- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण झापाका विभिन्न स्थानहरूका सयौँ घर डुबानमा परेका छन् । वर्षाका कारण झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर १ सिमलबस्ती पूर्वका ३० वटा घर डुवानमा परेका छन् ।
त्यसैगरी झापा गाउँपालिका वडा नम्बर २ सडकबारीमा ठूलो कनकाई र सानो कनकाई नदीको पानी गाउँमा प्रवेश गरेपछि ३४ वटा घरहरू डुबानमा परेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छ्न् ।
बाह्रदशी गाउँपालिकाको वडा नं २ मा पर्ने अदुवा खोला बस्तीमा पस्दा त्यहाँस्थित सुकुम्बासी बस्तीका ४५ वटा घरहरु डुबानमा परेका छन् । सुकुम्बासी बस्तीका १ सय ५० जना बाढी पीडितहरूलाई नजिकैको दक्षिणेश्वर शिव मन्दिरमा अस्थायी बसोबासका लागि स्थानान्तरण गरिएको छ ।
उता नेपालको होचो भूभाग भनेर चिनिने कचनकवल गाउँपालिका (केचना) वडा नम्बर ४ मा पर्ने बयरवन र पोक्लावानमा मेची नदी पस्दा १ सय भन्दा धेरै घरहरू डुबानमा परेका छ्न् ।
त्यसैगरी वर्षाको कारण रतुवा खोलामा बाढी आएर गौरादह नगरपालिका वडा न ५ र ६ मा पर्ने भानुमार्ग पश्चिमतर्फको भूभाग डुबानमा परेको छ ।
सो क्षेत्रमा पर्ने खयरबारी, चप्रामारी पश्चिम डुबाटोली, टंगुवा, माहादेवस्थान, तेलियाडाँगी सिंहाडुब्बाका गाउँगरु पुरै डुबानमा परेका छन् ।
त्यसैगरी गौरादह नगरकै वडा न २ को कृषि क्याम्पस आसपास पूर्णरुपमा डुबेको छ । वडा नं ३ मा पर्ने बरगाछि जाम्बाडी लगायतका छेत्र डुबानमा पर्दा किसानले लगाएको धानबालीमा ठूलो नोक्सान पुगेको छ ।