arrow

दूरसञ्चारले गर्‍यो साइबर सुरक्षाका लागि दुई सय वेबसाइट ब्लक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २० शनिबार
nta-anniversary-nta-rajat-jayanti.jpg

काठमाडौं। शनिबार नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो स्थापना दिवसको अवसरमा २० औं वार्षिकोत्सव एवं रजत जयन्ती मनाएको छ। स्थापनाको २० वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रविधि विकासको हरेक क्षेत्रमा काम भइरहेको बताएका छन्।

उनले २०५३ सालको दूरसञ्चार ऐनलाई समय सापेक्ष बनाउनका लागि नयाँ मस्यौदा तयार पारिएको बताएका छन् । यस्तै उनले सूचना महामार्ग र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काम निरन्तर अघि बढिरहेको बताएका छन् ।

यस्तै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापनाका लागि पनि प्राधिकरणले प्रक्रिया अघि बढाएको बताएका छन् । खासगरी इन्टरनेटका अव्यवस्थित तारहरुले समस्याग्रस्त स्थिती समाधानका लागि दूरसञ्चार पूर्वाधार कम्पनीको प्रक्रिया अघि बढाइएको उनले बताए।

प्राधिकरणले अहिले फाइभ जी परीक्षणको दायरा बढाउनेतर्फ समेत ध्यान दिइरहेको अध्यक्ष खनालले बताए । यस्तै उनले भूउपग्रह नीति र इन्टरनेट सेवाका लागि नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने उद्देश्यका लागि ऐन र रणनीतिककामहरुका साथै परामर्श दाता छनोट गरी परामर्शदाताबाट प्रतिवेदन प्राप्त हुने अवस्थामा अहिले प्राधिकरण रहेको बताएका छन् ।

७७ जिल्लाका प्रमुख शहरहरुमा १ करोड भन्दा बढी मानिस फोरजी सेवाबाट लाभान्वित भएको उनले बताए। देशको सम्पूर्ण भूभागमा फोर जी सेवा विस्तारको वातावरण तयार भएको बताएका छन्। साइबर सुरक्षाका विषयमा आम मानिसमा सचेत गराउने क्षेत्रमा समेत प्राधिकरणले निरन्तर काम गर्दै आएको उनले बताएका छन्।

साइबर सुरक्षालाई नै लिएर विभिन्न निकायकाे सुझावमा करिब दुई सय वटा वेबसाइट बन्द गरिएको उनले बताएका छन्। उपभोक्ताहरुबाट मोबाइल सेवाको गुणस्तरीय सेवाको ह्रास आएको भन्दै उनले सेवा प्रदायक, सेवाग्राही या नियामक निकाय को गलत भन्दै प्रश्नसमेत गरेका छन्।

यस्तै उनले फोर जीसेवालाई अझैं दरिलो र गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका छन्। यस्तै उनले दुरसञ्चार सेवामा अवरोध गर्ने जोसुकैलाई पनि कडा कारबाहीको दायरमा ल्याउनु पर्ने बताएका छन्। यस्तै उनले व्यस्त क्षेत्र होटल, एयरपोर्ट जस्ता ठाउँमा इन्टरनेट सेवाको गुणस्तर मापनका लागि पनि काम हुने बताएका छन्।

प्राधिकरणको वार्षिकोत्सव समारोहमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दाे र सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी छिन् । उनले यसका लागि नीतिदेखि आवश्यक सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताएकी छिन् ।

यस्तै उनले दुरसञ्चार सेवाको नियमनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छिन् । प्राधिकरणबाट ग्रामिण दुरसञ्चार विकास कोषको प्रयोग गरी दुरसञ्चार सेवाको प्रभावकारी व्यवस्था गर्न आवश्यक रहेको उनले बताइन्।

यस्तै उनले दुरसञ्चार ऐन निकै पूरानो भएको बिषयमा समयानुकुल बनाउन मन्त्रालयमा निरन्तर छलफल भइरहेको बताइन्। नीतिगत तहमा गर्नुपर्ने हरेक सुधारका लागि मन्त्रालय तयार रहेको उनले बताइन्।

यस्तै सञ्चार मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले कानुनमा परिपालनाको बिषयमा चुकेका छौं कि भन्ने बिषय र संस्थागत सुशासनको विषयमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

यस्तै दूरसञ्चार क्षेत्रमा साइबर सेक्युरेटी, फेक आइडीलगायतका धेरै चुनौती रहेको बताउँदै यसलाई रिसर्च एण्ड डेभलपमेन्टको कोणबाट हेर्न आवश्यक रहेको बताउँदै यसका लागि अवस्थित र नयाँ जनशक्तिबाट यो विषय समाधान हुने अपेक्षा गरेका छन् ।

यस्तै उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई ग्लोबल अथवा वैश्विक मापदण्डको नियामक निकायका रुपमा विकासित गर्नुपर्ने बताएका छन् । यसका साथै उनले हरेक वर्ष वार्षिकोत्सवमा प्राधिकरणले आफ्ना गरेका कामहरुको विवरण प्रस्तुत गर्न सकोस् भन्ने आग्रह एवं अपेक्षा राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ