arrow

ढोरबाराहीमा पर्यटकको आकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १७ बुधबार
dhorbarahi.jpg
तस्वीर-फाइल

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन त्यहाँको कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ ।

बच्चालाई कुण्डमा डुबाउनुको रहस्य भने अचम्मको छ ।

लामो समयसम्म बच्चाको बोली नफुुटेका अवस्थामा मन्दिरको दर्शन गराएर बच्चालाई त्यहाँको कुण्डमा डुबाएर निकालेपछि बोल्छन् भन्ने विश्वासका कारण पछिल्लो समयमा टाढा-टाढाबाट बालबच्चा लिएर अभिभावक मन्दिरमा पुग्ने गरेको मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले जानकारी दिए ।

“बच्चा नबोलेको भन्दै मन्दिरमा दैनिक न्यूनतम एक-दुई जनादेखि १२-१५ जनासम्म बच्चा लिएर आउने गरेका छन्”, उनले भने, “मन्दिरको दर्शन गरी कुण्डमा डुबाएर लगेपछि यहाँ आउनेमध्ये अधिकांशको बोल्ने आउने गरेको पाइएको छ ।”

बोली खुलाउनका लागि कैयौँ स्थानमा उपचार गरेर सम्भव नभएका पनि यहाँ आएर दर्शन गरेसँगै बोल्ने गरेको विश्वासका कारण मन्दिरप्रतिको आस्था अझै बढेको छ ।

बोली नखुलेर पूजा गरी गएका अभिभावकहरू बच्चा बोलेपछि पुनः दर्शनका लागि आउने गरेका कारण पनि विश्वास झन्-झन् बढ्दै गएको उल्लेख गर्दै उनले पछिल्ला समयमा सञ्चारमाध्यमबाट हुने गरेको प्रचार-प्रसारले पनि मन्दिरप्रतिको आस्था अझै जगाएको बताए ।

चारैतर्फ वनजङ्गलले घेरिएको पहाडको बीचमा रहेको यस मन्दिर र परिसरमा नै रहेको रहस्यात्मक लहरी आउने पानीको कुण्ड यहाँको विशिष्टता हो ।

बराहलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिएको छ ।

मन्दिर स्थापनाको यकिन तथ्य फेला नपरे पनि प्राचीनकालदेखि नै यसको अस्तित्व रहँदै आएको पाइएको छ ।

स्कन्दपुराणको हिमवत्खण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएका कारण पनि यसको महिमा र गरिमा चुलिएको छ ।

मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घन्टमध्ये एउटामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको पुजारी लम्सालको भनाइ छ ।

त्यसअघिका अन्य प्रमाण भने फेला नपरेको उनले बताए ।

मन्दिरमा प्रत्येक नयाँ वर्षको दिन, बडादसैँ, चैतेदसैँको दुर्गा पक्ष, श्रीपञ्चमीका साथै अन्य तिथि र पर्वमा ठूलो सङ्ख्यामा भीड लाग्ने गरेको छ ।

मन्दिरमा बोका, राँगाको बलि दिइन्छ भने परेवा उडाउने प्रचलन छ ।

मन्दिरमा एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर भने बलि दिइँदैन ।

ती दिनमा अन्य नियमति पूजाआजा भने गरिन्छ ।

मन्दिरमा तनहुँसँगै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । बोली नखुलेका बच्चाको बोली आउने विश्वासका कारण पछिल्ला समयमा टाढा-टाढाबाट दर्शनार्थी आउने गरेको पुजारी लम्सालले बताए ।

विदेशमा विभिन्न सेवा पेसाका क्रममा गएका व्यक्तिहरू पनि बच्चाको बोली नखुलेपछि नेपालमा फर्केर ढोरबाराहीको दर्शन गर्ने गरेका छन् ।

मन्दिर परिसरमा रहेको कुण्डमा रहस्यात्मक लहरी (पानी घटबढ हुने) छुट्नु यहाँको अर्र्को विशिष्टता हो । परिसरमा लगभग १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुईवटा शिला छन् ।

सामान्यतः पन्ध्र मिनेटदेखि आधा घन्टाको अन्तरालमा छुट्ने लहरीलाई धार्मिक आस्था विश्वाससँग जोडेर हेरिन्छ ।

लहरी चलेर एकैक्षणमा भरिने पानीको कुण्ड क्षणभरमा नै सुक्ने गर्दछ ।

लहरी चलेका बेलामा गरिने पूजाआजालाई अझै महत्वका साथ हेर्ने गरिएको छ ।

नबोल्ने बच्चालाई मन्दिरमा दर्शन गराए लहरी चलेका बेलामा कुण्डमा डुबाएर निकाल्ने प्रचलन छ ।

ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने धार्मिक कथन एवं यहाँ छुट्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रूपमा लिइने गरिएको छ ।

लहरी छुट्ने मुख्यद्वारमा बस्ने रजबामलाई साक्षत् बराह भगवानका रूपमा लिने गरिन्छ ।

लहरीका क्रममा मात्रै देखिने रजवामको दर्शनलाई भक्तजनले शौभाग्यका रूपमा लिने गरेका छन् ।

हिउँदयाममा केही समय लहरी नछुट्ने र त्यस समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने किंवदन्ती पनि चल्दै आएको छ ।

ढोरबराहप्रतिको आस्था र विश्वास बढ्दै गएका अवस्थामा स्थानीय युवाहरू पनि यहाँको संरक्षण र विकासमा लागिपरेका छन् ।

ढोरबराह क्षेत्रको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सम्बद्ध क्षेत्रमा निरन्तर खबरदारी गर्दैै आइएको फिर्दी युनाइटेड क्लबका सचिव मनोज बानियाँले बताए ।

ढोरबराह मन्दिरप्रतिको धार्मिक पर्यटकीय आकर्षण दिनप्रतिदिन बढ्दै गएको ढोरबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं शुक्ला गण्डकी नगरपालिका वडा नं ९ का वडाध्यक्ष बाबुराम पुलामीले बताए ।

“बोली नखुलेकाको मन्दिरको दर्शन गरेपछि बोल्न थालेका प्रत्यक्ष प्रमाणहरू हाम्रा वरपर नै छन्”, उनले भने, “पछिल्लो समयमा प्रचार-प्रसारले देशका टाढा-टाढाका साथै विदेश गएका व्यक्तिहरू पनि बोली आउने विश्वासका कारण मन्दिरमा दर्शन गर्न आउँछन् ।” -रासस



नयाँ