arrow

फागुन २ देखि बागमतीमा लाइसेन्सको ट्रायलमा ७० अंक ल्याए पास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
licence-trial.jpg

काठमाडौं। आउँदो फागुन २ गतेदेखि बागमती प्रदेशभरमा सवारीचालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल अथवा परीक्षणमा ७० अंक ल्याए पास हुन प्रणाली लागू हुने भएको छ।

बागमती प्रदेश अन्तगर्तको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सुचना अधिकारी देवराज चौलागाईँले प्रदेशका सबै ठाउँमा यो प्रणाली लागू हुने बताएका हुन् ।

उनले भने,'सबै यातायात कार्यालयहरुलाई चिठ्ठी पठाइ सकिएको छ, बागमती प्रदेशका सबै ट्रायल हुने ठाउँमा लागू हुन्छ।' अन्य प्रदेशमा लागू भइसकेको यो प्रणाली बागमतीमा लागू हुन भने ढिलाइ भएको थियो। तर, फागुन २ गतेदेखि नयाँ पुराना सबै ट्रायलका लागि यहीँ प्रणाली लागू हुने भएको बागमती प्रदेशको यातायात मन्त्रालयले जनाएको छ।

यो प्रणाली फागुन १ बाटै लागू हुने भनिए पनि प्रदेश सरकारले १ गते सार्वजनिक बिदा दिएकाले फागुन २ गतेबाट लागू हुने भएको हो।

यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख विष्णुकुमार भट्टराईले फागुन २ गते मंगलबारदेखि ७० अंक ल्याए पास हुने प्रणाली लागु हुने बताएका छन्।

उनले भने, 'प्रदेशबाट पत्र पाएका छौं,अहिलेसम्म २ गतेदेखि लागु गर्ने भन्ने छ बीचमा केही बाँधा नआउँला ।'

यस प्रणाली अन्तर्गत अंक दिने प्रक्रियालाई सात चरणमा विभाजन गरिएको छ।

कसरी दिइन्छ नम्बर?

मोटरसाइकल, स्कुटर र मोपेड अथवा ए र के क्याटगोरी चालकका लागि घुमाउरो आठ (एट आकार) को अंकभार २०, साँघुरो फलेकको अंकभार १०, यु–टर्नको अंकभार १०, ट्राफिक संकेतका लागि १५, उबडखाबडको अंकभार १५, उकालो (र्याप) को अंकभार २० र परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनको अंकभार १० तोकिएको छ।

दुईपटकसम्म रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायल फेल भइने छैन ।

तर, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुईं टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भइनेछ ।

साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के अनुत्तीर्ण भइनेछ। यस्तै टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ भने, त्यसबेला रेखा छोएमा अनुत्तीर्ण भइनेछ।

यस्तै कार, जिप, डेलिभरी भ्यान अर्थात् बी क्याटगोरीका लागि पनि सातवटा चरण बनाएको छ । पहिलो चरणको घुमाउरो ८ को अंकभार २० छ । दुई पटकसम्म अंकित रेखा छोएमा पाँच पाँच अंक काटिनेछ ।

एक पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा, अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि सारेमा भने परीक्षार्थीलाई फेल गराइनेछ।

उबडखाबडको अंकभार १० कायम गरिएको छ । यसमा एकपटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ भने एक पटकभन्दा धेरै स्टार्ट बन्द भएका परीक्षार्थी फेल हुनेछन्।

यू–टर्नको अंकभार १० छ । यसमा ट्रेनिङ इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण गरिनेछ । त्यस्तै, चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ कायम गरिएको छ । संकेत पालना नगरे १५ नम्बर घटाइए पनि फेल भइनेछ।

र्‍याम्प (उकालो र ओरालो) को अंकभार १५ छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।

छैटौँ चरणमा रहेको ग्यारेज पार्किङको अंकभार २० राखिएको छ । यसमा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सरेमा १० नम्बर काटिनेछ भने पछाडि गुडाउने क्रममा एक पटकभन्दा धेरै अगाडि सरेमा र अंकित रेखा छोएमा परीक्षार्थी फेल हुनेछ।

सातौँ तथा अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूका सामान्य निरीक्षण नगरे, सिटबेल्ट नलगाई चलाएमा ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ नम्बर काटिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ