arrow

नयाँ गठबन्धनको जिम्मेवारी फत्ते गरे खड्का र थापाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
purnabahadur-khadka-gagan-thapa.jpg

काठमाडौं । शुक्रबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिरको माहोल निकै फरक थियो । बालुवाटारमा भएको बैठक सकेर फर्कदै गर्दा सबै दलका नेताहरुको अनुहारमा चमक देखिन्थ्यो । न कोही निराश थिए र न कसैलाई पछुतो भएको जस्तो मुहार देखिन्थ्यो । 

त्यो थियो आठ दलले राष्ट्रपति उम्मेदवारका लागि साझा प्रस्ताव पारित गरेर निर्णय भएको क्षण । आठ दलले सामूहिक निर्णय गरेर नेपाली कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा विजयी गराउने सहमति गरेका थिए । 

चार दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपाल अघिल्लो दिन पनि बैठकमा थिए । त्यस्तै शुक्रबार बिहान पनि बैठकमा बसेका थिए । 

साँझ ५ बजे बैठक बस्ने गरी चार दलको बैठक बिना कुनै निर्णय टुंगिएको थियो । साँझ ५ बजेपछि के होला भन्ने कौतुहल नेपाली राजनीतिक वृत्तमा चलिरहेको थियो । जो प्रत्यक्षरुपले भिडिरहेका थिए उनीहरु भने ढुक्क थिए । 

चार दलको बैठक चलिरहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल केही समय सहभागी थिएनन् । उनको अनुपस्थितिले बालुवाटारमा खासै राम्रो वातावरण बनिरहेको थिएन । किनकि उनी पनि राष्ट्रपतिका लागि दावेदार  थिए । 

माधवले त्यो समयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिरहेका थिए । ओलीले त्यसअगाडि बालुवाटारमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । 

प्रचण्डले माहोल फरक भएको बताएर ओलीलाई निराश पारेका बेलामा माधव नेपालले पनि ओलीलाई निराश पारिदिए । ओलीको चाहना माधवलाई राष्ट्रिय सहमति जस्तै गरेर राष्ट्रपतिको उम्मेदवार बनाउने अनि नेकपा एससँग पार्टी एकता गर्ने । 

त्यसो गर्न सकियो भने आफ्नो दल सबैभन्दा ठूलो हुने थियो अनि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफू नेतृत्वको सरकार बनाउने । उनको त्यो प्रस्ताव बुझेका माधवले एमालेले धोका दिने मलाई थाहा छ भन्दै फर्केर फेरि बालुवाटारमा छिरे । 

बालुवाटारमा चार दलमात्र भएनन् त्यहाँ नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि थपियो । 

योसँगै पुस १० गते टुक्रिएको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन त एक ठाउँमा उभियो नै थपियो उन्मुक्ति, जनमत र लोसपा पनि । 

कसरी सम्भव भयो त यो ? 
पुस १० को गठबन्धन टुक्राउनमा भूमिका खेल्ने बाहिरबाट हेर्दा प्रचण्ड देखिएका भए पनि कमजोरी भने नेपाली कांग्रेसले गरेको थियो । तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जिम्मा दिएका कांग्रेस नेताहरुले सही सल्लाह र निर्णय नगरेका कारण नै गठबन्धन टुक्रिएको भन्दै नेता कार्यकर्ताहरु आक्रोशित भए । 

हातमा रहेको सरकार छाडेर कांग्रेस प्रतिपक्षमा बस्नुपर्यो । त्यतिमात्र होइन सबै प्रदेश सरकारबाट कांग्रेसले हात धुनुपर्यो । आफैँले गराएको निर्वाचन, आफैँले नेतृत्व गरेको पाँच दलीय गठबन्धन अनि सरकार बनाउने बेलामा भने अन्तिम पाँच घण्टाको गडबडीले विपक्षमा बस्नुपर्ने अवस्था आउनु कांग्रेसका लागि विडम्बना थियो । 

त्यसको प्रमुख कारण थियो कांग्रेसका सक्षम र योग्य नेताहरुलाई देउवाले अगाडि पर्नै नदिनु । उनले भन्दा पनि उनलाई घेराबन्दीमा पारेर विश्वास गरेको नेताहरुका कारण यो परिस्थिति निम्तिएको थियो । 

पाँच दलीय गठबन्धन हुँदा छलफलमा कांग्रेस महामन्त्री गगनकुमार थापाहरुलाई निम्तो जाँदैनथ्यो । महामन्त्रीको नाताले पार्टीको गहन बैठकमा आफूलाई बोलाइन्छ भन्नेमा उनी हुन्थे । तर बोलाइँदैनथियो । 

उनले पार्टीको केन्द्रीय समिति बैठकमा यसबारे गुनासो पनि गरे । त्यतिबेला नै सभापति देउवाले फोन उठाउने गर्नुस् भनेर जवाफ पनि दिए । 

सायद देउवाले गगनलाई पनि बोलाउन भन्थे होला तर जिम्मा पाएका नेताहरुले देउवालाई गगनको फोन उठेन भन्ने रिपोर्टिङ गर्दा हुन् । सोही कारणले गगनको उपस्थिति कहिल्यै भएन । 

त्यतिबेला गठबन्धन टुट्दा गगनले गलत भएको बताएका थिए । गठबन्धन जोगाउनु पर्दथ्यो भनेर प्रतिक्रिया दिएका थिए । 

प्रतिपक्षमा बस्नुपर्दा देउवाले यो विषयलाई गम्भीरपूर्वक नियाले । उनले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापालाई अगाडि बढ्न भने । छलफलमा विश्वासको आधार बनाए । 

खड्का–थापाले आफ्नो भूमिका निभाए । गगनले दुई हप्ताअघि नै एमाले सम्मिलित सत्ता गठबन्धन फागुन दोस्रो साता नै टुट्ने बताएका थिए । उनले आधार देखेका थिए । पटक पटकका वार्ताबाट उनी गन्तव्यमा पुग्न सकिन्छ भन्नेमा विश्वस्त थिए । 

सभापति देउवाले पटक पटक भोगेको धोकापछि जब गगनलाई अगाडि बढाए तब उनी निष्कर्षमा पुग्न सफल भए । यो उनकोमात्र हैन सिङ्गो कांग्रेसको जित भएकोसमेत विश्लेषण भइरहेको छ । 

यसले कांग्रेसी नेता तथा कार्यकर्तालाई उत्साही बनाएको बुझ्न सकिन्छ । जब पुस १० पछिको सत्तागठबन्धन बन्यो तब एमाले एक्कासी सरकारमा आयो र सभामुखसमेत लग्यो । 

प्रचण्ड पनि कांग्रेसको साथ चाहन्थे । विश्वासी र दरिला नेता चाहन्थे जो आफ्नो बोली वचनबाट पछाडि नहटुन् । यसपालि उनले पनि गगनहरुलाई पाए । 

पटक पटक धोका पाएकाहरुबाट आजित देउवाले पहिलो पटक खड्का र थापालाई दिएको संयुक्त जिम्मेवारीलाई गन्तव्यमा पुर्याएरै छाडे । 

यसबाट देउवाले पनि आफ्नो ओझ बढाएका छन् । पार्टीभित्रको गुटउपगुटको चक्रलाई केही हदसम्म भए पनि सन्तुलन राख्न सफल भएका छन् । 

कांग्रेसको निराशालाई आशामा बदल्ने काम पूर्ण–गगनले गरेर देखाइदिएका छन् । कांग्रेसबाट टाढिँदै गरेको राष्ट्रपतिको पदलाई बचाउन सफल भएका छन् । 

अब देउवाले प्रचण्ड नेतृत्वको सरकारमा जाँदै गर्दा सन्तुलित र व्यवहारिक रुपमा सरसल्लाहबाटै जानेछन् भन्नेमा द्धिविधा रहेन । 

गगनले शुक्रबार बेलुकी नै आठ दलीय गठबन्धनलाई जोगाएर लैजानु पर्नेमा जोड दिएका छन् । उनले राष्ट्रपतिको निर्वाचनसम्म मात्र हैन अब आगामी दिनहरुमा सशक्त भएर विकासको मार्गमा पूर्ण गठबन्धन गरेर जानुपर्छ भनेका छन् । 

आखिर दुई महिनाको कांग्रेसजनको पीडालाई पूर्ण–गगनले मल्हम लगाउने काम गरेका छन् । अबका दिनमा पनि उनीहरुले पार्टी विपद्मा परेका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेर आइपर्ने संकटमोचन गर्नेछन् भन्ने आशा गर्ने बनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ