- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपालका गाउँ बस्तीमा पछिल्लो समय मौलिक पहिचान अन्तर्गत संस्कृति, रीतिरिवाज तथा खानपान लगायत लोप हुँदै गएका वेला संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्न बुटवलमा एक युवाले पहाडी मूलको मौलिकतालाई झल्काउँदै रैथाने परिकारको स्वाद चखाउने सङ्घर्षमा लागिपरेका छन् । जग्गा लिजमा लिएर करिब ७० लाख लागत भौतिक संरचना स्थापना गरी विगत ५ वर्षदेखि बुटवलमा रैथाने परिकारलाई ब्राण्ड बनाउने गरी सङ्घर्षरत प्लेटफर्म हो “मगर्स किचन” । सांस्कृतिक र प्राकृतिक दृष्टिका सौन्दर्यहरूलाई पर्यटकीय स्थलको रूपमा अवलोकन गर्नेहरूको माग बढ्दै गएको बुटवलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकीयहरूको गतिविधि बढ्दै गएको पाइन्छ ।
बुटवल उपमहानगरपालिका वडा न–९ तीनकुने नजिक एउटा सांस्कृतिक घरले बजारमा पुरानो संरचनालाई जोगाउने गरी सङ्घर्ष गरिरहेको छ । मगर्स किचनमा कोदोको ढिँडो, फापरको ढिँडो, मकैको आटो, सेलरोटी, बारा (बटुक), बिरम्ला (पहाडिया बोडी र झिल्टुङ्गको दालबाट निर्मित), चुकौनी, मगरी अचार, गुन्द्रुक, फापरको तावा रोटी, कोदोको तावा रोटी, मकै भट्ट, सिलौटामा पिसेको गोलभेडको चटनी, कोदोको मम: र सिस्नोको ममःका परिकारलाई प्राथमिकता दिँदै आएको किचनका सञ्चालक सञ्जय काउछाको भनाई छ ।
पूर्व होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष एवं उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले समुचित विकास र पर्यटन प्रवर्द्धन एवं प्रचारप्रसार हुन सकेमा मनग्य विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै, सरकार र निजी क्षेत्र मिलेर यस सम्बन्धी ठोस नीति, कार्यक्रम र योजना बनाउनुपर्ने बताउँदै पर्यटकहरूको आगमन बढाउन यस्ता घरहरूको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले भने, पर्यटकहरूको बसाई अवधि छोटो हुन्छ । पर्यटकहरूले मन पराउने खालका आकर्षक र उपयोगी सामग्रीहरूको उत्पादन पनि हामीसँग छैन । न, त पर्यटकहरूको लागि मुख रसाउने खालका खानेकुरा उत्पादन छन्, न त पहिचान महत्त्व बोकेका स्थान बनाइएको छ, त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औँल्याए ।
बुटवल उद्योग वाणिज्य सङ्घका उज्ज्वल कसजुले बुटवलमा खुलेको मगर्स किचनबाट आन्तरिक तथा बाह्य पर्यटकहरूको मनलाई लोभ्याउने खालका मौलिक नितान्त ग्रामीण स्तरमा रहेको संस्कृतिलाई झल्काएको बताउँदै, हाम्रा नयाँ पिँढीलाई त्यस्ता घरहरू मौलिक बस्तुहरूको संग्रालय बन्ने बताए । साथै उनले अर्को नेवा लहनाले पनि नेवारीको वैज्ञानिक परिकार पस्कँदै आएको जनाउँदै, राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जनाए ।
मगर्स किचन घरको प्रवेशद्वारमा बाँसको तगारो, ढुङ्गाको पर्खाल, ढुङ्गेधारा, ढिकी, जाँतो (झाँतो), सिलौटो, आगोको चुलो, आँगनमा डोको, कौसीमा मकैका झोता, सिउँ, लालटिन, मयन्टोल आदी सजाएर राखिएका छन् । मदानी, मधुस, टेपरिकर्ड, ठेकी, मादल, डम्फु, माहुरीको घार आदी पहाडी इलाकामा मगर समुदायका घरमा हुने सबै सामग्रीहरूको अवलोकन गर्न समेत पाइन्छ ।