arrow

पहिरोले सिद्धबाबामा निर्माणाधीन सुरूङमार्गमा क्षति

logo
नारायण वली,
प्रकाशित २०८० साउन ९ मंगलबार
siddhababa surung-4.jpg

रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गमा क्षति पुगेको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धबाबा मन्दिर नजिक निर्माणाधीन टनेल पुरिएको छ ।

सुरुङ्ग मार्ग आयोजनाका इन्जिनियर युधिष्ठिर पन्थीले बुटवलतर्फको साइडमा निर्माण थालिएको टनेलमा ठूलो क्षति पुगेको बताएका छन् । इन्जिनियर पन्थीले आकार लिएको सुरूङमाथि पहिरोका कारण टर्नेल भत्किएको जनाए ।

सुरूङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । सुख्खा र वर्षातमा पनि पहिरो झरेर धेरै यात्रुहरुको मृत्यु हुने पाल्पाको तिनाउ गाउँपालिका वडा न–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो । 

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि मानवीय तथा भौतिक क्षति पुग्दै आएको थियो । जुन समस्यालाई समाधान गर्ने उपाय अनुसार उक्त १० अर्ब रूपैयाँ अनुमानित लागतमा सुरुङमार्ग बनाउने परियोजना शुरु गरिएको थियो ।

आयोजनाका अनुसार १ हजार १२६ मिटर लामो सुरूङ पाल्पाको दोभानबाट शुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । सुरूङमार्गको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।

स्वीस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । 

ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ । रातिको समयमा बाटो बन्द गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ