arrow

लुम्बिनी सभामुख उपसभामुखको शपथ अस्थायी मुकामै, स्थायी राजधानीको उपेक्षा भएको गुनासो

logo
नारायण वली,
प्रकाशित २०७९ माघ ४ बुधबार
sapatha-lumbini-sabhamukh-2.jpg

रुपन्देही । लुम्विनी प्रदेशको राजधानी न यता, न उता जस्तै भएको अवस्था छ । ठ्याक्कै भन्नुपर्दा एउटा खोली, दुईवटा डुंगाको यात्रा भने झैं भएको छ ।  लुम्विनीको स्थायी राजधानी तोकिएको २ बर्षपछि राप्ती उपत्यका देउखुरी दाङमा राजधानी कार्यान्वयनमा आएको करिव १ महिना पुग्न थालेको छ । यो क्रममा मंसिर ४ मा सम्पन्न निर्वाचित सांसद तथा नयाँ मुख्यमन्त्रीसहित केहि मन्त्रीहरुले स्थायी राजधानी दाङमा सपथ लिए । तर लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले भने मुकाम बुटवलमा बुधवार शपथ लिएका छन् । 

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराए । यसअघि प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री र दुईजना मन्त्रीको शपथ भने स्थायी राजधानी दाङमा गराएका थिए । सत्तागठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएका थिए । सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुले उम्मेदवारी दर्ता गरेका थिए । तर उनीहरुले प्रदेशसभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खांण मतदान प्रक्रियामा नगई निर्वाचित भएकी थिइन् ।

शपथ ग्रहणमा लुम्बिनीका मुख्यमन्त्री लिला गिरी, मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसी लगायत सत्तारुढ दलका नेताहरुको सहभागिता रहेको थियो । यसअघि माओवादी केन्द्रका प्रमुख सचेतक रहेका घर्ती पाल्पा २ ९२० बाट दोस्रोपटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । गुल्मीकी खांण भने समानुपातिकबाट निर्वाचित भएकी हुन् ।

राजधानी कार्यान्वयनमा आएपनि मुकाम बुटवलमा रहेका अधिकांश मन्त्रालयहरुदेखि प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण हुन् सकेको छैन । जसले गर्दा राजीनितिक दलका नेताहरुले प्रदेशलाई कठपुतली बनाएको चर्चा बाहिर चल्ने गर्दछ । संघियता लागू भएपछि तोकिएको प्रादेशिक कामकाज अस्थायी राजधानी बुटवल बाट नै चल्यो । १ बर्ष ६ महिना लुम्बिनीको मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले आफ्नो कार्यकाल सकिन लाग्दा दुई तिहाई बहुमतले तोकेको स्थायी राजधानी दाङमा मुख्यमन्त्री कार्यालय सहित केहि मन्त्रालय सारेपनि अन्य मन्त्रालयहरु बुटवलमै छन् ।  

प्रदेश संरचना ल्याउनका लागि विकासका किरणहरु आउने भाषण गरेका दलका नेताहरुले प्रदेश कार्यान्वयनमा नेता कार्यकर्ता व्यवस्थापन गरेको भन्दा अरु नौलो प्रगति कुनै नदेखिएको विशाल श्रेष्ठले वताए । उता स्थायी राजधानी कार्यान्वयनमा आएपनि मुकाम बुटवलमा सभामुख र उपसभामुख जस्तो पदको सपथग्रहण गराउनुले स्थायी राजधानीको उपेक्षा भएको राप्ती गाउँपालिका मसुरियाका चिरन्जीवी शर्माले वताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ