arrow

उपप्रधानमन्त्री बन्ने योजना रच्दै उपेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आठ दलीय गठबन्धन निर्माण भएपछि त्यसमध्येको एक घटक जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव संसद छिर्ने कोसिसमा लागेका छन् । 

सप्तरी क्षेत्र नं २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका यादवले संसद छिर्ने प्रयासमा लागेका हुन् । उनी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने र ६ महिनाभित्र उपनिर्वाचनमार्फत संसदमा प्रवेश गर्ने तयारीमा लागेको स्रोतको दाबी छ । 

गत शुक्रबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति पद दिने भएपछि उपराष्ट्रपतिमा जाने सांसदको क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा उपेन्द्र लागेका छन् । 

उपराष्ट्रपतिमा रामसहाय यादवलाई पठाएर बाराको क्षेत्र नं २ बाट उपेन्द्रले चुनाव लड्न लागेका हुन् ।  

जसपा स्रोतका अनुसार उपेन्द्रले रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेका छन् । 

रामसहाय अध्यक्ष यादवसँग निकट मानिन्छन् । यही निकटताको कारण अध्यक्ष यादवले रामसहायलाई जसपाको संसदीय दलको नेतासमेत बनाएका छन ्। 

जबकि यादवपछि अशोक राई जसपाका दोस्रो नेता मानिन्छन् । तर अध्यक्ष यादवले राइलाई पन्छाएर रामसहायलाई संसदीय दलको नेता बनाएका थिए ।  

जसपाले उपराष्ट्रपति पद पाउने निश्चित भएपछि जसपाका अर्का सांसद नवलकिशोर साहले इच्छा देखाए पनि उपेन्द्रले बारा २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिने इच्छा देखाएपछि उनी चुपचाप छन् ।  

यसअघि नै अध्यक्ष यादवले त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलका शीर्ष नेताहरूसँग छलफल थिए ।  

नेपालको संविधानले नै राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुनुपर्ने भनी स्पष्ट उल्लेख भएपछि महिलाको स्थानमा फरक समुदायलाई पठाएर आफू त्यहाँबाट निर्वाचनमा सहभागी हुन लागेका हुन् । 

‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’, संविधानको धारा ७० मा उल्लेख छ । 

‘संविधानमा नै गरिएको यस व्यवस्थाले पनि उपराष्ट्रपति जसपालाई दिन प्रमुख दलहरू तयार भएका हुन्,’ स्रोत भन्छ । 

पछिल्लो समय उपेन्द्र एमाले–माओवादी केन्द्र नेतृत्वको गठबन्धनसँग असन्तुष्ट थिए । यही असन्तुष्टिको कारण उनले जसपाबाट कसैलाई सरकारमा पठाएका थिएनन् । 

शक्ति बाँडफाँटमा एमाले अध्यक्ष केपी शर्मा ओली तथा प्रधानमन्त्री प्रचण्डले जसपालाई पूरै बेवास्ता गरेपछि उनी चिँढिएका थिए ।  

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा अन्तिम समयमा उपेन्द्र तत्कालीन पाँच दलीय गठबन्धनबाट बाहिरिएर एमालेसँग सहकार्य गरेका थिए । 

एमालेसँगको सहकार्यबाट जसपालाई फाइदा नभएको, उल्टै एमालेले फाइदा उठाएको निष्कर्ष जसपाका नेताहरूले निकालेका थिए । 

पछिल्लो समय एमाले र माओवादी केन्द्रबीचको सम्बन्धमा खटपट हुन थालेपछि उपेन्द्र एमालेसँग टाढिँदै गएर आठ दलीय गठबन्धनमा सहभागी भई उपराष्ट्रपति पद सुरक्षित गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ