arrow

पचभैया प्राणी उद्यान केन्द्र खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
zoo.jpg

पोखरा । सात तालको बगैँचा शहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला गरिएको छ ।

बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर उक्त केन्द्र निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालयले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समिति गठन गरी केन्द्र सञ्चालन गरिएको छ । 

खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुल्ला गरिएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिए ।

उनका अनुसार केन्द्र अवलोकन गर्न विद्यार्थीका लागि रु १५ र अन्य सर्वसाधारणका लागि रु २५ टिकट दस्तुर तोकिएको छ ।

पछिल्लो समयमा विभिन्न विद्यालयबाट विद्यार्थीहरू उक्त केन्द्र अवलोकनका लागि आउने गरेको उनले बताए । 

केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, नीलगाई, रतुवा मृग, चित्तल, चरीबाग, बन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयूर, कछुवालगायत २३ प्रजातिका वन्यजन्तु तथा पन्छीहरू अवलोकन गर्न पाउने छन्  ।

वन्यजन्तु अवलोकनसँगै यस क्षेत्रका विभिन्न धार्मिक एवम् सांस्कृतिकस्थल संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको अध्यक्ष ढकालको भनाइ थियो  । 

उनले खुला चिडिायाखनासँगै यस क्षेत्रका ऐतिहासिक एवम् धार्मिक महत्वका सीता गुफा, बज्रमुष्ठी मन्दिर, नागाबाबाको तपस्थलीे पनि संरक्षण र विकास गर्ने हाम्रो लक्ष्य रहेको भन्दै यी स्थललाई पनि यहाँको पर्यटनसँग जोड्ने सम्भावना रहेको बताए । 

सीता गुफा राम्रै पर्यटकीय गन्तव्य बन्न सक्ने भए पनि यसको संरक्षणसँगै प्रचारप्रसार हुन सकेको छैन । धार्मिक महत्वको बज्रमुष्ठी मन्दिरसँगै देबनाथ बाबाले सिद्धि प्राप्त गरेको भूसनपुरको थाप्लोलाई पनि संरक्षण गरी धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना रहेको अध्यक्ष ढकालले बताए ।

स्थानीयवासीले यसै क्षेत्रमा प्राचीन कालदेखि रहेको प्राकृतिक तोरी पोल्ने कोल पनि संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच २०६७ सालदेखि शुरु भएको युनाइटेड क्लबका पूर्वअध्यक्ष एवम् अभियन्ता हिमालय बख्रेलले बताए । 

क्लबको पहल एवम् स्थानीयवासीको सक्रियतामा यसको निर्माण कार्य अघि सञ्चालनको अवस्थासम्म आउनु आफैँमा महत्वपूर्ण रहेको उनको भनाइ थियो । चिडियाखाना २०७२ साल साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गरेका थिए ।

युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याइएको अभियन्ता बख्रेलले जानकारी दिए । 

केन्द्र परिसर एवम् रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन् । केन्द्रको पूर्वी भाग रुपातालसँग जोडिएको हुँदा यसको निर्माणसँगै रुपातालको पनि संरक्षण हुने स्थानीयवासीको विश्वास छ ।

पोखराबाट जम्मा २५ किमी टाढा रहेको पचभैयामा निर्मित प्राणी उद्यान केन्द्र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि उत्तिकै महत्वपूर्ण बन्ने विश्वास लिइएको चापापानी चिसाकुना सामुदायिक वनका उपाध्यक्ष निर्मल अधिकारीले बताए ।

पर्यटकलाई लक्ष्य गरी गण्डकी प्रदेश सरकारको सहयोगमा चापापानीबाट भ्युटावर र रुपाताल जाने पदमार्ग रु १५÷१५ लाखको लागतमा निर्माण गरिएको उनले बताए ।

केन्द्र सञ्चालनका लागि अघिल्लो वर्ष गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख छुट्याइएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । 

उनका अनुसार उक्त रकमबाट पदमार्गसँगै केन्द्र जाने लिङ्क रोडका भत्किएका बाटो मर्मत, जनावर राख्ने केजहरू निर्माण, डाटिङ गर्ने उपकरण खरिद आदि काम गरिएको उनले जानकारी दिए ।

यस वर्ष केन्द्रका लागि रु ४० लाख विनियोजन गरिएको छ । केन्द्र सञ्चालनका लागि एक व्यवस्थापकसहित तीन सहयोगी कर्मचारी राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ