arrow

रेशम चौधरी रिहा नभए गठबन्धन अल्पमतमा पर्ने सम्भावना

logo
सुनिल आउजी,
प्रकाशित २०७९ पुष २१ बिहिबार
resham-chaudari.JPG

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ बन्ने सरकारलाई नागरिक उन्मुक्तिले समर्थन नगरे गठबन्धन अल्पमतमा पर्ने सम्भावना बढेको छ। नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले रेशम चौधरीलगायत बन्दी नछुटेसम्म नयाँ गठबन्धन सरकारलाई समर्थन गर्न नसकिने बताएका छन् ।

केन्द्र सरकारमा एमालेको सहयोगमा माओवादीको नेतृत्वमा बनेको सरकारलाई उन्मुक्तिले समर्थन गरे पनि सरकारमा सहभागी भने भएको छैन। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको हो । तर सुदूरपश्चिम प्रदेशमा रेशम चौधरीलगायत बन्दी नछुटेसम्म नयाँ गठबन्धनलाई समर्थनै नगर्ने भएको हो। प्रदेश सभाको बैठकमा नै रेशम लगायत बन्दी नछुटेसम्म वा माग सम्बोधन नभएसम्म माघपछि संसद चल्न नदिने र अवरुद्ध गर्ने चेतावनी दिएको छ।

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूका माग पूरा नभई सरकारमा नजाने र प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन पनि नगर्ने अडान राखे। यस्तो अवस्थामा ७ प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरे सुदूरपश्चिममा नयाँ गठबन्धन अल्पमतमा पर्ने देखिएको छ। 

सुदूरपश्चिममा ५३ प्रदेश सभा सदस्य रहँदा सरकार बनाउन २७ प्रदेशसभा सदस्य आवश्यक पर्ने गर्दछ । प्रदेश सभामा नयाँ गठबन्धन अनुसार नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन्। यो गठबन्धनका कुल २२ प्रदेशसभा सदस्य छन् । एक स्वतन्त्र सांसदको समर्थन लिए पनि बहुमतको सरकार बनाउन आवश्यक सङ्ख्या नपुग्ने देखिएको छ। 

यस्तै अहिलेको अवस्थामा नेकपा एकीकृत समाजवादीले पनि सरकारलाई समर्थन गरिसकेको छैन। यदि चार जना प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी सँगै एक स्वतन्त्रको समर्थन पाए एमाले, माओवादी र राप्रपाले सरकार बनाउन सक्ने अर्को अवस्था पनि बन्ने छ। नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिएर १९ प्रदेशसभा सदस्य रहेको कांग्रेस सरकारमा जाने चर्चा समेत सुदूरपश्चिममा छ। नागरिक उन्मुक्ति र कांग्रेस मिल्दा एक स्वतन्त्रको समर्थन पाए मात्र पनि सरकार बनाउन सक्ने अङ्कगणित पुग्नेछ ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले सरकार बनाउनेबारे नागरिक उन्मुक्तिका नेतासँग सामान्य छलफल भएको बताएका छन्। केन्द्रमा नागरिक उन्मुक्ति सरकारमा नगए पनि समर्थन गरेको बताउँदै यदि प्रदेशमा काँग्रेस सँग मिलेर जान खोजेमा तयार रहेको उनले बताए। 

 तर नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले सुरुवातदेखि राख्दै आएका माग र मुद्दा अगाडि सारेको बताउँदै टीकापुर घटनाका बन्दी नछुटेसम्म सरकारलाई समर्थन र सहभागी नहुने बताए। उनले अदालतले दोषी ठहर गरे पनि जनताले रेसमसहितका बन्दीको पक्षमा ‘म्यान्डेट’ दिइसकेको र उनीहरूको बिना सर्त रिहाइ हुनुपर्ने बताए । त्यसपछि मात्रै प्रदेश सरकार गठन र भागबन्डाका विषयमा छलफल हुने उनले बताएका छन्। 

उन्मुक्ति पार्टीका नेताले मुख्यमन्त्रीमा दाबी गरेको छ भन्ने प्रश्नमा उनले त्यो त तपसिलको कुरा भएको बताए। रेशम चौधरी रिहाइको हाम्रो माग जसले पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जाने योजना रहेको बताए। उनले प्रदेश सरकार निर्माणका विषयमा अहिले कुनै पनि दलसँग छलफल नभएको बताएका छन्। यस्तो अवस्थामा सुदूरपश्चिम सरकारलाई उन्मुक्तिले समर्थन नगरे गठबन्धन अल्पमतमा पर्ने सम्भावना देखिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ