arrow

कागजमा बुटवल सफा शहर, व्यवहारमा फोहरको डंगुर

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ८ बुधबार
bayo gas plant-05.jpg

रुपन्देही । उद्यौगिक हब तथा आवासिय क्षेत्रको रुपमा विकसित हुँदै गएको रुपन्देहीको बुटवल शहर तराईका छिमेकी एवं पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लाहरुको प्रमुख व्यापारिकस्थलको रुपमा परिचित छ । शहर बढ्दो जनघनत्वसँगै फोहर व्यवस्थापनमा निकै अव्यवस्थित बनेको बुटवलमा दैनिक ५३ मेक्ट्रिक टनभन्दा धेरै फोहर उत्पादन हुने र उक्त फोहरलाई बस्ती नजिक तिनाउ नदीको किनारमा फालिँदै आइएको छ । 

पाँच वर्षसम्म लुम्बिनी प्रदेश सरकारको मुकाम बनेको बुटवलमा दीर्घकालीन फोहर व्यवस्थापनको समस्या निकै जटिल बन्दै गएको छ । यसअघि बुटवल उपमहानगरपालिका वडा नं ११ हात्तीसुँढ बस्ती नजिक तिनाउ किनारमा फालिँदै आएकोमा त्यहाँका स्थानीयहरुले फोहर फाल्न रोक लगाएपछि अहिले ठाउँ परिवर्तन गरेर सोही वडाकै बुद्धनगर बस्ती नजिक बस्ती छेवैमा फालिँदै आइएको छ । बुटवललाई समृद्ध र सफा शहरको रुपमा चिनाउने उद्देश्य कागजमा लिए पनि जनप्रतिनिधिहरुले नगरको मूल समस्या समाधान गर्न सकेका छैनन् । 

यसअघि देवदह नगरपालिकामा पर्ने चरङ्गेमा दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने भनेर डीपीआर गर्ने तयारी गरिएको बेला त्यहाँका स्थानीयहरुले विरोध जनाएपछि पुनः सैनामैना नगरपालिका र बुटवल उपमहानगरको सिमाना बनाउने गरी सर्वेक्षण भएको थियो ।

तर हालसम्म फोहर व्यवस्थापनका लागि कुनै प्रभावकारी काम भएको छैन । फोहरबाट मोहर कमाउन सकिने प्रशस्त उदाहरण भए पनि बुटवल उपमहानगरलाई त्यसतर्फ ध्यान नगएको र फोहोरको दुर्गन्धले निकै आजित भएको बुद्धनगरका एक स्थानीयले भने । उनले हावा चल्यो भने झन् गन्ध आउने र त्यसको प्रत्यक्ष गन्धबाट स्वास्थ्यमा असर पर्ने खतरामा रहेको दुखेसो सुनाए । 

बुटवल उपमहानगरपालिका फोहोर व्यवस्थापन तथा अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले उपमहानगरले व्यवस्थापनका लागि योजना प्रक्रियामा रहेको बताउँदै वडा नं १० मा दुईवटा वडाहरु ७ र ८ को फोहरलाई संकलन गरी प्राङ्गारिक कम्पोष्ट मल बनाउने गरी करिब २ करोड लगानी भइसकेको जनाउँदै मेसिनमार्फत् कम्पोष्ट मल बनाउने कार्यलाई सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । अन्य फोहरलाई पनि विस्तारै व्यवस्थापन गरिने उनले जनाए । 

यता दाङको घोराही उपमहानगरपालिकामा फोहरबाट ग्याँस उत्पादन गर्ने प्लान्टको निर्माण गरिएको छ । जिल्लामै पहिलो पटक फोहरबाट ग्याँस उत्पादन शुरु गरिए पनि तर आवश्यक मात्रामा फोहोर पाउन नसक्दा ग्याँस उत्पादन कार्यमा समस्या भएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठ बताए ।

उनले स्थानीयहरुले बायो ग्याँस प्रयोग गर्ने अवसर प्राप्त गरे पनि नियमित रुपमा चलाएर सेवा दिने कुरामा नसकेको जनाउँदै ग्याँस प्लान्टमा आवश्यक मात्रामा फोहर संकलन हुन नसकेको र फोहरबाट उत्पादित ग्याँस वितरणका लागि तयारी भए पनि ग्याँस वितरणमा ढिलाइ भइरहेको बताए ।

हाल खाना पकाउने एलपी ग्याँसभन्दा सस्तो रहेको बायो ग्याँसका लागि बुटवल उपमहानगरले फोहर बेचेर मोहोर कमाउन सक्ने पाइए पनि अव्यस्थित रुपमा फोहर फालिँदै आएको छ ।

ग्याँस प्लान्टका लागि दैनिक २० टन फोहोर आवश्यक पर्ने भए पनि अहिले आधा टन मात्रै फोहर उपलब्ध हुने गरेको प्लान्ट म्यानेटर श्रेष्ठले जनाए । फोहर नपाउँदा ग्याँस कम उत्पादन भएपछि अहिले गरुवागाउँका ३४ वटा घरमा परीक्षणका लागि ग्याँस वितरण गरिए पनि अहिले बन्द गरिएको छ ।

अहिले प्लान्टमा दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्याँस उत्पादन हुने गरेको प्लान्टले बताएको छ । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा करिब चार वर्ष अघिदेखि फोहरबाट ग्याँस उत्पादनका लागि कामको शुरुआत भएको थियो ।  सम्झौता अनुसार घोराही उपमहानगरपालिकाले संरचना निर्माणका लागि करिब ३ बिगाह जग्गा उपलब्ध गराएको छ । 

ग्याँस प्लान्ट २ हजार घनमिटरको रहेको छ । ग्याँस उत्पादनका २२ करोड भन्दा बढी लागत लागेको छ । पहिलो चरणमा ७ सय ५० घरघुरीसम्म पुर्याउने लक्ष्य रहे पनि पूरा हुन सकेको छैन । फोहरबाट ग्याँससँगै कम्पोष्ट मल उत्पादन गरिने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ