arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

आजदेखि थुनछेक बहसः खाँडका तर्फबाट दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
balkrishna-khand-arrest1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरु हुँदैछ । पक्राउ परेर हिरासतमा रहेका १८ जनाको थुनछेक बहस हुन लागेको हो । 

यसैबीच हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् ।

खाँडको पक्षमा बहस गर्नु दुई पूर्व महान्यायाधिवक्ता र तीन नेपाल बार एशोसिएसनका अध्यक्षलगायतले बहस गर्ने भएका हुन् । 

जसअनुसार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका वरिष्ठ अधिवक्ताले बहस गर्नका लागि नाम टिपाएका छन् ।  

उता सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।

सबैका बयान सच्चिए 
ठगी मुद्दामा सबै प्रतिवादीले प्रहरीको भन्दा अदालतमा फरक बयान दिएका छन् । उनीहरुले प्रहरीमा दिएको बयानलाई पनि सच्याएका छन् । 

अदालतमा प्रहरीले आफूहरुलाई टर्चमा राखेको जबर्जस्ती बयान गराएको भन्दै अदालतसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी तथा सरकारी वकिलसँग भन्दा अदालतमा उनीहरूको बयान फरक परेको छ । 

खाँडले भुटानी शरणार्थी प्रकरणमा आफू विरुद्धको अभियोग राज्यले रचेको ‘षडयन्त्र’ भएको जिकिर गरेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिँदै खाँडले त्यस्तो जिकिर गरेका हुन् । 

‘मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन नियोजितरुपमा राज्यले रचेको षडयन्त्र हो ।’ भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहका योजनाकार केशवप्रसाद दुलालसँग आफ्नो चिनजान नभएको उनले दाबी गरेका छन् । 

बयानमा उनले भनेका छन्, ‘यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाउँ,’ उनले भनेका छन् । 

उनले आफू विद्यार्थी कालदेखिनै राजनीतिमा लागेकाले यस्तो कुरा सोच्न पनि नसक्ने बताएका छन् । ‘म विद्यार्थी कालदेखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि प्रतिबद्ध प्रजातन्त्र र जनअधिकार र स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको लागि संघर्ष गरेको व्यक्ति हुँ । प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्दा विभिन्न समयमा जेलनेल पनि गएको छु । राष्ट्र, राष्ट्रियता, राष्ट्रहित र राज्यविरुद्ध सोच्न पनि सक्दिनँ । म गाउँबाट आएको एउटा व्यक्ति आफ्नो मेहनत राष्ट्र र जनता प्रतिको समर्पण र प्रजातन्त्र प्राप्तिको प्रतिबद्धताले उठेको मान्छे हुँ । विद्यार्थीकालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुँदै नेपाल विद्यार्थी संघकी केन्द्रीय अध्यक्षको जिम्मेवारी, जनआन्दोलन २०४६ को समयमा सम्हालेको हुँ । मैले २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ’, उनले भने । 

उनले अगाडि भने, ‘२०४८ सालमा प्रतिनिधि सभाको सदस्य २०६४ साल र २०७० संविधान सभाको सदस्य, २०७४ मा प्रतिनिधि सभाको सदस्य तथा विभिन्न मितिमा चार पटकसम्म मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएँ । मैले पछिल्लो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानूनको पालना गर्दै देशमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको छु । म विभिन्न रोगहरूको निवारणको लागि नियमित औषधीहरू सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन । म ईश्वरमा विश्वास गर्दछु । धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्ने बारे सोच्न पनि सक्दिन ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ