arrow

नगरकोटीको खोजी

logo
विविध सुवेदी
प्रकाशित २०७३ असोज ४ मंगलबार
nagarkoti.jpeg
काठमाडौँ । कान्तिपुरी नगरीबाट एउटा लेखक गायब भएछन् रे । उनको मिस्टिक नाम : कुमार नगरकोटी । द सो कल्ड नगरकोटी वज मिसिङ । मान्छेहरुले उनलाई केहि हप्ताअघि 'पाटनका चिया अड्डाहरु'मा देखेका हुन् रे , त्योभन्दा अघि 'घाटमाण्डु'मा । मिस्टिकापछि उनले कतै आत्महत्या त गरेनन् ? मान्छेहरु खासखुस गर्थे । त्यो खासखुस एता-उता लखर-लखर गर्दै मेरा कानसम्म आइपुग्यो । नगरकोटी यसरी मिसिङ हुनु बिल्कुल जायज थिएन । केहि महिना भयो मैले अक्षरगन्जमा आवतजावत गर्न थालेको , फोसिलहरुको गहिरो अध्ययन गरिरहेछु र मोक्षान्तले त १ सय २ को फिवर नै दिएको छ । मलाई यस्तो तनाव दिएर आफुचैं मिसिङ हुने? नट फेर् !
 
आफ्नो कोठामा बुढो ताल्चा लगाएँ । नगरकोटीलाई खोज्नु थियो । केहि दिन लाग्ला,महिना, वर्ष जति लागे पनि म तयार थिएँ  । आफ्नो कोठाको काठको ढोकालाई सायोनारा गरेँ र चल् बसेँ ।
 
नगरकोटीलाई भेट्न सकिने ठाउँ शंखमुल थियो । बिहान चार-पाँच बजे शंखमुलको घाटमा बसी गितार बजाउँथे रे । तर दिउँसोको दुई बजिरहेको थियो । लग्भग चौध घन्टा कुर्न पर्ने । फोर्टीन आवर ट्रान्जिट ! कुरेँ ।
 
बिहान ४:०० , शंखमुलको घाट :
माहोल वज सुनसान । कुकुरहरु भुकेको त सुनिरहनु भएको छ नि ? ए डराउनु पर्दैन । भुक्ने कुकुरले टोक्दैन भन्ने सुन्नु भएको छैन ? तर, झम्टिनै आए भाग्नोस् है । आफ्नो ज्यानको सुरक्षा आफैँ गरौँ । नगरकोटी गितार लिएर आइ पो हाल्छन् कि भनेर प्रतिक्षा गरिरहेको थिएँ । एउटा जडिंया हल्लिँदै आवारा पारामा मतिर आइरहेको थियो । लड्बडाउँदै सोध्यो, 'को होस्?'
'मान्छे हुँ' भनेँ ।
'के खान बसिराख्या यता?'
'नगरकोटिलाई पर्खिराख्या ।'
'हा हा हा, नगरकोटी त चिलिम भयो भन्ने सुनेको ।'
'कसरी ?'
'खै,कसरी । तर हल्लाचैँ त्यहि छ- नगरकोटी ह्याज गन् चिलिम ।'
'चिन्छस् नगरकोटीलाई ?' मैले सोधेँ ।
'अरे के बात गर्छस्? नगरकोटि इज माई जिग्री ! बिहान-बिहान यहिं आएर गितार बजाउँथ्यो, १-२ खुक्स सल्काउँथ्यो अनि जान्थ्यो आफ्नो बाटो ।'
 
'लास्ट ट्याम् नगरकोटी कहिले देखा परेका थिए?'
'जुन दिन नगरकोटी हरायो भन्ने खबर पत्रिकामा छपिएको थियो, अघिल्लो दिन भेटेको थिएँ । जाने बेला 'टाढा-टाढा जानु छ साथी' भन्दै हिंड्यो ।'
 
'अघि टाढाबाट नगरकोटी वा उसको आत्मा बसिराख्या होला भन्दै आएको त हैन रैछ ।'
'तर नगरकोटी त चिन्डे छन् ।'
'हु क्येर्स!'
'तँचैँ को?' सोधेँ ।
'श्लोकजङ्ग राणा' भन्दै आफ्नो बाटो लाग्यो, मलाई पनि आफ्नो बाटो लाग्नु थियो ।
 
चीजबीजको उनको आफ्नै शैली छ । भाषाको त आफ्नै डिक्सनरी । त्यो डिक्सनरीको एक-एक शब्द केलाउन थियो उनलाई खोज्न । खप्पर -उनको फेव्रेट वर्ड अरे । यस्तै शब्दहरु अँगाल्न थियो मैले पनि आफ्नो मिसनमा ।
सुर्य सोल्टिले गुड मर्निङ मिस्टर सुवेदी भने, गुड मर्निङ फर्काएँ । नगरकोटीका बारेमा सोध्नै लाग्दा सोल्टि त उदाउन व्यस्त भैसकेका रहेछन्। कोइ बात नहिं, म आफैँ खोज्छु !
 
लास्ट टाइम पृथ्वी न्वारन सा काठ्मान्डु आउँदा नगरकोटीले नै उनलाई घुमाएका थिए भन्ने हल्ला साँचो रहेछ । सिंहदरबार पुगेँ ; पृथ्वी न्वारन सा त्यहि आफ्नै भिन्टेज अन्दाजमा उभिएका थिए । सोधेँ, 'नगरकोटी कहाँ गएछन् वडामहाराज?' उनी चल्मलाएनन् ।
'मसँग चैँ बोल्नै नहुने हो र? ल ठिकै छ! कट्टि ।'
 
अक्षरगन्जबमोजिम पेज नं ७५५ले नगरकोटीको आत्माको अपहरण गरेको व्योहरा उल्लेख गरेको छ । रत्न पुस्तक भण्डार हानिएँ । 'साहुजी, पेज नं ७५५ चाहियो !'
'किताब नै किन्न पर्छ, कुन दिऊँ?'
'जुनमा नगरकोटीको आत्माको अपहरण भएको छ ।'
 
उनी अतालिए, एता-उता चाहारे र मेरो कान थाप्न मलाई आदेश दिए । स्वीकारेँ |
'नगरकोटी अपहरण परेको होइन, जिउँदै र सकुशल छ भन्ने हल्ला सुन्या छु ।  रोबर्ट फ्रस्टको जङ्गल गएको छ रे फोटोहरु खिच्न ।' कानेखुसी गरियो ।
म अन्योलित मुद्रामा थिएँ ।
'ए, होइन साँच्ची, जङ्गलबाट फर्किसक्यो ! अहिले कहाँ छ...खै कुन्नि !'
'तपाईं को हो ?' मैले सोध्नै पर्ने थियो, सोधेँ ।
'दिवङ्गत बुढाथोकी, मिस्टिकाको प्रुफरिडर ।'
 
कफी खल्लो थियो या स्वाद खल्लो थियो? - कुमार नगरकोटी
पाटन दरबार स्क्वाएर वरपरका चियापसल उनको अर्को अड्डा थियो । पुगेँ । त्यो खल्लो कफीवाला पसल खोज्नुथ्यो ।
 
मिस्टर सुवेदी : दाइ, यहाँ खल्लो कफी पाईन्छ ?
पसले : हैन भाइ, गज्जबको कफी पाईन्छ; पाटनकै नम्बर एक !
मिस्टर सुवेदी : हस्, थ्यांक यु !
 
मिस्टर सुवेदी : यहाँ कफी कस्तो पाईन्छ साहुजी ?
पसले : खाएर त हेर, पल्किन्छौ !
मिस्टर सुवेदी : खल्लो चाहिएको ।
 
अँह, पाटन छेऊछाऊ सबै साहुजीहरुले आफ्नो कफी उत्कृष्ट, स्वादिलो र गुलियो रहेको दाबी गरे ।
मलाई चाहिएको खल्लो वाला । पाइएन !
 
अब म गरुँचैँ के ? काठमाडौँभरि रुद्राक्षको माला लगाएको मान्छे खोज्दै हिँडौँ कि ग्रे ओभरकोटधारीहरुको पिच्छा गर्दै बसौँ ? मिस्टिकामा लागेको कुण्डलिनी कुहिरो कहिले चाङ आफ्टर चाङ फेरी लाग्ने हो भनेर कुरौँ कि ? पाटनको नन-फिक्सनल एवम् तान्त्रिक गल्लीहरुमा अफन् फिक्सनल माइन्ड लिएर हिंड्ने नगरकोटीलाई खोज्दा खोज्दै आफ्नै माइन्ड डेड भैसक्यो | आखिर सो-कल्ड नगरकोटीचैँ गए कहाँ ?
 
'बाऽऽनेश्वर, कोटेश्वोर, एरपोर्ट, गौशाला, चाबेल, चाबेल ! जाने हो, जाने हो दाइ ?'
'स्वप्निल भ्याली! जान्छ ?'
'कुन ठाउँ रे फेरि ?'
'हैन केहि हैन, कतै हैन।'
नगरकोटीको स्वप्निल भ्याली जानु थियो । तर त्यहाँ न कुनै माइक्रो जान्थ्यो, न टेम्पो, न बस ! नगरकोटीलाई कसैले 'स्वप्निल भ्याली कसरी जाने?' सोध्दो हो त, नगरकोटी भन्थे सायद 'हु क्येर्स!'
 
'म्याऊँ,,,,म्याऊँ !' कालो बिरालो मेरो छेऊ आई भुक्न थाल्यो । आइ एम एक्स्ट्रिम्ली सरी ! बिरालो नि कतै भुक्छ र ? म्याऊँ, म्याऊँ गर्न थाल्यो अफ्कोर्स ! धपाउन खोजेँ । मानेन । आफुलाई यहाँ आफ्नै टेन्सन् , यो बिरालोलाई मेरै छेऊ आएर कराउन पर्ने?
'म गुभाजु हो!'
म झस्किएँ।  गुभाजु भन्या मिस्टिकाको कालो बिरालो के । चिन्नु भो ?
'ओहो गुभाजु, सरी है, चिन्दै नचिनेको !'
'म्याऊँ !'
'म नगरकोटीलाई खोजिरहेको, तिमीलाई त पक्कै थाहा छ नगरकोटी कहाँ छन् भनेर'
'म्याऊँ!'
 
गुभाजु बुर्लुक्क उफ्र्यो र एउटा गल्लीमा फुत्त छिर्यो ।  कतै त्यो मेरो भ्रम त थिएन ? मेरा कान पो बजेका हुन् कि ? चान्सेस लिइनँ । पछि पछि लागेँ 'गुभाजु - द ब्ल्याक क्याट'को । साँच्चै भन्नु पर्दा त्यो चौपाया मित्र नै मेरो अन्तिम आशा थियो । गुभाजुले मलाई अँध्यारो गल्लीमा पुर्यायो । आफुचैँ गायब भएछ । यता जाऊँ कि उता जाऊँ ? एउटा गल्ली समातेँ, हिँड्दा हिँड्दै थकाई लाग्यो तर त्यो फटाहा गुभाजु भेटिएन । थकाई मार्नका लागि चिया पिउन अत्यन्त आवश्यक पर्दै थियो । छिरेँ एउटा चिया पसल जुन मलाई कता कता परिचित लाग्यो ।
 
'ब्ल्याक टी, मिल्क टी, लेमन टी- के लिनुहुन्छ ?' त्यो प्रश्न पनि परिचित लाग्यो । कतै त्यो 'पाटनको चियाअड्डाहरूमा' वाला अकबरको पसल त थिएन ?
'मिल्क टी प्लीज विथ एक्स्ट्रा सुगर !' भनेँ ।
'ओके !'
'सुन्नोस त !' उनलाई बोलाएँ ।
'हजुर, भन्नोस् न ? चिया ओसार्दै उत्तर फर्काए ।
'तपाईंको नाम अकबर हुने सम्भावना कति छ ?'
उनी मुसुक्क हाँसे,
'जति यो चिया मीठो हुने सम्भावना छ ।'
सुरुप्प पारेँ । चिया भनेजस्तै मीठो रहेछ ।
'कुमार नगरकोटी कहाँ छन् केहि थाहा छ?'
'माफ गर्नुहोला ! थाहा भएन ।'
'होइन, माफी मागिहाल्नु त पर्दैन !'
'पर्दैन ? ए, ल ठीकै छ ।
'बिहानदेखि दुईजना आइसके कुमार नगरकोटीका बारे सोध्न । कता गए कुन्नि, बिचरा !!'
 
'नगरकोटीका बारे सोध्ने मबाहेक ती दुईजनाचैँ को नि?'
'ऊ ती के, कुनामा बसेर चिया खाइरहेका छन् नि ।'
 
आफ्नो टाउको १ सय ८० डिग्री बटारेँ । दुई थान भलाद्मिहरु दुई थान किताब लिई दुई थान गफ गरिरहेका रहेछन् ।
ती थिए साक्षात खलिल जिब्रान र शंकर  लामिछाने 'द प्रोफेट' र 'एब्स्ट्राक्ट चिन्तन : प्याज' क्रमश: लिएर बसिरहेका थिए - बिलिव् इट् अर नट!
ब्ल्याक सुट र बो-टाई लगाएका खलिल जिब्रान आफ्नो सृजनाको हरेक पानाहरुबाट २-४ शब्दहरु झिक्दै चियामा मिसाउँदै थिए ।
 
कालो टाई, सेतो सर्ट र ग्रे सुटमा सजिएका शंकरले सोधे,
'यार खलिल, अक्षरगन्जमा, घाटमान्डुमा, स्वप्निल भ्यालीमा - जताततै खोजियो । अब के गर्ने । '
त्यो साहित्य मिश्रित चियाको सुरुप लिँदै जिब्रान भन्न थाले :
एउटा लेख लेखे ठिक होला । त्यो पढेपछि नगरकोटी पक्कै हामीलाई भेट्न् आउने छ ।
यसो गरौँ, तिमी र म मिलेर 'नगरकोटीको खोजी' लेखौँ, कसो ?
 
त्यो सुन्नासाथ म ब्ल्याक आउट भएँ ।
 
क्लोज अप : यो कुन युग हो रे ?
 



नयाँ