arrow

सरकारले सांसदलाई हेप्ने भन्दै गगनले गरे बजेट प्रणालीमा सुधारको प्रस्ताव [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
gagan-thapa-2080-02-28.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन् । बजेट कार्यान्वयनका लागि कानून निर्माण गरेर अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै यसको कार्यान्वयन सुनिश्चित हुने उनको तर्क छ । 

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरुलाई हेप्ने गरेको गुनासोसमेत गरे । 

पार्लियामेन्ट सिष्टममा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुनेगरी अघि बढनुपर्ने उनले  बताए । 

महामन्त्री थापाले भने, ‘बजेट ल्याएपछि सरकारसँग बहुमत छ । जस्ताको तस्तै पास हुन्छ । डराउनै परेन । बजेट पनि अर्थ मन्त्रालयले लिएर आउँछ । यसको समीक्षा पनि अर्थ मन्त्रालयले लिएर आउँछ । अनि हामीहरुसँग सीमित ज्ञान हुन्छ । सीमित सूचना हुन्छ । यसको आधारमा यहाँ आएर बोल्दाखेरी कुण्डा पोख्छौं । गाली गर्छौं । तर तथ्य, तथ्यांकले गर्दा समात्नुपर्ने ठाउँमा समात्दैनौं । बजेट निर्माणमा हामी हामी सांसदहरुले व्यापक ढंगले काम गरेको नदेखेको हुनाले नागरिकहरुले हामीसँग मन्दिरमा गजुरको लागि पैसा माग्छन् । इनार खन्न पैसा माग्छन् । किनभने संसदमा त हामीले यहाँ टेबल मात्रै ठोकेको देखिरहेका हुन्छन् । हुन्छ, हुन्न भनेको मात्रै देखिरहेका हुन्छन् । अर्थ मन्त्रालय वा सरकार हामीसँग डराइराखेको देखिरहेको हुँदैन । स्रोत के मा खर्च गर्ने, कसरी खर्च गर्ने ? यावत कानून बनाउने अधिकार हामीसँग छ । त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौं । त्यो अधिकारको प्रयोग नगरेको हुनाले सरकारले हामीलाई हेप्छ । जे गरे पनि हुन्छ भन्छ । किनभने पार्लियामेन्ट सिष्टममा सरकारसँग जहिले पनि बहुमत हुन्छ । र, हामी कहाँ क्रस पार्टी काम गर्ने प्रचलन पनि छैन । त्यसैले माननीय सदस्यहरुलाई मेरो आग्रह चाँही यो बजेटत अव पास भएर जान्छ । मन्त्रीलाई पार्दिनु है भनेर भन्नु पर्ने अवस्था हामीले आफ्नो हातमा भएको अधिकार प्रयोग नगरेर भएको हो । बजेट प्रणालीमा सुधार गरौं ।’

महामन्त्री थापाले करको दर फेरफेर गर्नका लागि राजस्व बोर्डनै गठन गर्न उपयुक्त हुने धारणासमेत राखे । 

उनले बजेट अवास्तविक छ भन्ने कुरा अर्थमन्त्रीले पनि बुझेको भएकाले यो शुरु गरियो भने यसको परिणाम नराम्रो हुने भएकाले सोचेर सम्झेर अगाडि बढ्न पनि आग्रह गरे । 

आगामी आर्थिक वर्षको राजश्व पनि सोचेअनुसार नभेट्ने उनले बताए । 

उनले भने, ‘रातारात यो बदलिँदैन । आयात रोक्दा वैदेशिक मुद्रा त बढ्यो तर राजश्व घट्यो । अनुमानको यात्रा गलत बाटोबाट हिँडेजस्तो भयो ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ