arrow

रुपन्देहीमा राजस्व असुलीमा कमी

logo
नारायण वली,
प्रकाशित २०८० साउन १ सोमबार
Bhairahawa-bhansar_customs-Office-1.jpg

रुपन्देही । रुपन्देहीमा गत वर्षको तुलनामा यस वर्ष पूँजीगत खर्च बढेको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले सोमबार भैरहवामा आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा पूँजीगत खर्च बढेको जनाएको हो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा बिनियोजित रकमको ८८ प्रतिशत रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार जिल्लाका लागि आर्थिक वर्ष २०७९/०८० मा ४२ अर्ब २ करोड ६९ लाख ६३ हजार ४ सय ५१ रुपैयाँ बिनियोजित भएको र त्यसमध्ये चालु र पूँजीगत गरी कुल खर्च ८८ प्रतिशत अर्थात् ३७ अर्ब १ करोड ८१ लाख ५७ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको उल्लेख छ । 

आर्थिक वर्ष २०७९/०८० मा रुपन्देहीमा पूँजीगत खर्च ७१ प्रतिशत भएको बताईएको छ । पूँजीगत तर्फ ७ अर्ब १७ करोड ३५ लाख ९३ हजार ४ सय ४० रुपैयाँमध्ये ५ अर्ब ८ करोड ६० लाख ९९ हजार १ सय १२ रुपैयाँ खर्च भएको जनाइएको छ ।

उपलब्ध तथ्याङ्क अनुसार पूँजीगततर्फ असार महिनामा मात्रै कुल खर्चको ३०.७७ प्रतिशत अर्थात् २ अर्ब २० करोड ७० लाख ८० हजार ९ सय ५८ रुपैयाँ खर्च भएको छ । जिल्लामा पूँजीगततर्फ केही कम खर्च भएको देखिए पनि सन्तोषजनक नै मान्न नसकिने कार्यालय प्रमुख ज्ञवालीको भनाइ छ । उनले आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा पूँजीगत खर्चमा वृद्धि भएको बताए ।

उनले भने “आर्थिक वर्ष २०७८/०७९ मा रुपन्देहीमा ४६ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । स्थानीय तहमा चालु र पूँजीगत खर्च तर्फगरी सबैभन्दा बढी सियारी गाउँपालिकाले ८७.१५ प्रतिशत खर्च गरेको छ ।

सियारीले ७५ करोड ८८ लाख ५० हजार मध्ये ६६ करोड १३ लाख २१ हजार खर्च गरेको प्रमुख कोष नियन्त्रक ज्ञवालीले जनाए । जिल्लामा १६ वटा स्थानीय तहहरु रहेका छन् । जसमध्ये सबैभन्दा कम खर्च मर्चवारी गाउँपालिकाले गरेको छ ।

मर्चवारी गाउँपालिकाको कुल बजेट ५२ करोड २७ लाख २० हजार मध्ये ३३ करोड ७६ लाख ६७ हजार रुपैयाँ अर्थात् ६४.६० प्रतिशत मात्रै खर्च भएको छ ।

खर्च बढे पनि जिल्लामा गत वर्षको तुलनामा निकै कम राजस्व असुली भएको बताइएको छ । देशको दोस्रो ठूलो भन्सार मानिने भैरहवा भन्सारमा आयात निर्यात प्रभावित हुँदा रुपन्देहीमा गत वर्षको भन्दा पनि कम आम्दानी भएको तथ्यांङ्कले देखाएको छ ।

गत वर्षको भन्दा यस वर्ष आम्दानीको लक्ष्य बढी रहे पनि आम्दानी भने गत वर्ष भन्दा पनि कम भएको छ । जिल्लाको सबैभन्दा ठूलो आम्दानीको स्रोत भैरहवा भन्सार कार्यालयले नै लक्ष्य अनुसारको राजस्व असुल्न नसकेपछि आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा २९ प्रतिशतले राजस्वमा कमि आएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा रुपन्देहीमा १ खर्ब ४३ अर्ब ६४ करोड ५६ लाख ६० हजार २ सय ५१ रुपैयाँ ८४ पैसा राजस्व असुली भएकोमा यसको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा १ खर्ब २ अर्ब २२ करोड ३० लाख ३७ हजार ८ सय ९० रुपैयाँ ६३ पैसा मात्रै राजस्व असुली भएको प्रमुख कोष नियन्त्रणका प्रमुख ज्ञवालीले बताए । यस वर्ष गत वर्षको भन्दा ४१ अर्ब ४२ करोड २६ लाख २२ हजार ३ सय ६१ रुपैयाँ २१ पैसा कम राजस्व असुली भएको जनाइएको छ ।

यस्तै जिल्लामा हाल सबैभन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले असुल गरेको छ । भन्सारले ७६ अर्ब ८९ करोड ५ लाख ९८ हजार १ सय ८४ रुपैयाँ असुल गरेको कोष नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तै आन्तरिक राजस्व कार्यालय भैरहवाले पनि १२ अर्ब २३ करोड ८० लाख ७ हजार ४ सय ८४ रुपैयाँ र आन्तरिक राजस्व कार्यालय बुटवलले १० अर्ब ३६ करोड ३३ लाख ८ हजार २१ रुपैयाँ असुल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ