arrow

अपराधमा चिनियाँ संलग्नता नेपालको टाउको दुखाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
chinese-haker-atm.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा पछिल्लो समय चिनियाँ नागरिकहरू पक्राउ पर्ने क्रम बढ्दै गएको छ । विभिन्न अपराधमा संलग्न चिनियाँहरू पक्राउ परेका समाचारहरू नेपाली मिडियाका नियमित कार्य भएका छन् । 

चिनियाँ नागरिकहरूको नेपालमा बसेर अपराध गर्नुको पछाडिको कारण अनुसन्धान हुन जरुरी देखिएको छ । पछिल्लो समय चिनियाँहरूको अपराधमा संलग्नता बढ्नुले नेपाल प्रहरीको व्यस्तता पनि बढेको छ। 

यसैगरी नेपाल सरकारको टाउको दुखाइ पनि बढेको छ। भूराजनीतिले अति नै महत्त्वपूर्ण रहेको चीनका नागरिक नेपालमा अपराध गतिविधिमा संलग्न हुनु सरकारको टाउको दुखाइ बढ्नु स्वभाविकै हो। 

पछिल्लो समय अनलाइन ठगी गरेको भनेर नौ चिनियाँ नागरिकहरू पक्राउ परेका थिए । सोझा नेपालीहरूलाई विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा ती चिनियाँहरू पक्राउ परेका हुन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसै साता पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको थियो ।

उनीहरूले व्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्सएपमार्फत चिनजान गरी अपरेसन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेका प्रहरीले जनाएको छ । 

उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएका थिए । उनीहरूबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री बरामद गरिएको थियो । 

पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं बस्ने बुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौं बुढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित नौ जना चिनियाँ नागरिक रहेका छन् । 

उनीहरूबाट १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गरिरहेको अनुसन्धानमा एक व्यक्तिले४७ लाख रुपियाँसम्म गुमाएको देखिन आएको छ। अपरेसन टिचरको नाममा ३० प्रतिशतसम्म फाइदाको लोभ देखाएर मानिसहरूलाई फसाउने गरिएको पाइएको छ।

व्हाट्सएप मार्फत टेलिग्राम एपमा संलग्न गरेर ठग्ने गरिएको पाएको छ। दैनिक करिब ३० प्रतिशत लगानी गर्न लगाउने र अर्को दिन ३० प्रतिशत नाफा बराबरको रकम लगानीकर्ताको खातामा पठाएर थप लगानीकर्ताहरू फसाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले पत्ता लगाएको छ। 

केही समय लगानीकर्तालाई नाफा दिएपछि लगानीकर्ताले थप लगानी गरेपछि एक जना नेपाली सरकारी अधिकृत बनेर उक्त खाता गैर कानूनी रहेको भन्दै खाता बन्द गराउने र नेपाली लगानीकर्ताले आफ्नो सबै लगानी गुमाउने गरेको पाइएको छ।  

ती पक्राउ परेका चिनियाँहरूलाई सञ्चारकर्मीमाझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध गरेका थिए । उनीहरूले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी नै गरे । हतकडीसहित बाहिर ल्याइएका उनीहरूले कार्यालय परिसरमा नै सुतेर विरोध जनाएका थिए ।

तस्बिर खिच्न खोज्नेलाई समेत उनीहरूले दुर्व्यवहार गर्न खोजेका थिए । अपराध अनुसन्धान कार्यालयले काठमाडौँको महादेवखोला र चण्डोलमा कार्यालय राखेर अनुसन्धान गरिरहेको छ ।

यसअघि ४९ वर्षीय चिनियाँ नागरिक नेपाली किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको जनाइएको छ।

ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका न्यू प्युरी एन्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनले नाबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौं बोलाई यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको थियो । 

उनको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका थिए । झापा, कास्कीलगायत जिल्लाबाट आएका छजना बालिकाको उद्धार गरिएको पनि उनले बताए । सीआईबीले उनीमाथि थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ ।

यसअघि पनि धेरै पटक चिनियाँहरू अपराधमा संलग्न पाइएको छ। नेपालमा एकै पटक धेरैको सङ्ख्यामा चिनियाँहरू पक्राउ परेको सन् २०१९मा हो। उक्त समयमा १ सय २२ चिनियाँलाई विभिन्न अपराधको आरोपमा पक्राउ गरिएको थियो। 

पर्यटक भिसामा नेपाल आएर घर भाडामा लिएर थुप्रै सङ्ख्यामा मोबाइल र कम्प्युटर राखी शङ्कास्पद रूपमा नियमित काम गर्ने गरेको पाइएपछि ती चिनियाँ नागरिकहरूलाई पक्राउ गरिएको थियो।

उनीहरू साइबर अपराध, अवैध हुन्डी, सम्पत्ति शुद्धीकरण, सट्टेबाजी र जुवाजस्ता काममा संलग्न भएको हुन सक्ने आशङ्का प्रहरीको थियो।
विभिन्न किसिमको अपराधमा चिनियाँ नागरिकहरूको संलग्नता बढ्दै जानुमा नेपालको चिनियाँ पर्यटकहरूलाई गरिएको भिसा शुल्क नलाग्ने नीति पनि प्रमुख रहेको एक प्रहरी अधिकृतले जनाएका छन् ।

उनका अनुसार चिनियाँहरू अनलाइन सट्टेबाजीमा सबैभन्दा बढी संलग्न रहेको पाइने गरिएको छ। नेपालमा बसेर तेस्रो मुलुकमा सट्टेबाजी गराउने गरेका चिनियाँहरू पक्राउ पर्ने गरेका छन् ।

पक्राउ परेका अधिकांश चिनियाँ नागरिकहरूले नेपालको अध्यागमन कानूनको मात्रै उल्लङ्घन गरेको हुँदा उनीहरूलाई नेपालमै कारबाही गर्ने आधार नरहेको हुनाले उनीहरूलाई चीन सरकारको जिम्मा लगाउने गरिएको छ। 

नेपालमा चिनियाँ जालो अनलाइन सट्टेबाजीदेखि तस्करीसम्म रहेको छ। डलर, सुन, वन्यजन्तु जस्ता चीजहरूको तस्करीमा पनि चिनियाँहरूको संलग्नता बढ्दै गएको छ। यसैगरी लागुऔषध, अवैध औषधीहरूमा समेत चिनियाँहरू पक्राउ पर्न थालेपछि नेपाल प्रहरीको टाउको दुखाइ बढ्दै गएको छ। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ