arrow

बुटवलको कान्ति मावीमा शिक्षक भर्नामा अनियमितता भएको आरोप

logo
नारायण वली,
प्रकाशित २०८० साउन १९ शुक्रबार
kantibal.JPG

रुपन्देही । बुटवलको कान्ति माध्यमिक विद्यालयमा शिक्षक भर्ना प्रक्रियामा अनियमितता भएको तथ्य फेला परेको छ । प्राथमिक विद्यालयका  लागि एक जना र निम्न माध्यमिक विद्यालयका लागि एक जना शिक्षक छनौट परीक्षामा नियम विपरीत विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले परीक्षा शुरु भएको समयमा प्रश्न पत्र एकाएक खोसेर आधा घण्टापछि थप दुई वटा प्रश्नहरू थपेर परीक्षा गराएपछि शिक्षा ऐनको धज्जी उडाएको पाइएको छ ।

गत असार १७ गते विद्यालयले एक सूचना जारी गर्दै आधारभूत कक्षा १-५ अङ्ग्रेजी विषय र कक्षा ६-८ सम्म सामाजिक विषयका लागि शिक्षक आवश्यक परेको भन्दै निवेदन दिने अन्तिम मिति असार २४ गतेसम्म समय सीमा खुल्ला गरेकोमा २७ जनाले आवेदन दिएको र असार २५ गते परीक्षा भएको थियो । तर विवाद भएपछि एक हप्ता पछाडि सारेर फेरी परीक्षा गराइएको थियो । 

निवेदकहरूबाट परीक्षा दस्तुर भनेर ७५० लेखिएको सूचनामा प्रति परीक्षार्थी ७ सय ५० रुपैयाँ लिनुपर्नेमा तर विद्यालयको छनौट प्रक्रियामा बसेकाहरूले भत्ता स्वरूप भन्दै ५ हजार रुपैयाँ लगेको स्रोतले जनाएको छ । तर उक्त भत्ता दिने भन्ने बारेमा विद्यालय व्यवस्थापन समितिले कुनै निर्णय नगरेको समितिले जनाएको छ । समिति भन्छ, 'व्यवस्थापन समितिले निर्णय नगरी जथाभावी रूपमा  पैसा विभिन्न शीर्षकमा बाँड्नु गैर कानूनी हुन्छ, हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।'

अहिले सो विषय आन्तरिक रूपमा निकै पेचिलो बन्दै गएको बुझिएको छ । स्रोतका अनुसार उक्त विषयलाई बाहिर आउन नदिनका लागि विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीलाई बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले यथाशीघ्र भित्रै मिलाउन दबाब दिँदै आएको बताइएको छ । 

यस विषयमा उपमहानगरपालिकामा शिक्षक भर्ना प्रक्रियामा एक सय पूर्णाङ्कको परीक्षा नभएको र प्रश्न पत्र बाँडेर दुई वटा प्रश्नको उत्तर लेखिसकेको अवस्थामा पुनः प्रधानाध्यापकबाट सबै प्रश्न पत्र खोसेर  दुई वटा प्रश्न थपेर परीक्षा गराउनु नियम विपरीत भयो यसलाई बदर गरि पुनः परीक्षा गराउनुपर्ने भन्दै निवेदन परेको भए पनि त्यसको कुनै सुनुवाइ नभएको जनाइएको छ ।

यता यस विषयमा बुझ्नका लागि विद्यालयका प्रधानाध्यापक ज्ञवालीलाई सम्पर्क गर्दा आफू नगरपालिकामा एउटा बैठकमा भएको र आधा घण्टापछि कुरा गर्ने वचन दिए पनि सम्पर्कमा आएनन् भने छनौट प्रक्रियामा बसेकाहरूले पाँच हजार लगेको भन्ने बारेमा बुझ्न विद्यालयका लेखा प्रमुख अञ्जु अधिकारीलाई सम्पर्क गर्दा सफल हुन सकेन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ