arrow

ग्राहकलाई न्यूनतम इन्टरनेट स्पिडको ग्यारेन्टी गर्नुपर्ने, बैशाखदेखि विनियमावली लागु हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
NTA-nepal-telecommunications-authority.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनीहरूका लागि महत्वपूर्ण गुणस्तर सम्बन्धी विनियमावली ल्याएको छ । जसअनुसार उनीहरुले आफ्ना ग्राहकलाई न्यूनतम स्पिडको ग्यारेन्टी दिनुपर्ने भएको छ । 

दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७९ जारी गर्दै नियामक प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । यो विनियमावली आगामी बैशाख १ गतेदेखि लागु हुने बताइएको छ । 

विनियमावलीको अनुसूची १ अ अन्तर्गत दूरसञ्चार सेवा सञ्चालन गर्दा कायम गर्नुपर्ने न्यूनतम गुणस्तर सम्बन्धी व्यवस्था गरिएको छ । जसअन्तर्गत बुँदा ङ (४) मार्फत फिक्स्ड लाइन इन्टरनेट स्पिडको न्यूनतम प्रत्याभूतिसमेत गरिएको छ ।

अर्थात् ग्राहकले किनेको इन्टरनेट सेवाको स्पिडको तुलनामा सेवा व्यस्त रहने समयमा ग्राहकले प्राप्त गर्नुपर्ने न्यूनतम स्पिड ग्यारेन्टी गरिएको हो ।

प्रायः तोकिएको जति स्पिडमा सेवाप्रदायक कम्पनीहरुले इन्टरनेट नदिने गुनासो आइरहेका बेलामा प्राधिकरणले यो विनियमावली ल्याएको हो । यसरी निर्धारित न्यूनतम स्पिडको इन्टरनेट सेवा ग्यारेन्टी गर्न नसक्ने सेवाप्रदायकले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने कानूनी व्यवस्थासमेत विनियमावलीले गरेको छ ।

यसको प्रभावकारी अनुगमन हुनेमा प्राधिकरण आशावादी देखिएको छ । प्राधिकरणका सहायक प्रवक्ता एवं उपनिर्देशक अच्युदानन्द मिश्रले यो कानून प्रभावकारी हुने बताएका छन् । 

उनले भने, ‘कानून त प्रभावकारी नै हुन्छ । कानून नै आइसकेपछि त प्रभावकारी नहुने त प्रश्नै भएन नि ।’

उनले अनुगमनका लागि हुने चुनौतीबारे स्पष्ट पार्दै भने, ‘अनुगमन हुन्छ । अनुगमन गर्नुपर्छ । त्यसका लागि हामीले सिष्टम ल्याएका छौं । सिष्टमले काम गर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ