arrow

धनगढी उपमहानगरमा स्मार्ट सडक बत्ती, देउवाले गरे उद्घाटन

logo
सुनिल आउजी,
प्रकाशित २०७९ फागुन ११ बिहिबार
batti-dhangadi.jpg

धनगढी । धनगढी उपमहानगरपालिकाको मोहनापुल-अत्तरिया ६ लेन सडक झिलिमिली भएको छ। धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले उद्घाटन गरेका छन्।

धनगढी-अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडक बत्तीको बुधवार साँझ मन्त्री देउवाले बत्तीको स्विच अन गरि उद्घाटन गरेका हुन्। नेपाल विद्युत् प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम सम्पन्न भएपछि उद्घाटन गरिएको हो।

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री देउवाले विकास निर्माणमा स्थानीय तह सँग साझेदारी गर्न तयार रहेको बताए। उनले तिनै तहका सरकारबीच समन्वय भए विकासले फड्को मार्ने बताए । मन्त्री देउवाले भने म राजनीतिमा आउनुको लक्ष्य नै विकासको अगुवाइ गर्न हो, त्यसका लागि तिनै तहका सरकारसँग समन्वय गरि मेरो लक्ष्य पूरा गर्छु।

धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ६ लेन सडकमा पहिलो चरणको स्मार्ट सडक बत्ती जडान गर्ने काम पूरा गरेको हो। धनगढी चौराहदेखि गेटा विमानस्थल जाने बाटोसम्म स्मार्ट सडक बत्तीले झिलिमिली भएको नगरप्रमुख गोपाल हमालले बताए । ६ लेन सडक क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो।   पहिलो चरणमा २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको छ। स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ।

धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको काम अन्तर्गत ६ लेन सडकमा हाईमास्ट लाइट जडानको काम गरिरहेको छ। भन्सारदेखि गेटासम्म १० वटा हाईमास्ट लाइट जडान गर्न उपमहानगर एक्लैले खर्च व्यहोर्ने छ। यसै गरी, तेस्रो चरण अन्तर्गत भन्सारदेखि चौराहा र मोहनपुरदेखि गेटासम्म स्मार्ट सडक बत्ती जडान गर्न बोलपत्र आह्वान भइसकेको धनगढी उप-महानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताएका छन्।    उपमहानगरपालिकाले धनगढी-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रभित्रको करिब ९ किमी सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको कामसँगै मेडियनलाई हरियाली बनाउने काम समेत गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ