arrow

सुदूरको नयाँ समीकरण 

रेशम चौधरीको घरमा पुगे मुख्यमन्त्री शाह

रेशमकी आमा सुनफीदेवीले मुख्यमन्त्री शाहसँग भनिन् –मेरो छोरालाई यसरी आएको देख्न मन छ

logo
देवानन्द न्यौपाने, 
प्रकाशित २०७९ माघ २८ शनिबार
kamal-shah-resham-aama.jpg

लम्की । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा लिनुपर्ने बताएका छन् । शुक्रबार साँझ मुख्यमन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्ट शनिबार बिहानै टीकापुर घटनाका मुख्य अभियुक्तको रुपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई कैलालीको जानकी ९ जगतपुर स्थित घरमै भेटघाट गर्दै  मुख्यमन्त्री शाहले रेशम लगायतकालाई जेलमुक्त गराउन आफू लागि पर्ने आश्वासन दिए । 

उनले सो घटनालाई राजनितिक रुपमा नै समाधान खोजिनु पर्ने बताए । रेशम चौधरीकी ६८ वर्षीया आमा सुनफीदेवीबाट आशीर्वाद लिँदै लिँदै मुख्यमन्त्री शाहले भने, ‘म पनि तपाईको छोरा हो । चिन्ता नलिनुहोला । रेशमजीलाई छुटाउन म अथक प्रयास गर्ने छु ।’

मुख्यमन्त्री शाहलाई आशीर्वाद दिँदै उनले अंगालो हालेर आफूले सानो छँदा खेलाएको स्मरण गदै भनिन्, ‘आफ्नो छोरा रेशमलाई पनि जेलबाट छुटाएर यसरी नेता भएर आएको देख्न मन छ ।’

‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटो भन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरुलाई छुटाउने अभियानमा म पहिले पनि लागेको थिए’, मुख्यमन्त्री शाहले भने, ‘अब मेरो पहिलो प्रयाससमेत त्यही हुनेछ ।’

मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने रेशमका सहोदर भाइ प्रकाश चौधरीलाई समेत आश्वासन दिएका छन् । टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाइ थियो। 

‘टीकापुर घटनाले यस क्षेत्रको हरेक कोणबाट बदनाम गर्ने काम भइरहेको छ । सदियौंदेखि मिलेर बसेको समाजमा फाटो ल्याउने काम भइरहेको छ । अब त्यो तपाई हामी सबैले बुझ्नु पर्छ । सबै सजग हुनु पर्छ । यस क्षेत्रको सामाजिक सद्भाव कायम गराउने, टीकापुर घटनाका जेलजीवन बिताइरहेका बन्दीहरुलाई राजनीतिक रुपमा समस्याको समधान गर्न म जुटिसकेको छु । तपाईहरुको साथ चापहएको छ’, मुख्यमन्त्री शाहले भने । 
 
मुख्यमन्त्री शाहले आजै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष संघिय सांसद रञ्जीता श्रेष्ठसँग करिब १० मिनेट भेटवार्तासमेत गरेका छन् । 

आज दिउँसो टीकापुरस्थित सिद्धार्थ होटलमा करिब १० मिनेट जति घेटघाट भएको हो । भेटघाटमा बर्तमान राजनितिक घटनाक्रमको बारेमा भेटघाट भएको मुख्यमन्त्रीका सचिवालय प्रमुख रामबहादुर बिष्टले बताए । उनले भने, ‘वार्ता सकारात्मक भएको छ । यसलाई वार्ता नै नभनी हालौँ । सामान्य पारिवारिक भेटघाट जस्तै भेटघाट भएको हो ।’

शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ। यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो। शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । उच्चस्तरीय भेटघाटको लागि मुख्यमन्त्री शाह आजै काठमाडौं गएका छन् ।  

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने विश्वास ब्यक्त गर्दै आएका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ