arrow

ढाडको नसा च्यापिदा देखिने लक्षण र यसको समाधान

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८० साउन ६ शनिबार
article-dr-kapilmani-kc-2080-04-06.jpg

ढाड दुख्ने समस्या हामीहरुमध्ये धेरैजसो मानिसहरुलाई हुने एउटा आम समस्या हो ।  यद्यपि ढाड दुख्ने र ढाडको नसा च्यापिने दुई फरक कुराहरु हुन् । कालान्तरमा ढाड दुख्ने समस्या भएका मानिसहरुलाई ढाडको नसा च्यापिने सम्भावना भए पनि त्यस्ता धेरै बिरामीहरु भेटिन्छन् जसको ढाड दुखाइ बिना नै ढाडको नसा च्यापिने अवस्था आउँदछ । 

ढाडको नसा च्यापिएका धेरै बिरामीहरुले सही सल्लाह नपाउँदा गलत उपचारको सिकार भएका धेरै उदाहरणहरु यत्रतत्र भेटिने हुनाले यो लेखको माध्यमबाट केही कुराहरु प्रष्ट पार्न चाहन्छु । ढाडको दुखाइ सरेर नितम्ब, तिघ्रा, पिँडौला हुँदै पैतालासम्म पुगेमा, झम झम गरेमा, पिँडौला र पैतालाको भागमा छोएको कम थाहा भएमा र कहिलेकाहिँ बुढी औँला र कुर्कुच्चाको जोर्नीमा कम पावर भएको महसुस गरेमा ढाडको नसा च्यापिएको हुनसक्छ। 

माथि उल्लेख गरिएका सबै लक्षणहरु एउटै बिरामीमा मात्र नदेखिन सक्छन् । यद्यपि दुखाइको मात्रा कहिलेकाहिँ यति धेरै हुन्छ कि बिरामीहरु रातमा सिधा भएर सुत्न, कोल्टे पर्किन सक्दैनन् । सिधा भएर हिँड्न सक्दैनन् । कहिलेकाहिँ दुखाइले गर्दा एमआरआई गर्न पनि नसक्ने अवस्थामा हुन्छन् । नसा च्यापिएको दुखाइ सामान्यतया कुनै पेनकिलर खाएर कम हुँदैन । कुनै कुनै बेला ढाडमा भएको कुरकुरे हड्डी (डिस्क) ले खुट्टातिर जाने धेरै नसाहरु एकै पटक च्यापेमा खुट्टाको सेन्स कम हुनुको साथै दिसा पिसाब नियन्त्रण गर्ने पावर पनि कम हुन सक्छ । जसलाई कौडा इकौना सिन्ड्रोम भनिन्छ । यो अवस्था सिर्जना भएमा यसलाई इमर्जेन्सी सर्जरी गर्नु पर्ने हुनसक्छ।

ढाडको नसा च्यापिने कारणहरुको चर्चा गर्दा धेरै तौल भएका, अग्लो कद भएका, झुकेर निहुरेर काम गर्ने, ठूलो-ठूलो लोड उचाल्ने, दिनभर टेबल कुर्चीमा काम गर्ने मानिसहरुलाई नसा च्यापिने सम्भावना बढी देखिएको छ । ढाडको नसा च्यापिने समस्या केही मात्रामा व‌ंशानुगत भएको पनि भेटिन्छ । यी सबै कारणहरुको एकमुष्ट चर्चा गर्दा धेरै तौल भएका अग्ला कदका मानिसहरु ढाडको नसा च्यापिने समस्याबाट सबैभन्दा बढी जोखिममा हुन्छन् ।

यो समस्याको विश्लेषण गरिरहँदा सबैभन्दा महत्वपूर्ण पाटो यसको उपचार पद्दतिको कुरा आउँदछ। यो रोगको उपचार एकदम सिधा हुँदा पनि धेरैजसो बिरामीहरु बाङ्गो बाटो हिँडिरहेका हुन्छन् र उनीहरु दीर्घ रोगी भएर बाँचिरहेका हुन्छन् । यसको एउटा  महत्वपूर्ण कारण हाम्रो देशमा विदेशमा जस्तै कमन प्रोटोकल अबलम्बन नगरेर जस्तो लाग्छ। 

न्यूरोसर्जनले अप्रेशन गर्नु पर्छ भन्ने, न्यूरोलोजिष्टले अप्रेशन गर्नु हुँदैन औषधिले ठीक हुन्छ भन्ने, अर्थोपेडिक सर्जनले अप्रेशन गरे पनि हुन्छ नगरे पनि हुन्छ भन्ने, फिजिओथेरापिष्टले सेकाइ गरेर ठीक हुन्छ भन्ने र अकुपंचरिष्टले अकुपन्चर गरेर मात्र ठीक हुन्छ भन्छन् भनेर धेरै बिरामीहरुको गुनासो छ । 

यो कुरा केही हदसम्म ठीक पनि हुनसक्छ । त्यसकारण एउटा कमन प्रोटोकलको आवश्यकता छ। ढाडको नसा च्यापिएका बिरामीहरुमध्ये ९० प्रतिशत बिरामीलाई उपयुक्त औषधि, फिजिओथेरापी, पोश्चर केयर र शरीरको तौल ब्यवस्थापनले ठीक हुन्छ । यद्यपि रोग पूर्णरुपमा ठीक हुनको लागि लामो समय लाग्ने हुनाले बिरामीहरुमा धैर्यताको निकै ठूलो खाँचो छ । बिरामीले १५ दिन औषधि सेवन गरेपछि अर्को उपचार पद्दति अवलम्बन गर्नु नै यो समस्याबाट झन् झन् दलदलमा फस्नु हो र रोग पूर्ण रुपमा ठीक नभएर दीर्घरोगीमा परिणत हुनु हो । 

यी कुराहरुको चर्चा गरिरहँदा कुनै कुनै परिस्थितिमा ढाडको नसा च्यापिएका बिरामीहरुलाई अपरेसन गर्नु पर्ने पनि हुन सक्छ। तीन महिना भन्दा बढी औषधि सेवन गर्दा दुखाइ कम नभएमा वा दुखाइ झन् बढेमा, खुट्टाको पावर कम हुँदै गएमा, मेरुदण्डको हड्डी स्लिप भएर अगाडि वा पछाडि सरेर निकै धेरै नस च्यापिएमा र अझ महत्वपूर्ण कुरा मेरुदण्डको नसा च्यापिएर दिसा पिसाब गर्ने नसामा असर गरेमा (जसलाई कौडा इकौना सिन्ड्रोम भनिन्छ) त्यस्तो अवस्थामा बिरामीहरुलाई अप्रेशन गर्ने सल्लाह दिनुपर्छ ।

ढाडको  नसा च्यापिँदा पेनकिलर औषधिको त्यति धेरै ठूलो भूमिका हुँदैन । त्यसकारण पेनकिलर टाइपको औषधि हाइडोजमा प्रेस्क्राइब गर्नुको सट्टा न्यूरोलाइटिक मेडिसिन जस्तै प्रिगाबालिन, दुलोक्जेटिन, गबापेण्टिन जस्ता औषधिहरु कम डोजबाट शुरु गरेर बिरामीहरुले सहन गरेसम्म उच्च डोजसम्म पुर्याउनु पर्छ । 

शुरुमा धेरै दुखाइ भएको अवस्थामा ट्रमाडोल र स्टेरोइड जस्ता औषधिहरु पनि केही समयको लागि खान सकिन्छ । तर यस्ता औषधिहरु डाक्टरको सल्लाहअनुसार मात्र सेवन गर्नु पर्दछ । (बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी बुटवलस्थित मर्सी सिटी अस्पतालसँगै देवदह मेडिकल कलेजमा आबद्द छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ