arrow

तिलोत्तमा भ्यु टावर

भ्यु टावरको लगानी बालुवामा पानी

वार्षिक ३६ लाख कमाउने लक्ष्यसहित उद्घाटन भएको एक वर्ष पुगिसक्दासमेत सञ्चालनमा आउन सकेन, आश्वासनको ३६ लाख घाटा

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ११ शनिबार
Tilottama-View Tower.jpg

रुपन्देही । वार्षिक करिब ३६ लाख रुपैयाँ आम्दानी हुने अपेक्षाका साथ निर्माण गरिएको “तिलोत्तमा भ्यु टावर” हेर्दा चिटिक्ट पारिएको छ । जो कोहीलाई पनि बाहिरबाट देख्दा टावरमा चढेर दृश्यावलोकन गर्ने हुटहुटी नै जाग्छ ।

तिलोत्तमा नगरपालिका वडा न–१ शंकरनगरस्थित वनवाटिकामा निर्मित तिलोत्तमा बहुउद्देश्यीय भ्यु टावरको उद्घाटन एक वर्ष अगाडि गरिसकिएको छ ।

सो क्रममा तिलोत्तमा नगरपालिकाका तत्कालीन नगरप्रमुख वासुदेव घिमिरेले बर्सेनि ३६ लाख रुपैयाँ आम्दानी दिने दाबी गरे । तर सोही भ्यु टावरको उद्घाटन भएको झण्डै एक वर्ष पुगिसक्दासमेत सञ्चालनमा आउन सकेको छैन । तत्कालीन मेयर हालका संघीय सांसद घिमिरेले दाबी गरेको भनाइअनुसार नगरपालिकाले ३६ लाख रुपैयाँ गुमाइसकेको छ ।

बर्सेनि लाखौं रुपैयाँ आम्दानी गुम्दै जाने योजनामा सरकारले हचुवाको भरमा बनाएको योजनाको हतारमा गरिएको उद्घाटन फगत बन्न पुगेको वनबाटिकामा घुम्न आएका बुटवलका निशान मगरले बताए ।

उनले भौतिक संरचना त ठड्याइएको तर त्यसबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने कार्यविधि स्पष्ट रुपमा पूर्वनिर्धारित नगर्नाले अहिले निर्माण भइसक्दासमेत प्रयोगविहीन हुँदा पर्यटकहरु निराश हुन परेको जनाए । उनले आफू भ्यु टावर बनेको छ रे भनेर त्यहाँबाट दृश्य अवलोकन गरेर मनोरञ्जन गर्ने भनेर आएको तर सोचे जस्तो यहाँ तयार भएको रहेनछ भने ।

स्थानीय पालिका तथा शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र वनबाटिकाले गरेको करोडौं लगानीको प्रतिफल पाउने आश कागलाई बेल पाक्यो हर्ष न विष्माद् जस्तै बन्न पुगेको छ ।

२०७४ साल चैत १५ गते शिलान्यास भएको भ्यु टावरको उद्घाटन ०७८ साल चैत १५ गते उद्घाटन गरिएको थियो । नगरपालिकाले आन्तरिक आम्दानीको स्रोतका लागि अपेक्षित गर्दै ११ तला भ्यू टावर निर्माणमा रकम खर्चिएको भए पनि शुरु गरेर आम्दानी लिन भने सकिरहेको छैन । 

कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको भ्यु टावर १३४ फिट उचाइ रहेको छ । १२ जना अट्ने क्षमतासहितको लिफ्ट जडान गरिएको छ । उक्त भ्यु टावर सञ्चालनको जिम्मा अनुपम निर्माण सेवाले पाएको छ ।

१० वर्षका लागि लिजमा सञ्चालन सम्झौता गरेको पाइएको छ । सञ्चालन ठेक्का पाएका निर्माण सेवाका सञ्चालक टोपबहादुर रायमाझीले भवन निर्माण पूर्णरुपमा सकिएको तर बगैंचालगायत संरचनाको काम निर्माण कम्पनी ठेकेदारले सम्पन्न नगरेकाले सञ्चालनमा ढिलाइ भएको बताए । 

२५ हजार १ सय २२ वर्गफिट क्षेत्रफलमा फैलिएको छ । भुइँतला ३ हजार ५ सय ९५ वर्गफिटमा छ । ८ वटा बाथरुमसहित सुविधाजनक कोठाहरु छन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य बन्न सक्ने सो भ्यु टावर सञ्चालनमा नआउँदा पर्यटकीय क्षेत्र ओझेलमा परेको छ । रेष्टुरेन्टदेखि स्विमिङ पुल, बाल उद्यान लगायत रमणीय स्थल, डिपार्टमेन्टल स्टोर, लाइब्रेरी लगायतका संरचना सञ्चालन गरिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ