arrow

कोशीमा नयाँ सरकार

काँग्रेस नेता थापा मुख्यमन्त्री नियुक्त, सानो आकारको मन्त्रिमण्डल बनाउने 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असार २१ बिहिबार
koshi-government-2080-03-21.jpg

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन भएको छ । गठबन्धन दलहरुले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार दाबी पेस गरेसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

खापुङले चार दिनको समय राखेर बहुमतको दाबीसहितको आह्वान गरेको समय सकिन केही समयअघि दलहरुले दाबी पेश गरेका थिए । खापुङले बिहीबार साँझ ५ बजेको समय राखेर दाबी पेश गर्न आग्रह गरेका थिए । त्यस लगत्तै उनले मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेका हुन् ।

गठबन्धन दलले संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाबमोजिम सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

९३ सदस्यीय प्रदेश सभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै सरकार गठनका लागि दावी पेस गरेका थिए । 

प्रदेश सभामा एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ जना प्रदेश सांसद रहेका छन् । एमालेले भने सभामुखसहितको दाबी नलिन प्रदेश प्रमुखलाई आग्रह गरेको थियो । 

यता, प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेपछि सानो आकारको मन्त्रिमण्डल गठन गरेर शपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने थापाले बताएका छन् । 

उनले राप्रपाको समर्थन लिन प्रयास जारी राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ