arrow

सडक दुर्घटनामा शून्य अभियान

यातायातका साधनमा भन्दा पैदल यात्रीको मृत्यु हुने क्रम नौ गुणा बढी 

logo
बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० जेठ २० शनिबार
article-badriprakash-ojha-road-accident.jpg

विश्व इतिहासमा स्पेनिश इन्फ्लुएन्जाका कारण करिब ५० लाख मानिसको ज्यान गएको रेकर्ड छ । सन् १९१८ मा अमेरिकाको क्यान्सस राज्यबाट फैलिएको यो महामारीले अमेरिका तथा युरोपमा करिब ५० करोड मानिस थलिएका थिए । त्यस्तै दुईवटा विश्व युद्धमा पनि करिब एक करोड मानिसको ज्यान गएको थियो । 

सन् १९४० तिर विश्वको जनसंख्या करिब दुई अर्ब २५ करोडमात्र थियो । युद्ध तथा त्यसपछि फैलिएको भोकमरीका कारण विश्व जनसंख्याको तीन प्रतिशतले ज्यान गुमाए । सन् २०२० यता फैलिएको कोभिड महामारीका कारण हालसम्म करिब ७० लाख मानिसले ज्यान गुमाए । 

हाल विश्वमा मानिसको ज्यान लिने अर्को तत्व हो सडक । सडक सुरक्षा गतिलो नभएकै कारण विश्वमा वार्षिक १३ लाख मानिसको ज्यान जान्छ । करिब ५० लाख मानिस घाइते बन्दछन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हरेक २३ सेकेन्डमा सडक दुर्घटनाकै कारण एक जना मानिसको ज्यान जान्छ । दैनिक ३७ सय जनाले सडकमा ज्यान फाल्छन् । 

रेकर्डमा आएमध्ये पहिलो पटक सन् १८९६ मा बेलायतको लन्डनमा पैदल यात्रा गरिरहेकी मेरी ड्रिस्कोलको कारको ठक्करबाट ज्यान गएको थियो । त्यतिबेला विश्वमा अब यस किसिमको दुर्घटनाबाट मानिसको ज्यान नजाओस् भने प्रार्थना गरिएको थियो । तर परिणाम उल्टो आयो । हामी एक मिनेटमै तीन जनाको ज्यान गएको खबर सुन्न वाध्य छौं । सडकमा मारिनेमध्ये बालबालिका र ज्येष्ठ नागरिक बढी छन् । 

विश्व स्वास्थ्य संगठनको जनस्वास्थ्य विभागका निर्देशक एटिन क्रुगका अनुसार विश्वमा जनसंख्या वृद्धि हुँदै जाँदा सवारी साधनका उत्पादकहरु पनि तिव्र रुपमा बढे । समाजमा सडक तथा सवारी साधनलाई सुरक्षित बनाउने विषयमा खासै ध्यान दिइएन । पैदल यात्रा गर्ने र साइकल चालकलाई सडकमा प्राथमिकता दिने प्रचलनमा कमी आएका कारण मानिसको स्वास्थ्यमासमेत संकट थपियो । 

आज आएर सडक भनेको धनीमानीको पेवा जस्तै भयो । सडकमा पैदल हिँड्नेलाई कसैले गन्दैन । यातायातका साधन प्रयोग गर्नेले वातावरणमासमेत असर पार्दछ तर यसको खासै पर्वाह गरिँदैन । निजी सवारी साधनको प्रयोगकै कारण सडक जाम पनि हुन्छ । नेपालमा त निजी क्षेत्रबाट सञ्चालन गरिएका यातायातका साधन जसलाई हामी सार्वजनिक यातायातका साधन मान्दछौं, उनीहरुले पैदल यात्री, साइकल चालक, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त आदिलाई उचित स्थान दिने प्रचलन छैन । यदाकदा निजी सवारी चालकहरु भने यस कार्यमा सजक देखिन्छन् । 

मादक पदार्थ तथा लागू औषधको सेवन गरेर सवारी साधन चलाउन नदिने कदमलाई प्रहरीको निजी कामका रुपमा लिइन्छ । यसमा राज्यकोसमेत खासै चासो देखिँदैन । निजी क्षेत्र, नागरिक समाज, शैक्षिक संस्था, सार्वजनिक यातायातका सञ्चालक, पेशागत संघसंगठनहरु, नियामक निकाय, पर्यटन तथा होटल व्यवसायीहरुका छाता संगठन आदिले यस विषयमा चासो राख्नु अनिवार्य छ ।

विश्वका गरिब मुलुकहरुमा रोगव्याधले भन्दा बढी सडक दुर्घटनामा मानिसको ज्यान जान्छ । यस दुःखद तथ्यलाई न्यून पार्न संयुक्त राष्ट्रसंघले नियमित रुपमा प्रयास गर्दै आएको छ । यसै प्रयास स्वरुप राष्ट्रसंघले सन् २०११ देखि २०२० सम्मका लागि सडक सुरक्षा कार्ययोजना दशकका रुपमा घोषणा गरी सडक सुरक्षाका पाँच खम्बा लागू गर्नमा केन्द्रीत रहेको थियो । ती पाँच खम्बाहरु सडक सुरक्षा व्यवस्थापन,  सडक तथा यात्राको सुरक्षा, सुरक्षित सडक, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछि अपनाउनुपर्ने कदमहरु अथवा पोस्ट क्र्यास रेस्पोन्सेज पर्दछन् । 

सडक सुरक्षाका पाँच मध्येको चौथो खम्बा सुरक्षित सडक प्रयोगमा प्रभाव पार्ने तत्वहरुमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने, द्रूत गति, मोटरसाइकलमा हेलमेटको प्रयोगमा नैरास्यता, सुरक्षा पेटीको उपयोगमा कमी तथा सवारी साधनमा बालबालिकाका लागि छुट्टै सिटको व्यवस्था नगर्नु मूख्य रहेका छन् । 

करिव सय वर्षअघिदेखि विश्वमा मोटर जडित यातायातको साधन विकास तीव्र गतिमा गरियो । यसलाई सबैभन्दा सजिलो र सुविधायुक्त साधन मानियो । यसले गर्दा सबैभन्दा बढी आपतकालीन सेवा समयमै प्रदान गर्न सकिने भयो । तर यसको सबैभन्दा ठूलो दुःख भनेको विश्वमा सडक यातायातका कारण मानिसको ज्यान जानेक्रम बढ्यो । 

सेवा सुविधा सम्पन्न शहरका सडकहरु निजी सवारी साधनको अखडा बने । मानिसहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने खोजसहित कोभिड महामारीपछि बटुवा, साइकल चालक तथा अन्य स–साना सवारी साधनहरु चलाउने सडकमा सवारीको गति ३० किलोमिटर प्रतिघन्टाको सीमा तोकिएको छ । 

विश्वका नाम चलेका शहरहरु जस्तै अस्ट्रियाको ग्रेज, बेलायतको लन्डन, अमेरिकाको न्यूयोर्क र क्यानाडाको टोरोन्टोमा व्यस्त शहरी सडकमा नमूनाका रुपमा सवारी गति ३० किलोमिटर प्रतिघन्टा राख्दा दुर्घटनामा निकै कमी आयो । प्रतिघन्टा ३० किलोमिटरको गतिमा दौडेको सवारी साधनले बटुवालाई ठक्कर दिँदा उसको मृत्यु नै नहुन सक्छ अथवा सवारी साधन रोक्न पनि सकिन्छ, ठक्कर लागे पनि कम क्षति हुने तथ्यांकका आधारमा यो गति तोकिएको हो । 

यस नियमलाई विश्वका अधिकांश शहरहरुले लागू गर्न थालेका छन् । नेपालका राजमार्गहरुमा पनि यस्तो व्यवस्था भएका साइनबोर्डहरु देखिन्छन् । तर हाम्रा राजमार्गहरुमा शहरदेखि वनक्षेत्र सबैतिर प्रतिघन्टा ४० किलोमिटर लेखिएका बोर्ड भेटिन्छन् । त्यसको पछाडि वैज्ञानिक आधार नभएको विज्ञहरु बताउँछन् । यस्ता बोर्डहरु हचुवाका भरमा सुरक्षाकर्मीदेखि स्थानीय संघसंस्थाहरुले समेत राखेको पाइएको छ । 

संयुक्त राष्ट्रसंघले सन् २०११ देखि २१ सम्मको अनुभवका आधारमा २०२३ देखि २०३० सम्मका लागि सडक सुरक्षा दशकका रुपमा लिई विश्व सडक सुरक्षा कार्ययोजना नै तय गरेको छ । बटुवाको सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले मार्ग निर्देशन पनि तयार पारेको छ । 

यस निर्देशन अनुसार हिँड्ने बानीले मानिसको स्वास्थ्यमा सुधार, वातावरण तथा यातायात सेवामा सुधार आदि लाभ भए पनि सन् २०१६ मा मात्र विश्वमा तीन लाख १० हजार मानिसले ज्यान गुमाए । उक्त संख्या विश्वको उक्त वर्षको विश्वको मृत्युको २३ प्रतिशत हो । हरेक एक किलोमिटर यात्रा गर्दा यातायातका साधनमाभन्दा पैदल यात्रीको मृत्यु हुने क्रम नौ गुणा बढी छ । 

सबैभन्दा बढी मृत्युहरुमा अफ्रिकीहरु पर्दछन् । जहाँ विश्वमा सडकबाट ज्यान गुमाउनेको संख्या ४० प्रतिशत छ । दक्षिण एसियामा सबैभन्दा कम १४ प्रतिशत छ । यसै तथ्यलाई मध्यनजर गर्दै संगठनले अफ्रिकामै एक कार्यक्रमबीच यही मे ३ मा उक्त मार्गदर्शन सार्वजनिक गरेको छ । कार्यक्रममा उक्त क्षेत्रका १० मुलुकका यातायात मन्त्रीहरु सहभागी थिए । 

यसका लागि राज्यको चौथो अंगको पनि सहयोग लिने नीति विश्व स्वास्थ्य संगठनले लिएको छ । सन् २०२३ जनवरीमा संगठनले एसियाली विकास बैंकको सहयोगमा क्वालालम्पुरमा पत्रकारका लागि तीन दिने कार्यशाला आयोजना गरेको थियो । 

‘तपाईहरु जब सडक दुर्घटनाका कारक तथ्यांकहरु लिनुहुन्छ नि त्यतिबेला ती तथ्यांक कसले तयार पारेका हुन् भन्ने कुरा निस्कन्छ । तथ्यांक संकलकको व्यक्तिगत मनोवृत्ति तथ्यांकमा झल्किन्छ,’ पत्रकारलाई तालिम दिँदै एसियाली विकास बैंकका वरिष्ठ यातायात विशेषज्ञ डेभिड सेल्टनले भने, ‘अधिकांश देशमा सडक दुर्घटनाको तथ्यांक प्रहरीले व्यवस्थापन गर्छ र उसको मूख्य उद्देश्य पुराना घटनामाथि दोष थोपरेर हालको अवस्थामा सुधार आएको देखाउनुमा हो । उसले मानव भविष्य कता जाँदैछ भन्नेतर्फ खासै मतलब राख्दैन ।’ 

अधिकांश पत्रकारले प्रहरीले दिएको तथ्यांकमै आधारित रहेर समाचार संप्रेषण हुँदै आएको प्रतिक्रिया दिए । सेल्टनका अनुसार तथ्यांक नभइ मिथ्यांकलाई आधार मानेर समाचार संप्रेषण गर्ने हो भने समाधानको उपाय पनि तथ्यपरक हुँदैन । प्रहरीको मष्तिष्कमा चालक तथा पैदलयात्रीको व्यवहारका कारण सडक दुर्घटना हुन्छ भन्ने छाप छ । तर उसले गैरमानवीय कारण जस्तै सडक तथा सवारी साधनको अवस्थामाथि कम विचार गर्छ । 

विश्व स्वास्थ्य संगठनले मानवीय कमजोरीमाथि दोषमात्र लगाउने नभई सवारी साधन र सडक डिजाइन गर्दा नै सरक्षित उपाय अपनाउनु पर्नेमा जोड दिन्छ । भारतको नामी शैक्षिक संस्था आईआईटीस्थित यातायात व्यवस्था विभागका प्राध्यापक गितम तिवारीका अनुसार सडक दुर्घटनाको कुरा गर्दा मान्छेले स्वभाविक रुपमा गल्ती गर्छ र त दुर्घटना हुन्छ भन्ने असत्य कुरालाई सत्य सावित गर्ने प्रयास गरिन्छ । 

उनका अनुसार सडक दुर्घटना शून्य पार्न सकिन्छ । यसमा मानवीय र गैरमानवीय दुवै तत्वलाई उत्तिकै जिम्मेवार ठहर गर्नुपर्दछ । अथवा भनौं चालक र बटुवाको मात्र दोष हुँदैन, सडक र सवारी साधनको डिजाइनको पनि दुर्घटनामा उत्तिकै हात रहन्छ । 

एउटा घटना सुनाऊँ । इलामको चुलाचुली गाउँपालिकामा उत्पादन हुने सिमल तरुलमाथि म पोस्ट डक्टरेट अनुसन्धान गर्दैछु । म महिनामा एक साता अनिवार्य रुपमा उक्त पालिका जान्छु । एक पटक उक्त पालिकाले धनकुटामा रिफ्रेसमेन्ट तामिल राख्यो । हामी बसमा गयौं । बाटोमा बसको अगाडिको चक्का फुट्यो । सजिलै ठाउँ भएकाले हामीलाई कठिन भएन तर यसो हेर्दा बसको चक्काको घेरा खिइसकेको रहेछ । त्यस्तो पुरानो चक्का फेरेर लामो दूरीमा लानुपर्ने बस चालकलाई मतलब भएन । 

यसै प्रसंगमा एकजना साथीले भने, ‘अहिले त बस पनि फाइबरबाट बनाइन्छ । त्यसैले सामान्य दुर्घटनामा पनि बस कच्याककुचुक हुन्छ र मानिसको ज्यान जान्छ ।’ ‘पहिले बस धातुबाट बनेका हुन्थे, त्यसैले ससाना दुर्घटनामा मानिस मर्दैनथे तर अहिले फाइबरका बसमा धेरै मानिसको ज्यान जान्छ’, ती अपरिचितले भने । मलाई पनि हो जस्तै लाग्यो । 

नेपालमा सडक दुर्घटनाको तथ्यांक संकलन खासै भएको छैन । विश्व बैंकको सहयोगमा सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली स्थापना गरिए पनि प्रभावकारी हुन सकेन । त्यसलाई ब्युँताएर प्रयोगमा ल्याउने प्रयास जारी छ । इन्टरनेट सञ्जालमा खोज्दा पुराना तथ्यांकमात्र भेटिन्छ । विश्व बैंकका पूर्वउपाध्यक्ष हाट्विग सेफरका अनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपाल पनि सडक दुर्घटनामा निकै अघि छ । 

वर्षमा हुने १० हजारभन्दा बढी दुर्घटनामा दुई हजारभन्दा बढी मानिसले ज्यान गुमाउँछन् । सेफरले प्रहरीको तथ्यांकलाई उल्लेख गरेका छन् तर विश्व स्वास्थ्य संगठनले भने नेपालमा वार्षिक पाँच हजार मानिसको ज्यान सडक दुर्घटनामा जाने गरेको बताउँछ । पत्रपत्रिकाले सन् २०१८ को तथ्यांकलाई कोट गर्दै नेपालमा दैनिक सात जनाका दरले मानिसको ज्यान सडक दुर्घटनाले लिने समाचार संप्रेषण गरेका छन् । 

उनीहरुको तथ्यांक प्रहरीको स्रोतबाट प्राप्त थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांक पनि लिएर समाचार संप्रेषण गर्नुपर्दछ । यसबाट सही तथ्य बाहिर आउँछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ