arrow

यात्रुलाई सीसीटीभी, विद्युतीय सवारीलाई चार्जिङ्ग प्वाइन्ट

logo
नारायण वली,
प्रकाशित २०८० साउन ११ बिहिबार
eletric charge point-2.jpg

रुपन्देही । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित हुँदै गएको छ । बसपार्कमा यात्रुहरुलाई फ्रि वाईफाई, निःशुल्क शौचालय र सुरक्षालाई ध्यानमा राख्दै लाईटको व्यवस्था गर्नुको साथै सीसीटीभीसमेत जडान गरिएको छ । 

बुधबार राति करिब ९ बजेतिर रात्री बसको पर्खाइमा बसपार्कभित्रको यात्रु सेटमा बसेका नेपालगञ्ज जाने यात्रुहरुले बसपार्कमा भएको बत्तीको उज्यालो र सीसीटीभीले गर्दा आफूहरु सुरक्षित महसुस बसेको बताउँदै यात्रुहरुका लागि गरेको व्यवस्था राम्रो लागेको बताए । 

यसअघि बसपार्कमा फोहरको थुप्रोले दुर्गन्धित र शौचालयमा शुल्क लाग्ने गर्दथ्यो । अहिले निःशुल्क शौचालयको सेवालाई विस्तार गरिएको छ भने दैनिक रुपमा फोहरलाई उपमहानगरले उठाउँदै आएको छ । जसले गर्दा पहिले भन्दा अहिले सफासुन्दर देखिएको छ । 

यसैबीचमा उपमहानगरले पेट्रोलियम पदार्थको चर्काे मूल्य र बेलाबखतमा हुने अभावले जन्माएको नयाँ प्रविधिका विद्युतीय सवारीहरुको संख्या पछिल्लो समय बुटवलमा बृद्धि हुँदै गएको मध्यनजर गर्दै विद्युतीय सवारीहरुलाई चार्ज गर्न सहज होस् भन्ने उद्देश्यले बसपार्कमा विद्युतीय स्टेशन राख्न स्थान उपलब्ध गराएसँगै हाल विद्युतीय सवारीहरुलाई चार्ज गर्न सजिलो भएको प्रयोगकर्ताहरुले बताएका छन् । 

डिजल र पेट्रोलबाट चल्ने गाडीहरु भन्दा विद्युतबाट चल्ने सवारीको इन्धनमा खर्च झण्डै तेब्बरले कमी हुने भएकाले विद्युतीय सवारीहरुलाई आवागमनमा चार्ज सकिएर रोकिनुपर्ने बाध्यताको अन्त्य गर्न उपमहानगरको योजनामा नेपाल विद्युत प्राधिकरणले विद्युतीय चार्जिङ्ग स्टेशन राखेको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवलको नयाँ बसपार्कमा करिब एक महिना अगाडि चार्जिङ्ग स्टेशन स्थापना गरिएको हो । नेपाल विद्युत प्राधिकरण काठमाण्डौँको १ करोड लागतमा दुई वटा विद्युतीय चार्जिङ्ग स्टेशन राखेको प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले बताएका छन् ।

बुटवलसहित देशका ५१ स्थानमा चार्जिङ्ग स्टेशन राखिएको र थप भैरहवामा पनि राख्ने तयारी अन्तिम चरण रहेको इन्जिनियर ज्ञवालीले जनाए । 

उनले एउटा चार्जिङ्ग स्टेशनबाट एकैपटक तीन वटा गाडीहरु चार्ज गर्न सकिने र दुईवटाबाट ६ वटा कारहरु चार्ज गर्न सकिने बताए । पेट्रोलबाट चल्ने सवारीले एक किलोमिटरमा १२ रुपैयाँ खर्च गर्छ भने चार्जिङ्ग बाट चल्ने सवारीले १ किलोमिटर गुड्दा एक रुपैयाँ मात्रै खर्च हुने बताए । विद्युतीय सवारी प्रयोगकर्ताहरुलाई प्रत्यक्ष फाइदा हुने उनले बताए । देशका विभिन्न स्थानमा यस्ता स्टेशन राखेको उनले जनाए ।

तीन वटा सवारीलाई एकै समयमा चार्ज गर्न मिल्ने १ सय ४२ क्षमता वाटको ट्रान्सफर्मर, एल्टी केवल, एक्सी लाईन र शुल्क भुक्तानीका लागि जडान गरिएको अत्याधुनिक मेसिन लगायत गरी प्रति प्वाइन्ट ५० हजारका दरले कूल १ करोड लगानी लागेको उल्लेख गरे ।

आधा घण्टामै चार्ज हुने गरेको गाडी चार्ज गर्न आएका एक गाडी चालक सुरज मगरले बताए । उनले विद्युतीय सवारी चलाउन निकै फाइदा रहेको अनुभव सुनाए ।

उनले थपे, मैले विगत ६ वर्षदेखि गाडी चलाउँदै आएको छु । डिजल, पेट्रोलवाला गाडी पनि चलाएँ । त्यसमा र विद्युतीयमा धेरै अन्तर लाग्यो ।' इन्धनमा धेरै पैसा बचत हुने अनुभव सुनाए । 

अर्का विद्युतीय गाडी धनी एकराज पोख्रेलले आफूले पहिले पेट्रोलबाट चल्ने सवारी चलाउँदा र अहिले विद्युतीय सवारी चलाउँदा इन्धनमा हुने खर्च पेट्रोलको अनुपातमा न्यून रहेको र विद्युतीय सवारी चलाउँदा खर्च बचत हुने जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ