arrow

लुम्बिनी प्रदेश

सरकार परिवर्तनको सङ्केत, माओवादीले समर्थन फिर्ता लिने

logo
नारायण वली,
प्रकाशित २०७९ चैत २ बिहिबार
mukhyamantri office dang.jpg

रुपन्देही । जतिबेला केन्द्रीय राजनीतिमा उथलपुथल आउँछ, त्यति नै असर प्रदेश सरकारमा देखा पर्छ । कहिले प्रधानमन्त्री कुन दलको कसलाई बनाउने समीकरणमा त, कहिले राष्ट्रपति एवं उपराष्ट्रपति चुन्ने बेला । यस्तै संकटतामा परेको छ लुम्बिनी प्रदेश । 

उपराष्ट्रपतिको छनौट प्रक्रियाको निर्वाचन नजिकिँदै गर्दा लुम्बिनीमा सरकार परिवर्तनको गृहकार्य शुरु हुन थालेको छ । जसले गर्दा हाल एमालेका नेता लिला गिरीको नेतृत्वमा बनेको प्रदेश सरकार सङ्कटमा पर्ने देखिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनपछि लुम्बिनीमा भएको गिरी नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने गृहकार्य चलिरहेको बताइएको छ। केन्द्रीय राजनीतिक  समीकरण अनुसार प्रदेशका दलहरूले सरकार फेरबदल बारेमा छलफल गर्दै आएको स्रोतले जनाएको छ । 

उपराष्ट्रपतिको निर्वाचन सकिएपछि माओवादी सहितका दलहरूले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताएका छन्। उनले भने, सरकार परिवर्तनबारे प्रयास हुनेछ । सम्भवतः चैतको पहिलो साताभित्र समर्थन फिर्ता लिने तयारी रहेको उनले बताए । 

लुम्बिनी सरकारको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति, लोपसा र जसपा लगायत ८ दल रहेका छन् । तर  राप्रपाले भने अहिलेसम्म एमालेलाई साथ दिने जनाएको छ । समर्थन फिर्ता लिएपछि नैतिकताको आधारमा मुख्यमन्त्री लिला गिरीले राजीनामा दिने विश्वास दलहरूको छ । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीले पनि चैत ७ गतेभित्रै प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी रहेको बुझिएको छ। यस बिषयमा नेता चौधरीलाई सम्पर्क गर्दा मोबाइल स्विच अफ भएकाले निकट स्रोतले उद्धृत गरेको छ । माओवादीसहित साना दलले समर्थन फिर्ता लिएमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

यता राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले भने राप्रपाले एमालेको साथ नछोड्ने बताए । उनका अनुसार आफूहरू यही सरकारलाई साथ दिने बताउँदै वर्तमान सरकारलाई नै निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पारे। लुम्बिनीमा एमालेको २९ र राप्रपाको ४ सिट छ । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सिट आवश्यक हुन्छ । 

लुम्बिनीमा जम्मा ८७ जना सांसदहरू छन् । नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, नेकपा एमाले २९, जसपा ३, नागरिक उन्मुक्ति ४, लोसपा ३, जनमत पार्टी ३, स्वतन्त्र २, राष्ट्रिय जनमोर्चा पार्टी १ र एकीकृत समाजवादी पार्टी १ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ