पाउने भन्ने बारेमा अनौपचारिक छलफल शुरु भएको छ । एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ । जसले गर्दा राष्ट्रपतिमा अलि सिनियर नेता जानुपर्ने भएपछि सभामुखमा भने संसदमा रहेका नेताहरुले आफ्नो भूमिका खोज्न थालेका छन् । 

एमालेका सिनियर नेताहरुमध्ये सभामुखमा चार जना आकांक्षी देखिएका छन् । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य रघुजी पन्त र विद्या भट्टराई आकांक्षी रहेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कोही कसैलाई ग्रीन सिग्नल दिएका छैनन् । 

मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने संकेत गरेका ओलीले सभामुख र राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा कुनै पनि नेतासँग केही पनि छलफल गरेका छैनन् । तर सचिवालयमा रहेका नेताहरुले भने सभामुखको विषयमा चर्चा परिचर्चा गरेका छन् । अहिले सभामुख दाबी गर्ने तीन जना नेताहरु प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् भने एक जना पन्त चाहिँ समानुपातिक तर्फबाट निर्वाचित हुन् । 

चारैजनाले सभामुख दाबी गरे पनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने टुंगो नलागेको एमालेका एक सचिवालय सदस्यले बताए । राष्ट्रपतिको टुंगो लगाएपछि मात्र सभामुखको टुंगो लगाउने गरी काम भइरहेको एक नेताले बताए । 

एमाले–माओवादीको सहमति बमोजिम आधाआधा कार्यकाल अर्थात् साढे दुई वर्षका दरले पाँच वर्षमा दुई पार्टीबाट सभामुख बन्ने सहमति भएको भनिए पनि एमालेले सभामुखमा पूरै कार्यकाल दाबी गरिरहेको छ । 

सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने व्यवस्था छ भने सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा उल्लेख छ । सबै पक्षलाई हेरेर सभामुखको निर्वाचन हुनेछ । 

संसद्को अधिवेशन पुस २५ गते आह्वान भइसकेको छ । पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा हुनेछ । उनले सभामुखको निर्वाचन भएपछि मात्र आफ्नो पद छाड्ने छन् । उपसभामुखको निर्वाचन नयाँ सभामुखले गर्नेछन् । 

संसद् अधिवेशनमा सबैभन्दा पहिला सरकारले विश्वासको मत लिनेछ । सरकारले विश्वासको मत लिइसकेपछि सभामुखको निर्वाचन हुनेछ । तत्काल कायम भएका प्रतिनिधि सभा सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुनेछन् । 

पहिलो प्रस्तावमा बहुमत प्राप्त भएपछि बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन । सभामुखमा निर्वाचित भएको व्यक्ति पार्टीको क्रियाकलापमा लाग्न नपाउने हुँदा केही नेताहरू सभामुखमा जान मान्दैनन् । 

एमालेका उपमहासचिव गुरुङ भने मन्त्रीकै दावेदार थिए । तर उनीभन्दा माथिको वरीयतामा हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने परेपछि भने सभामुखमा जोड गरेका हुन् । 

सभामुख स्पष्ट वक्ता हुनुपर्दछ र कानूनको विषयमा जानकारी राख्नैपर्ने हुन्छ भने न्याय दिने विषयमा सकेसम्म विवेक पुर्याउनुपर्दछ भन्ने सामान्य नियम भएकाले पनि गुरुङ सो पदका लागी स्वीकार्य हुने बताइएको छ । 

यद्यपि एमालेले अहिलेसम्म कसलाई सभामुख बनाउँदा हुन्छ भनेर केही पनि सूचना चुहाएको छैन । सभामुखका लागि प्रतिनिधि सभाकै सदस्य हुनुपर्ने अनिवार्य नियम भएकाले पनि एमालेको तर्फबाट सभामुख हुँदा एक सिट घाटा लाग्ने अवस्था छ ।

 ‘अहिलेको अवस्थामा एमालेले सभामुख पाउँदा गुरुङ र विश्वकर्मामध्ये एक जना हुनेछन्’, एमाले निकट स्रोतले भन्यो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ