arrow

सुदूरपश्चिम सरकार धरमरमा, कांग्रेसको पोल्टामा जाने सम्भावना

logo
सुनील आउजी, 
प्रकाशित २०७९ माघ २५ बुधबार
kamal-shah-sudurpachhim.jpg
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमल शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाएका थिए । उनले विश्वासको मत लिने वातावरण बनेन । अनि अचानक आजको बैठक स्थगित भइदियो । बैठक स्थगितको जानकारी नेपाली कांग्रेसले पाएन । 

सोही कारण नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमल शाहले आपत्ति जनाएका छन् । ‘प्रदेशसभा बैठक हाम्रो सहमति बिना स्थगित गरिएको प्रति आपत्ति छ’ उनले भने । 

कांग्रेससँग सहमति नै नगरी बिना जानकारी सभामुखले बैठक स्थगित गरेको भन्दै संसदीय दलका नेता शाहले आपत्ति जनाएका हुन् । शाहले आजका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाउने अवस्था देखिएपछि उनको निर्देशनमा सभामुखले बैठक स्थगित गरेको आरोप लगाए । 

‘बैठक सारिनुमा हाम्रो घोर आपत्ति छ,’ शाहले भने, ‘विश्वासको मत नपाइने अवस्था भएपछि यो सबै गरिएको हो ।’

नेता शाहले बैठक भोलि १ बजेका लागि बोलाइएकाले उनीहरूकै प्रस्तुतिका आधारमा कांग्रेस अगाडि बढ्ने बताए । ‘प्रदेशसभा बैठक भोलि फेरि बोलाइएको छ,’ उनले भने, ‘अब भोलि कसरी अगाडि बढ्ने भन्ने कुरा उनीहरूको प्रस्तुतिमा भर पर्छ ।’

सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ । प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता कुलानन्द उपाध्यायले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसाबले नेपाली कांग्रेसलाई सरकार बनाउने बाटो खुला हुने बताए ।

संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने भएका छन् । प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना सांसदले पक्षमा मतदान गर्नुपर्नेछ । 

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेका कारण मुख्यमन्त्रीले बहुमत प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ