arrow

उपेन्द्रको नियतमा मधेस सशंकित, कहाँ पुग्ला रामसहायको प्रयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । जता मौका आउँछ उतै जाने मधेसवादी दलहरुको नियतिमा उपेन्द्र यादवको जसपा अग्रपंक्तिमा रहेको छ । तत्कालीन गठबन्धन रहेको जसपालाई अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ अघि एमालेसँग सहकार्य गराएका थिए । 

एमालेसँगको सहकार्यमा सप्तरी २ मा निर्वाचन लडेका यादवलाई जममत पार्टीका सीके राउतले हराएपछि उनको संसदीय यात्रामा तत्काललाई पूर्णविराम लागेको थियो । 

मंसिर ४ अघि एमालेसँग सहकार्य गर्दा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने पुस १० को एमाले–माओवादी गठबन्धनमा सहकार्य गरेका थिए । 

त्यतिबेला उपप्रधानमन्त्री मागेका यादवले नपाएपछि कांग्रेससहितको गठबन्धनमा सहभागी भएका छन् । अहिले उनी संसदीय यात्रामा छिर्ने बाटोको खोजीमात्रै गरेका छैनन् आफू अनुकुलका व्यक्तिलाई उपराष्ट्रपतिमा उठाएर उपनिर्वाचनमार्फत संसदमा आउने कोसिसमा लागेका छन् । 

तत्कालीन केपी शर्मा ओलीको सरकारलाई ढाल्ने र नेपाली कांग्रेससँग गठबन्धन गरी सरकारमासमेत रहेका थिए । त्यसपछि मंसिर ४ को निर्वाचनअघि सरकारबाट बाहिर निस्केर तत्कालीन गठबन्धनलाई धोका दिइ एमालेसँग मिलेका यादवले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा कांग्रैससहितको गठबन्धनमा सहभागी भए । 

त्यसको फलस्वरुप अध्यक्ष यादवले उपराष्ट्रपति पद बार्गेनिङ गरेका थिए । उपराष्ट्रपति पदका लागि दश दलीय गठबन्धनका दुई दल जसपा र जनमतबीच साझा उम्मेदवार उठाउने विषयमा सहमति नहुँदा गठबन्धनबाटै तीन जना उम्मेदवार भएका भए । 

त्यसमध्ये पनि दुई उम्मेदवार जसपाका छन् । यद्यपि प्रमिलाकुमारी यादवले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरिन् । औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने समय भने सकिएकाले उनको उम्मेदवारी कायम रहेको छ । 

उनले जसपाकै अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने जनाएकी छिन् । रामसहाय जसपा संसदीय दलको नेता हुन् । एमालेको सहयोगमा धरानबाट निर्वाचित जसपाका सिनियर नेता अशोक राई हुँदाहुँदै अध्यक्ष यादवले रामसहाय यादवलाई संसदीय दलको नेता बनाएका थिए । 

एमालेमा उपाध्यक्षसमेत भैसकेका राई जसपामा उपेन्द्र यादवको थिचाई र पेलाई सहेर बसिरहे पनि विद्रोह गर्न सकेका छैनन् । संसदीय दलको नेतामा अध्यक्ष यादवले रामसहाय यादवलाई चुनेपछि पनि उनी चुपाचाप बसे । यदि उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएमा अध्यक्ष यादव आफैँ उपनिर्वाचनमार्फत संसदमा प्रवेश गरेपछि संसदीय दलको नेता हुनेछन् । 

रामसहाय निर्वाचित भएको बारा–२ यादवको बाहुल्य क्षेत्र भएकाले पनि शुरुमा उनले यही क्षेत्र रोजेका थिए । गएको मंसिर ४ गतेको निर्वाचनमा रामसहायले १३ हजार ८२२ मत ल्याएर विजयी भएका थिए । 

उनलाई चुनावी गठबन्धनमा रहेको दल एमालेको साथ दिएको थियो । अहिले त्यो अवस्था छैन । रामसहायका निकटतम प्रतिद्वन्द्धी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका थिए । 

उनलाई गठबन्धनमा रहेका नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको थियो । अध्यक्ष यादव एकातिर कांग्रेसको बलमा उपराष्ट्रपति लिने र अर्कोतिर बारा २ बाट निर्वाचित हुँदै संसदमा आएपछि उपप्रधानमन्त्री लिने दोहोरो दाउमा लागेका छन् । 

‘अहिलेसम्म कांग्रेसलाई धोका दिएको अवस्थामा यादवलाई कांग्रेसले सहयोग गर्नुपर्ने कुनै पनि कारण छैन, तर गठबन्धन हो एमालेकी अष्टलक्ष्मीलाई हराएर रामसहाय यादवलाई मत दिने अवस्था छ’, कांग्रेसका एक पदाधिकारीले भने । 

उनका अनुसार विगतमा कांग्रेसलाई धोका दिएका कारण अब पनि उनले धोका नदेलान् भन्ने अवस्था भने छैन । ‘उपेन्द्रजीले विगतमा धोका दिनु भएको छ अब पनि धोका नदिने कुनै आधार छैन,’ ती पदाधिकारीको दाबी छ । 

जसपाले उपराष्ट्रपतिको दाबी नछाडेपछि गठबन्धनमा सामेल जनमतले पनि उम्मेदवार उठाएको छ । जनमतबाट ममता झा र विपक्षी दल एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । 

मधेसमा अहिले जसपा एक्लिएको छ । जनमत, नागरिक उन्मुक्ति र महन्थ ठाकुरको लोसपा भने जसपाको पक्षमा छैनन् । उनीहरुले जनमत पार्टीकी ममता झालाई मत दिने बताइसकेका छन् । 

‘मधेसमा राजनीति गर्ने दलहरु नै विभाजित भएको बेला परिणाम बदलिन पनि सक्छ । महिला, जनजातिको प्रसंग पनि उठेको छ त्यसकारण अहिलेको अवस्थामा उपराष्ट्रपतिमा परिणाम परिवर्तन हुन सक्ने संभावना पनि रहेको छ’, गठबन्धन दलका एक नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ