arrow

दलित बस्तीमा पानीको चरम अभाव

logo
राम धामी,  
प्रकाशित २०७९ माघ २९ आइतबार
water-scarcity.jpg

डडेल्धुरा । खानेपानी योजना निर्माण भएको चार वर्षसम्म धारामा पानी नआउँदा अमरगढी नगरपालिका–६ स्थित छचोडा गाउँमा खानेपानीको चरम अभाव छ । 

चार वर्ष पहिले गाउँमा नयाँ धारा बनेका थिए । तर धारामा पानी सञ्चालन नै भएन । अहिले धारा जिर्ण बनेका छन । अमरगढी नगरपालिका–६ को छचोडागाउँ अमरगढी नगरपालिकाकै सबै भन्दा ठूलो गाउँ हो । ठूलो दलित वस्ती मानिने छचोडा गाउँमा खानेपानीको जहिल्यै अभाव हुने गरेको स्थानीयको गुनासो छ । 

२०७६ सालमा अमरगढी नगरपालिकाको करिब पाँच लाख रुपियाँ लागतमा गाउँमा १० वटा धारा बनाईएका थिए । २०४८ सालमा निर्माण गरिएको खानेपानीको लाइन टंकीहरु पनि मर्मत गरेर खानेपानी सञ्चालन गरिएको पूर्व वडा अध्यक्ष गोबिन्दराज भट्टले जानकारी दिए । स्थानीयले आफुलाई पायक पर्ने ठाउँमा पाईप काट्ने गरेपछि धारामा पानी सञ्चालन हुन नसकेको उनको भनाई छ ।

करिब ६ किलोमिटर टाढाबाट ६३ एमएमको पाईप बिछाई छचोडा गाउँमा खानेपानी पुर्याइएको हो । योजना सम्पन्न भए पनि धारामा पानी सञ्चालन गर्न स्थानीयहरु आफैले अवरोध गर्ने गरेको पुर्व वडाध्यक्ष भट्टले बताए । 

पानीको मुहान टाढा भएकाले ठाउँठाउँमा स्थानीयहरुले पाईप काट्दा धारामा पानी सञ्चालन हुन नसकेको अमरगढी–६ का वडा अध्यक्ष केबी ताम्राकारको भनाई छ । दुमडा, सिमल, भोजनेउटा गाउँ हुदै खानेपानीको पाईप लाईन छचोडा गाउँ पुगाईएको छ । 

‘कहिले दुमडा, कहिले, सिमल र कहिले भजनेउटा गाउँवासीले पाईपलाईन काटिदिदा धारामा खानेपानी सञ्चालन हुन सकेको छैन,’ स्थानीय बासिन्दासमेत रहेका वडाध्यक्ष ताम्राकारले भने, ‘छचोडा गाउँवासीले लामो समयदेखि खानेपानीको समस्या भोग्नु परेको छ ।’

गाउँमा खानेपानीको व्यवस्थापनका लागि आवश्यक बजेटको माग गरे पनि कहि कतैबाट व्यवस्थापन हुन नसकेको उनले बताए । हाल छचोडावासीहरु परम्परागत न्वाला (कुवा)बाट खानेपानीको जोहोगर्दै आईरहेका छन् । 

न्वालामा पर्याप्त पानी नहुँदा समस्या हुने गरेको स्थानीयको भनाई छ । न्वाला नजिकका घरमा पानी भर्न केही सहज भए पनि गाउँमा टाढाका घरमा आधा घण्टा सम्म पानी बोकेर लैजानु पर्ने बाध्यता स्थानीयको छ । न्वालामा पर्याप्त पानी नहुँदा घरको एकजनाको काम दिनभर पानी भर्न नै ठिक्क हुने स्थानीय जयन्ती ताम्राकारले बताइन् । 

खानलाई धौधौ गरी पानी पुगाए पनि लत्ताकपडा धुन, सरसफाई गर्न समस्या हुने गरेको उनको भनाई छ । चुनावका बेला खानेपानीको व्यवस्था गर्ने, घरघरमै खानेपानीको धारा बनाउने आश्वासन उम्मेदवारहरुले दिए पनि चुनाव सकिएपछि खानेपानीको समस्या समाधान हुन नसकेको उनले गुनासो गरिन् । 

पछिल्लो समय न्वालामा पानी सुक्न थालेपछि स्थानीय न्वाला भित्रै पसेर खानेपानीको जोहो गरिरहेका छन् । न्वाला भित्रै पसेर पानीको जोहो गर्दा भएको पानी पनि दुषित हुनपुग्छ । 

छचोडा गाउँवासी दुषित पानी उपभोग गर्न बाध्य भएको स्थानीय भिमबहादुर ताम्राकारले बताए । गर्मीयाम बढ्दै गर्दा दुषित पानीका कारण रोगको सक्रमण निम्तिने खतरा छचोडावासीमा रहेको उनले चिन्ता व्यक्त गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ