arrow

कीर्तिमानी आरोही हरिलाई राज्यले उचित सम्मान गर्नुपर्छ – अध्यक्ष तिमिल्सिना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
hari-budhamagar-mountainers-honour.jpg

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेका छन् । अध्यक्ष तिमिल्सिनाले उनकै कार्यालय सिंहदरबारमा बुधबार कीर्तिमानी आरोही बुढामगरसहित उनको टोलीलाई सम्मान गरेका हुन् । 

सम्मान गर्दै अध्यक्ष तिमिल्सिनाले बुढामगरले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर सबैको प्रेरणाको स्रोत भएको बताए । उनले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए । 

उनले भने,“ सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभुषण प्रदान गर्नुगर्छ । उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ ।”  

बुढामगरले सम्मान गरेपछि हिमाल चढ्न शुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुशी लागेको बताए । उनले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरुलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताए । 

शारीरिक अशक्त भएका व्यक्तिहरूलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाइ थियो । उनले भने,“ आज सम्मानित हुन पाउँदा निकै खुशी छु । यो मेरो मात्र नभइ सम्पूर्ण अपांगता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्नेकुरा यहाँबाट सन्देश गएको छ । पहिला ब्याण्ड हुँदा नेपालमा स्वागत छैन जस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्नेकुराको सन्देश दिएको छ । आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपांग भएका व्यक्तिहरूले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ।’ 

बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका हुन् । यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन् । 

(प्रोस्थेटिक) कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए । अपांगता भएकालाई सगरमाथा आरोहणमा प्रतिबन्ध लागेकामा पत्रकार माधव चम्लागाईले सर्वोच्च अदालतमा मुद्दा लडेर जितेका थिए । 

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ