arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरलाई पक्रन गएको टोली आजसम्म उतै, राजनीतिको उच्च नेतृत्व पूरै तरंगित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg

काठमाडौं । एक साताअघि पक्राउ पूर्जी जारी गरिएका नेकपा एमालेका सचिव एवं टोपबहादुर रायमाझीको फरार रहेका छन् । प्रहरीले गत बुधबार नै उनलाई पक्राउ गर्न खोजे पनि बुटवलबाटै उनी फरार भएका थिए । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब बराबरको रकम ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद रायमाझीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनलाई पक्राउ नगर्न आग्रह गरेको छिटपुट आशंका गरिएको भए पनि यसमा पुष्टि गर्न सक्ने आधार छैन । यद्यपि उनी राजनीतिक आडमा लुकेको भन्ने बारेमा कुनै शंका छैन । 

केपी ओलीले रायमाझी आफैँ प्रहरीकोमा गएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने धारणा राखिसकेका छन् । यद्यपि रायमाझीले किन प्रहरीलाई सहयोग गरेका छैनन् भन्ने बारेमा केही खुलेको छैन । ‘

उनी काठमाडौंमा आइपुगेका छैनन्, जुन दिन उनी आउँछु भनेका थिए, त्यही दिनबाट उनी फरार भए । 

‘आज एक दिन अझै प्रहरीको टोली उतै छ, काठमाडौंको विमानस्थल र संभावित स्थानमा पनि प्रहरी तैनाथ छ, उहाँले सहयोग नगरी सुखै छैन’, काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो । 

नेकपा एमालेको नेताहरुले पनि उनलाई बचाउने विषयमा कुनै पनि धारणा राखेका छैनन् । पार्टी अध्यक्ष ओलीले मात्रै पहिले आफूलाई सत्तामा सहयोग गरेका कारण बचाउन खोजेको हो कि भन्ने आशंका गरेका हुन् । 

तर एमालेका नेताहरुले उनलाई बचाउने कुरामा कुनै धारणा नराखेको र प्रहरीलाई पक्राउ गर्न नेताहरु ग्रिन सिग्नल दिइसकेको स्रोतको दाबी छ । ‘हामीले उहाँलाई पक्राउ गर्नुहुन्न, भनेका छैनौँ, पक्राउ गरेर ल्याउ अनुसन्धान गर, त्यसमा नेकपा एमालेले सहयोग गर्छ, अपराधीलाई कारबाही गर्नुहुन्न, कोही पनि दोषी उम्किनु हुन्न भनेका छौँ’, एमालेका प्रमुख सचेतक पदम गिरीले भने ‘तर उनले एमालेका नेताहरुले लुकाएका छन् भन्ने जस्ता निराधार आरोप भने लगाउन्न पाइन्न, उहाँ यतिबेला हाम्रो सम्पर्कमा हुनुहुन्न ।’

गत बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेकाले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए । 

तर अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार भए पनि प्रहरीले उनलाई खोजी गर्न भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेको छ । 

भैरहवाबाट उहाँ हराउनु भएको हो, उहाँको मोबाइल स्वीच अफ हुँदा अन्तिम लोकेशन भैरहवा थियो’, स्रोतले भन्यो । 

अर्घाखाँचीको कार्यक्रम सकेर त्यसै दिन राति काठमाडौं आउने तयारीमा टिकट लिएका रायमाझी भैरहवाबाट फरार भएका थिए । उनले भैरहवाबाट काठमाडौं आउनका लागि प्लेनको टिकटसमेत काटेका भए पनि उनी एकाएक सम्पर्कविहीन भएका हुन् ।

 राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा पुगेको थियो । 

प्रहरीले उनको अंगरक्षक र गाडी चालकलाई काठमाडौंमै  छाडेर गएका कारण अंगरक्षकलाईसमेत उनी कहाँ छन् भन्ने जानकारी हुन सकेको छैन । 
यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । 

एमाले नेता रायमाझीका छोरा सन्दीप, सरकारका सचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए । 

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो । गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए ।  

पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो । अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो । 

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभइ नेपाली नागरिक रहेको खुलेको थियो । नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो ।

गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो । प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको गिरोहका नाइकेले एक अर्ब ठगी गरेपछि नेपाली राजनीति नै तरंगित भएको छ । 

राजनीतिको उच्च नेतृत्व पूरै तरंगित 
नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिको उच्च नेतृत्व पूरै तरंगित बनेको छ । खासगरी नेकपा एमालेका उपाध्यक्षसमेत रहेका रामबहादुर थापा बादल गृहमन्त्री भएको बेलामा यो प्रकरणमा सहभागी, सल्लाहकार र सचिव मुछिएपछि एमाले वृत्तमा ठूलो हलचल आएको थियो । 

त्यसमा पनि एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित सचिव नै फरार रहेको अवस्थामा सडक, सदन दुवैतिर यसको विरोध भएको छ । त्यतिमात्र होइन कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य, बालकृष्ण खाँण र उनकी पत्नी मञ्चु खाँण तथा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणा देउवाको समेत संलग्नता रहेको भन्दै अपुष्ट अडियो सार्वजनिक भएपछि थप तरंगित बनेको हो । 

पूर्व गृहमन्त्री खाँणले यो विषयमा आपत्ति जनाइसकेका छन् भने आरजू देउवाले पनि आफ्नो संलग्नता नभएको भन्दै सदनमै त्यसप्रति आपत्ति जनाइसकेकी छिन् । 

एमाले अध्यक्ष ओलीले दुई पटकसम्म प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि एमाले सचिव रायमाझीलाई जोगाउन लागिपरेको भन्दै राजनीतिक वृत्तमा हलचल पैदा भएको छ ।

आइतबारको संसदमासमेत एमालेका सांसदहरुले विषयान्तर गर्दै यसअघिका घटनाको पनि छानबिन गर्नुपर्ने माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ