arrow

बालकृष्णको मोबाइलमा शंकास्पद सामग्री भेटिएन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
balkrishna-khand-arrest1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँडको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला नपरेको प्रहरीले जनाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री खाँडको मोबाइलको रिपोर्ट आउँदा त्यस्तो शंकास्पद सामग्री फेला नपरेको हो । 

खाँडको साथबाट बरामद भएको मोबाइल जाँचका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो । डीएफएलले रिपोर्ट पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरण बारेको कुनै कुराकानी तथा प्रमाणहरु नभेटिएको भन्ने रिपोर्ट आएको परिसरका एसपी सिताराम रिजालले जानकारी दिए । 

उनका अनुसार पहिला मोबाइल फर्म्याट भएको त्यसको रिकभरका लागि पठाउँदा कुनै पनि सामग्री फेला नपरेको हो । ‘ खाँडको  मोबाइल फ्याक्ट्री रिसेट भएको थियो । त्यसपछि हामीले जाँचका लागि डीएफएलमा पठाएका थियौं । तर रिपोर्टमा कुनै पनि शंकास्पद विषयहरु देखा नपरेको रिपोर्ट आएको छ’, परिसरका प्रवक्तासमेत रहेका एसपी रिजालले भने । 

बैशाख २७ गते खाँडलाई चाबहिलको मैजुबहालस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । खाँडलाई पक्राउ गरेपछि प्रहरीले मोबाइल नियन्त्रणमा लिएको थियो । 

उक्त मोबाइलमा भुटानी शरणार्थी प्रकरणको गतिविधि नदेखिएपछि डिलेट तथा फर्म्याट गरेको हुन सक्ने भन्दै प्रहरीले जाँचका लागि पठाएको थियो । जाँच भएर आउँदा पनि केही नदेखिएपछि खाणले प्रमाण लुकाउन अर्को मोबाइल प्रयोग गरेको पनि हुनसक्ने प्रहरीको अनुमान भएपनि अहिलेसम्म अर्को मोबाइल भेटिएको छैन । 

मोबाइलको फ्याक्ट्री रिसेट भएको पाइएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बयानको क्रममा यस बारेसमेत सरकारी वकिलले खाँडलाई प्रश्न गरेका थिए । 

तर खाँडले आफू पुरानो पुस्ताको मान्छे भएकाले मोबाइलको प्राविधिक पक्षबारे जानकारी नभएको बताएका थिए । खाँडलाई नक्कली भुटानी शरणार्थी प्रकरणका विचौलिया केशव दुलाल र उनी गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेले बयानका क्रममा नाम लिएको आधारमा पक्राउ गरेको थियो । 

यसअघि पाण्डेको मोबाइलमा खाँडको म्यासेज भेटिएको थियो । उनले आफ्ना सहयोगी नरेन्द्र केसीलाई पनि पाँच लाख रुपैयाँ दिनु भनेर म्यासेज पठाएको भेटिएको प्रहरीले जनाएको थियो ।

प्रहरीले उनीमाथि लुकी अपराध संहिता, २०७४ को भाग २, परिच्छेद १ को दफा ५१ को उपदफा १ मा राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्न वा गराउन बन्देज गरिएको विषयमा मुद्धा सिफारिस गरेको छ । 

सोही दफाको उपदफा २ (क) मा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने कार्य राज्यविरुद्धका अपराध हुन् ।’ 

प्रहरीले हालसम्म पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमोलका सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतका ‘हाइ प्रोफाइल’लाई पक्राउ गरेको छ । 

त्यसबाहेक ठगीमा संलग्न नेता रायमाझीका छोरा सन्दीप, खाँडका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । 

गिरोहमा संलग्न एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक, नीरज राई, बेचन झा, केशव तुलाधर, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापा लगायत फरार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ