चितवन। तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् । एमालेको सोमबारदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले तराई आन्दोलन लामो समयसम्म रहन दिन नहुनेमा पनि जोड दिएका छन् ।
एमाले रौतहटका सांसद लालबाबु यादवले संविधानका अन्तरवस्तु तराईवासीलाई बुझाउन माग गर्दै स्वदेशमै बसेर समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए । उनले तराई, पहाड र हिमाल सबै भेगका जनतालाई संविधानका विषयमा प्रष्ट जानकारी नगराएसम्म भ्रम रहिरहने बताए । जुनसुकै देशको विदेश नीति जहिले पनि आफ्नै मुलुकको हितमा हुने भएकाले देशभित्रको समस्याबारे विदेशमा गएर ‘परामर्श, छलफल गर्ने र समस्या समाधान गरिदिन आग्रह गर्ने प्रवृत्ति’ गलत भएको उनले बताए ।
धनुषाका सांसद रामअवतार पासवानले सबै जातिले यसरी नै अधिकार खोजे देश नरहने भन्दै संविधान संशोधन गरेर आफ्ना माग स्थापित गर्नुपर्ने बताए । उनले आफ्नै देशका जनतालाई दाल, चामल रोकेर कसैको माग पूरा हुन नसक्ने जिकिर पनि गरे । एमालेलाई मधेसप्रति उदार नभएको भन्ने आरोप लगाएर जिम्मेवारीबाट पन्छन नखोज्न पनि उनले आग्रह गरे ।
मोरङका सांसद मीनादेवी यादवले संविधानले सबैलाई समेटेको बताए । उनले सीमाङ्कनका विषयमा आफ्नो पार्टी सकारात्मक रहेको भन्दै प्रष्ट ‘एजेन्डा’सहित नेपालमै बसेर सरकारसँग वार्ता गर्न असन्तुष्ट पक्षलाई आग्रह गरे । छिमेकीको उक्साहटले देश बन्न नसक्ने उनको धारणा थियो ।
धनुषाका सांसद् शीतल झाले तराईको आन्दोलनलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए । तीन ठूला दल एकै ठाउँमा उभिएर तराई समस्यालाई समाधान गर्नुपर्नेमा उनको भनाइ थियो । धनुषाकै अर्का सांसद शत्रुघन महतोले समानुपातिक समावेशितासहित निर्वाचन क्षेत्र निर्धारण गरेर अघि बढ्नुपर्ने बताए । एमाले तराई–मधेसप्रति उदार रहेको भन्दै उनले यो भेला तराईका मागप्रति पार्टीलाई अरु बढी उदार बनाएर समाधान खोज्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
सिरहाका सांसद रामचन्द्र यादवले संविधान जारी हुनुअघि भदौ १८ गते आफूहरुले पार्टीलाई मधेसका माग समेटिएको १० बुँदे ज्ञापनपत्र बुझाएको भए पनि यसतर्फ पार्टीले ध्यान दिन नसक्दा मधेस आन्दोलन चर्केको बताए । उनले भने, “अहिले संविधान संशोधन गरेर माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ । ती विषय हामीले पेस गरेका १० बुँदामा पहिले नै परेको थियो ।”
अन्तरिम संविधानमा समेटिएका केही बुँदासमेत संविधानमा छुटेको भन्दै उनले त्यसलाई संशोधन गरेर यथाशक्य चाँडो मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताए । पार्टीका सबै शीर्ष नेता एकै थलोमा भएकाले भेला मार्गदर्शक हुने उनको भनाइ थियो ।
पर्साका सांसद विचारी यादवले बाह्य प्रभावमा हुने आन्दोलन नेपालीका पक्षमा नहुने बताए । मधेसका केही दलहरुले भोटको राजनीति गरिरहेको उनको आरोप थियो । संविधानका अन्तरवस्तु जनजनमा पु¥याउन माग गर्दै उनले भ्रम पालेर राखेकै कारण मधेस आन्दोलनले निकास पाउन नसकेको बताए । मधेसका सांसदहरुलाई एकै ठाउँमा राखेर त्यहाँका जनताको माग र समाधानका उपायका विषयमा पार्टीले छलफल गर्न लागेकाले कार्यक्रम प्रभावकारी बन्ने उनको भनाइ थियो ।
सर्लाहीकी सांसद रञ्जना कुमारी सरकारले आन्दोलनरत दल जिम्मेवार नबनेपनि सरकार जिम्मेवार भएर ठूला पार्टीहरुसँग सहकार्य गरेर यथाशक्य चाँडो मधेस समस्या हल गर्नुपर्ने बताए । संविधानमा आफ्नो अधिकार उल्लेख भए÷नभएको प्रस्ट पारेर तराईवासीलाई संविधानप्रति सकारात्मक बनाउन पनि पहल गर्नुपर्ने उनको धारणा थियो । उनले बाह्य शक्तिको आडमा नाकाबन्दी गरेर देशमा आर्थिक सङ्कट उत्पन्न गराउने काम भएको आरोपसमेत लगाए । उनले भने – जसको मागका लागि नाकाबन्दी भयो भनिएको छ, त्यसले मधेसकै जनतालाई बढी प्रताडित बनाएको छ ।
रौतहटकी सांसद सरला यादवले आन्दोलनका कारण आफूहरु गाउँगाउँ पुगेर जनतालाई बुझाउन नपाएको दुखेसो पोख्दै तराईका जनतालाई भाड्ने काम मधेसवादी दलहरुले गरिरहेको आरोप लगाईन । उनले भने – “संविधान जारी भएसँगै चाहिँदा नचाहिँदा दुष्प्रचार गरेर मच्चाएर जनतालाई भड्काउने काम भएको छ, यसलाई बुझाउन जरुरी छ ।”
भेलामा एमालेका केन्द्रीय नेतासँगै मधेसका २२ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज, पूर्व सांसदको सहभागिता रहेको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पार्टीमा तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सांसदको सङ्ख्या ४२ रहेको छ ।