arrow

आगामी आर्थिक वर्षको बजेट मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्नेतर्फ निर्देशित : अर्थमन्त्री महत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prakashsharan-mahat-budget-2080-02-15.jpg

काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्दै मुलुकको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकारको आगामी आर्थिक वर्षको बजेट निर्देशित रहेको बताए।

सोमबार सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री महतले आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा पछाडि परेका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई आर्थिक लाभको पहुँचतर्फ लैजाने विषयमा बजेट केन्द्रित गरेको बताए। उनले आगामी आर्थिक वर्षको बजेट मुलुकको समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ उल्लेख गरे।

अर्थमन्त्री महतले राजनीतिक दल, जनप्रतिनिधि, सार्वजनिक प्रशासन, सङ्घसंस्था, निजी क्षेत्र, नागरिक समाज, गैर आवासीय नेपाली, विकास साझेदार, सञ्चार जगत् र आम नागरिकको सहयोग र ऐक्यबद्धताबाट अर्थतन्त्रमा देखिएका विद्यमान चुनौती सामना गर्दै बजेटले लिएका लक्ष्य हासिल गर्न सकिने विश्वास समेत व्यक्त गरे। आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा आफूले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू हटाई जनतामा आशा र भरोसाको सञ्चार गर्ने जिम्मेवारी बोध गरेको पनि अर्थतन्त्र महतले बताए। उनले प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ, रुग्ण भएको उद्योग प्रवर्द्धन गर्ने, डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने, युवालाई मुलुक भित्रै आर्थिक गतिविधिमा आबद्ध हुन अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने तथा स्रोत र साधनको प्रभावकारी एवम् परिणाममुखी परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको बताए।

अर्थमन्त्री महतले भन्नु भयो, ‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल उच्च बनाउने र उच्च, दिगो एवम् फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित गरेको छु। आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा सीमान्तकृत तथा पछाडि परेका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई आर्थिक लाभको पहुँचमा पुर्‍याउनेतर्फ बजेट तथा कार्यक्रम लक्षित गरेको छु।

आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ। प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ, रुग्ण भएको उद्योग प्रवर्द्धन गर्ने, डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने, युवालाई मुलुक भित्रै आर्थिक गतिविधिमा आबद्ध हुन अभिप्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने, सार्वजनिक सम्पत्तिको जर्गेना गर्ने तथा स्रोत र साधनको प्रभावकारी एवम् परिणाममुखी परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको छ।

बजेट तर्जुमा गर्दा नेपालको संविधान, आवधिक योजना, दिगो विकास लक्ष्य, संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता उपर भएको छलफलको क्रममा माननीय सदस्यहरूबाट प्राप्त सुझावलाई मार्गदर्शनको रूपमा लिएको छु। यसै गरी प्रदेश र स्थानीय तह, राजनीतिक दल, सङ्घ, संस्था, विद्ध वर्ग, आम नागरिक, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगत् लगायत सबैबाट प्राप्त सुझावलाई समेत आधार बनाएको छु । मैले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू हटाई जनतामा आशा र भरोसाको सञ्चार गर्ने जिम्मेवारी बोध गरेको छु।

राजनीतिक दल, जनप्रतिनिधि, सार्वजनिक प्रशासन, सङ्घसंस्था, निजी क्षेत्र, नागरिक समाज, गैर आवासीय नेपाली, विकास साझेदार, सञ्चार जगत् र आम नागरिकको सहयोग र ऐक्यबद्धताबाट अर्थतन्त्रमा देखिएका विद्यमान चुनौती सामना गर्दै बजेटले लिएका लक्ष्य हासिल गर्न सकिने विश्वास लिएको छु।’

अर्थमन्त्री महतले जनतामा आशा र भरोसाको सञ्चार गराउन पनि आगामी आर्थिक वर्षको बजेट सफल हुने दाबी समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ