- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । बुटवलमा रहेका अधिकांश सहकारीहरुमध्ये केही सहकारीहरुको बेथिति पछिल्लो समय एकपछि अर्को संकटमा फस्दै गएको तथ्य बाहिरिएसँगै बचतकर्ताहरु विचलित भएका छन् ।
रुपन्देहीको योगिकुटीमा रहेको शिव शिखर, राजमार्ग चौराहमा रहेको सुप्रिम र नेपालगञ्ज रोडमा रहेको आगन्तुक सहकारी लगायतमा पैसा बचत गरेका कर्ताहरुले रकम निकाल्न नपाएको समस्याले सीमा पार गर्दासमेत सम्बन्धित निकाय मौन बसेको जनगुनासो बढ्दै गएको छ । नागरिकहरु दैनिकजसो सहकारीमा धाए पनि बचत रकम पाउन कठिन हुँदै गएका बेला रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलले शुक्रबार “सहकारीमा देखिएका समस्या समाधान” विषयक साक्षात्कार कार्यक्रममा पीडित र सम्बन्धित निकायका प्रतिनिधिहरुबीच साक्षातकार गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्याक्ष टिकाराम पोख्रेलले प्रदेशमा सञ्चालनमा आएका केही सहकारीहरुमा समस्या देखिएकाले सरकारले कानूनी प्रकृयालाई दरिलो बनाउन अगाडि बढेको बताए । उनले सहकारीको नियमभन्दा बाहिर गएर बचतकर्ताहरुको रकममाथि सञ्चालकहरुले चलखेल गरी कानून विपरीत लगानी गरेका कारण यस्तो समस्या देखिएको स्पष्ट पारे ।
उनले बर्दियास्थित नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाको उदाहरण दिदै उक्त सहकारीको सञ्चालक तथा व्यवस्थापकले मनोमानी (अदृश्य) रुपमा रिसोर्टलगायत अन्य क्षेत्रमा लगानी गर्दा समस्या आएको जनाउँदै सहकारीमा देखिएको समस्यालाई तीनै तहका सरकार गम्भीर भएर ध्यान दिनुपर्नेमा जोड दिए । साथै उनले भने, 'ढुक्क हुनुहोस् त्यसका लागि हामीहरु गृहकार्यमा जुटेका छौं, तत्काल देखिने गरी काम गर्नेछौं ।'
कार्यक्रमा लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले सहकारीहरुले सुशासनलाई पाखा लगाएर संस्था चलाउँदा सहकारीमा बेथिति आएको बताए । आफू रजिष्ट्रार कार्यालयमा आएको करिब साढे २ महिना पुगेको बताउँदै उनले यो अवधिमा आफूले ५० वटा भन्दा बढी सहकारीहरुको अनुगमन गर्दाको अनुभव सुनाउँदै आर्थिक सुशासन अवलम्बन नगरेको उल्लेख गरे ।
तिवारीले अनुगमनका क्रममा कतिपय सहकारीले सहकारी मूल्य मान्यता पालना नगरेको, गतल लेखा परीक्षण गरेको, ५ बर्षसम्म पनि साधारण सभा नगरेको, उत्पादन मुलक कार्यमा लाग्न छाडेर पैसाको किनबेचमा लिप्त भएको पाइएकाले नियमपूर्वक सञ्चालन गरी सुधारका सुझाव दिएको यद्यपि सहकारी संस्था सञ्चालन ऐन बमोजिम विपरीत चलेको पाइएमा कानूनी दायरमा ल्याएर कारबाही अगाडि बढाइने खवरदारीसमेत दिएको सुनाए ।
प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा समस्या नभएको दाबी गर्दै कारोबारी सदस्य बनाएका शाखा विस्तार सहकारीहरुमा समस्या रहेको सत्यता प्रष्ट्याए ।
अध्यक्ष नेपालले २०६४ सालमा बुटवलमा रहेको स्वर्णिम सहकारीमा पनि यस्तै आर्थिक अपादर्शितामन कारण समस्याग्रस्त बनेको बताए । पछि त्यो गुनासो आफूहरु कहाँ आएको र त्यसको बारेमा अनुगमन गरी नागरिकको पैसा फिर्ता गर्न सफल भएको बताए । त्यसैले अहिले बजारमा आएको समस्यालाई पनि हल गर्न कुनै काम बाँकी नराख्ने भन्दै सहकारी सञ्चालकहरुलाई यथाशिघ्र समस्या समाधानमा लाग्न आग्रह गरे ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या निम्तिएको जनाउँदै वित्तीय अनुशासन पालना नहुँदा अनुपातमा बचत संकलन गरी ऋण एकल रुपमा बढी गरेकाले सहकारीहरु धरापमा पर्न थालेको बताए । उनले सहकारी सञ्चालनका लागि बाहिरी ऋण लिने चलन रहेको र क्षमता भन्दा बढी रकम संकलन गरी उक्त रकम बाहिर लगानी गरेको पैसा नउठेपछि बचतकर्ताहरुलाई फिर्ता गर्न नसकेको रहस्य खुलाए ।
जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष भिम तुलाचनले सहकारीमा सरलीकरण र सहजीकरण नहुँदा आर्थिक सुशासन कार्यान्वयनको बेवास्ता हुँदा सहकारीमा बथेति बढेको बताए । जसले गर्दा सामान्य नागरिकहरुले दैनिकी गरेर जम्मा गरेको पैसा जोखिमा पर्न नदिनको लागि अब आफूहरु चुप लागेर नबस्ने बताए ।
बुटवल उपमहानगरपालिका अन्तर्गत सहकारी शाखा प्रमुख गुनाखर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ वटा सहकारीमा कुनै समस्या नभएको जिकिर गर्दै ७५ वटा प्रदेश मातहतका गरी २ सय ११ वटा रहेको बताए ।
प्रमुख खनालले उपमहानगरमा ६० हजार शेयर सदस्य रहेको र ७ अर्ब ४० करोड लगानी भएकोसमेत जनाए । कृषि बहुउद्देश्यीय सहकारी १२ वटा ग्रामिण क्षेत्रमा रहेको जनाउँदै बजार क्षेत्रमा कुनै सहकारी दर्ता नगरेको उल्लेख गरे ।
साक्षात्कारमा बोल्दै तिलोत्तमा सहकारी संघका प्रमुख कृष्ण पाण्डेले तिलोत्तमा नगरभित्र रहेका सहकारीहरुमा कुनै समस्या नभएको दाबी गरे पनि उनको नगरभित्र रहेको कल्पबृक्ष नामक सहकारीमा समस्या रहेको पाइएको छ ।
साक्षात्कार कार्यक्रमा शिव शिखर सहकारीबाट पीडित बनेका यज्ञ सापकोटाले नियमन निकायमाथि आक्राेश पोख्दै सहकारीहरुले यसैगरी नागरिकको पैसा नदिएमा इलामका प्रेमप्रसाद आचार्य जस्तैगरी सहकारी कार्यालय अगाडि गएर धेरैले आत्मदाह गर्न बाध्य हुने दिन आउन सक्ने बताए ।
उनले आफूले १० हजार रुपैयाँसमेत निकाल्न महिना दिनदेखि धाउँदा पनि नपाएको भन्दै सो सहकारी एउटा अपारर्मेन्ट सञ्चालन गरेको र पैसा लिन जानेहरुलाई सामान हात लगाईने गरेको बताउँदै बजार मूल्यभन्दा अत्यधिक कालोबजारी मुल्यमा लादेको आरोप लगाए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले काठमाडौं मोडेल नामको बुकलेट सूत्र अनुसार चल्दा केही सहकारीहरुले नागरिकको पैसा जोखिममा रहेको स्पष्ट पारेका थिए ।
उनले सहकारीहरुमा बेथिति नियन्त्रण गर्न छिट्टै कार्यदल गठन गरी समस्याको समाधान गर्न सुझाव दिए । लुम्बिनी प्रदेशमा २०७७ को तथ्याङ्कअनुसार ३ हजार ७ सय ५५ वटा सहकारीबाट ४२ अर्व लगानी भएको, ६० अर्व निक्षेप र ६ अर्ब शेयर पूँजी रहेको बताइएको छ । यो २०७७ सालको तथ्याङ्क अनुसारको भएको जनाइएको छ । त्यसयता अझैसम्म अद्यावधिक नभएको पाइएको छ ।