arrow

मुख्यमन्त्री शाहलाई दुई तिहाइ मत

logo
सुनील आउजी, 
प्रकाशित २०७९ फागुन २१ आइतबार
kamal-bahadur-shah-sururpachhim-parliament.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । शाहले दुई तिहाइभन्दा बढी मत पाएका हुन् । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ । 

शाहले ४१ मत पाएका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र स्वतन्त्रबाट निर्वाचित एक जना प्रदेश सभा सदस्यको मत पाएका हुन् ।

प्रदेश सभामा १० सदस्य रहेको नेकपा एमाले र एक सदस्य रहेको राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरे ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिङ रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि सविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतले गत २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

सरकारको नेतृत्वमा आलोपालोको लिखित सहमति हुनुपर्ने दाबी गर्दै आएको माओवादीले पार्टी केन्द्रको निर्देशनमा प्रदेश सभा बैठक शुरु हुनु केहीअघि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो । 

विश्वासको मत दिनका लागि टीकापुर घटनाका बन्दीको रिहा गर्ने लिखित सहमति हुनुपर्ने माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई मत दिएको छ ।  

लिखित सहमति गर्न तयार नभएको भन्दै नागरिक उन्मुक्तिले मत नदिएपछि यसअघि एमाले नेतृत्वको सरकार ढलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ