arrow

मुख्यमन्त्री रावल विश्वासको मत लिँदै, उन्मुक्तिका सांसदहरु काठमाडौंमै

logo
सुनील आउजी, 
प्रकाशित २०७९ माघ २६ बिहिबार
rajendra-singh-rawal.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् । यसअघि विश्वासको मत लिन बुधबार बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखेपछि बुधबार ११ र १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको थियो । 

प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ। 

त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन ।

आज पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था देखिएको छैन । नागरिक उन्मुक्ति पार्टीले आफ्नो अडान कायमै राखेका कारण विश्वासको मत पाउने अवस्था नरहेको हो । 

नागरिक उन्मुक्तिका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ । 

बन्दीहरुको रिहाई, झुटा मुद्धा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाई छ । नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन।

नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारवाही अघि बढाउने छ ।

जसअनुसार ठूलो दलको नाताले नेपाली कांग्रेसले अवसर पाउने छ । उन्मुक्तिका सांसदहरु काठमाडौंमै रहेकाले रावलले विश्वासको मत पाउने देखिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ