arrow

भन्सार एजेन्टहरु आन्दोलित

आठ हजार बढीको रोजगारी गुम्ने भएपछि भन्सार ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
TIA-custom-1.jpg.jpeg

काठमाडौं । भन्सार एजेन्टहरुले आज भन्सार कार्यालयमा काम ठप्प पारेका छन् । उनीहरुले भन्सार ठप्प पार्दा भन्सारबाट आयात हुन कठिनाइ भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमा पाँच लाख रोजगारी सिर्जना गर्ने बताइरहँदा भन्सार एजेन्टहरु भने आठ हजार बढीको रोजगारी खोस्ने काम भएको भन्दै भन्सार ठप्प पारेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक भन्सार एजेन्टले नेपालभरका भन्सार ठप्प पारेको दाबी गरे । 

उनले पहिले एक जना भन्सार एजेन्टले दुई प्रतिनिधि राख्न पाउने भन्ने भएकामा अहिले आएर प्रतिनिधि राख्न नपाउने भएपछि आफूहरुले आन्दोलन गर्नुपरेको बताए । 

प्रतिनिधि आफैँले एक ठाउँबाट मात्र काम गर्नुपर्ने र जहाजबाट सामान धेरै ठाउँबाट विभिन्न माध्यम भएर धेरै ग्राहकको आउने भएकाले एक जना हरेक ठाउँमा पुग्न सम्भव नहुँदा झन् सेवामा ढिलाइ हुने दाबी गरे । 

उनले भने, ‘सामान क्लियर गर्नका लागि कससे कम दुई जना प्रतिनिधि राखेपछि जुनसुकै भन्सारबाट काम छिटो छरितो गर्न पाइन्थ्यो । त्यो व्यवस्था थियो । अहिले त्यो सम्भव नभएपछि आन्दोलन गर्नुको विकल्प रहेन ।’

उनले प्रतिनिधिले पनि काममा सजिलो होस् भन्नका लागि एक दुई जना कर्मचारी राख्ने गरेको बताए । 

यसरी हेर्दा यदि भन्सार एजेन्टले मात्र काम गर्ने हो भने आठ हजारको रोजगारी खोसिने आन्दोलनमा उत्रिएका एजेन्टहरुको दाबी छ । 

त्रिभुवन विमानस्थलका ती एजेन्ट भन्छन्, ‘संशोधन भएर आएको भन्सार नियमावलीले रोजगारी सिर्जनाको सिष्टमलाई नै झन् तहसनहस भयो । उल्टै तिमीहरु काम छाड र विदेश जान्छौ भने अब लागे हुन्छ भनेर भन्नुपर्ने अवस्था आयो ।’

ती एजेन्ट भन्छन्, ‘यहाँ त दाल भातको सवाल आयो । त्यसैले अर्थमन्त्रीज्यू भारतबाट आएपछि आइतबार वार्ता गरेरमात्रै भन्सार खोल्नेछौं ।’

अहिले आठ सयको हाराहारीमा भन्सार एजेन्टहरु रहेका छन् । 
 
के भन्छ भन्सार विभाग ? 
भन्सार विभाग भने लोकसेवा पास गरेर आएका एजेन्ट सक्षम हुने भएकाले उनीहरुले नै काम गर्नुपर्छ भन्ने मान्यतामा रहेको छ । 

एक भन्सार अधिकृतले भने, ‘ऊ लोकसेवा पास गरेर आएको हुन्छ । ऊ सक्षम छ । तर उसले राख्ने प्रतिनिधि सक्षम हुने आधार छैन । विश्वास पनि हुँदैन । त्यसलाई नै कम गर्न खोजिएको हो ।’

विभाग स्रोतका अनुसार कानूनमा भन्सार एजेन्ट नै स्वयं उपस्थित हुनुपर्छ भन्ने कुरा छ । त्यसलाई पनि अहिले भन्सार ऐनमै डिजिटल रुपमा उसले घोषणा गरेकालाई आधिकारिक मान्यता दिने र फिजिकल रुपमै उपस्थित हुनुपर्छ भन्ने वाध्यात्मक अवस्था छैन । 

तर नियमावलीमा त्यस्तो परेका कारणले अप्ठेरो परेको उनको भनाइ छ । उनी भन्छन्, ‘यसलाई हामीले फुकाउँदैछौँ । आइतबारसम्ममा एउटा निर्णय हुन्छ । प्रतिनिधि रहँदैन एजेन्टहरुले डिजिटल्ली सम्प्रेषण गरेकालाई भन्सारले मान्ने भन्ने कुरा छ ।’ 

उनले भन्सार ठप्प भनेर त्यसो नभएको दाबी गरे । दैनिक अनुमानित एक अर्ब बराबरको राजस्व उठ्दै आएको छ । 

अर्थमन्त्री डा. महत अहिले भारत भ्रमणमा छन् । शनिबार साँझ उनी काठमाडौैं फर्कदैछन् । आइतबार छलफल गरी विषय टुंगिने बताइन्छ । 

तर यसरी एजेन्टमात्र राखेर उसले राख्न पाउने दुई जना प्रतिनिधि राख्न नपाउने र अन्य कर्मचारी पनि नहुने भएपछि नेपालमा थप बेरोजगार बढ्ने निश्चित छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ