arrow

लुम्बिनीमा अत्यास लाग्दो आत्महत्या

logo
नारायण वली,
प्रकाशित २०८० साउन २५ बिहिबार
lumbini-province-लुम्बिनी–प्रदेश.jpg

रुपन्देही । लुम्बिनी प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या घट्दै गएको पाइएको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा आत्महत्या गर्नेको संख्या घटेको पाइएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार ३ वर्षमा ४ हजार ६० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् ।

लुम्बिनीमा आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४ सय १५ जनाले आत्महत्या गरेको देखिएको छ भने आर्थिक वर्ष ०७८/०७९ मा १ हजार ३ सय ४१ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष ०७९/०८० मा १ हजार ३ सय ४ जनाले आत्महत्या गरेको एक तथ्यांकले देखाएको छ। सो तथ्याङ्कले लुम्बिनी प्रदेशमा आत्महत्या गर्नेहरुको दरमा केही कमी भएको देखिन्छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा भने विगत ३ वर्षमा सबैभन्दा बढी आत्महत्याका घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णबहादुर पल्ली मगरले जनाएका छन् ।

३ वर्षमा रुपन्देहीमा सबैभन्दा बढी ७ सय ५७ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम आत्महत्या गर्ने प्रदेशको पहाडी जिल्ला रुकुम पूर्व रहेको पाइएको छ ।

रुकुम पूर्वमा ४१ जनाले आत्महत्या गरेको पाइएको छ । प्रदेशका १२ जिल्लाहरुमा आत्महत्याको दर घटे पनि पछिल्लो दुई वर्षको तथ्याङ्कले पाल्पा, गुल्मी, प्यूठान र बाँकेमा आत्महत्याका घटना वृद्धि हुँदै गएको छ । रुपन्देही, दाङ, अर्घाखाँची र रोल्पामा आत्महत्या स्थिर छ भने अन्य जिल्लामा घटेको देखिएको छ ।

यस्तो छ ३ वर्षको आत्महत्या तथ्यांक
आर्थिक वर्ष ०७७/०७८ मा नवलपरासी बर्दघाट सुस्ता पश्चिममा ४१ जना महिला र ७२ जना पुरुष गरी ११३, रुपन्देहीमा १३१ जना महिला र १३७ जना पुरुष गरी २६८, कपिलवस्तुमा ५९ जना महिला र ९२ जना पुरुष गरी १५१, पाल्पामा ३८ जना महिला र ३९ जना पुरुष गरी ७७, गुल्मीमा २८ जना महिला र ७० जना पुरुष गरी ९८, अर्घाखाँचीमा ४४ जना महिला र ३६ जना पुरुष गरी ८०, प्युठानमा ५५ जना महिला र ५६ जना पुरुष गरी १११ जनाले आत्महत्या गरेका छन् । 

दाङमा १०१ जना महिला र १४५ जना पुरुष गरी २४६, रोल्पामा ३७ जना महिला र ४४ जना पुरुष गरी ८१, रुकुम पूर्वमा ९ जना महिला र ८ जना पुरुष गरी १७, बाँकेमा २० जना महिला र २० जना पुरुष गरी ४०, र बर्दियामा ६९ जना महिला र ८२ जना पुरुष गरी १५१ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। 

आर्थिक वर्ष ०७८/०७९ मा नवलपरासी बर्दघाट सुस्ता पश्चिममा ३१ जना महिला र ७० जना पुरुष गरी १०१, रुपन्देहीमा ११४ जना महिला र १५२ जना पुरुषगरी २६६, पाल्पामा २९ जना महिला र ४६ जना पुरुषगरी ७५, गुल्मीमा १६ जना महिला र ५५ जना पुरुष गरी ७१, कपिलवस्तुमा ८६ जना महिला र ८३ जना पुरुषगरी १६९ जनाले आत्महत्या गरेका छन् । 

अर्घाखाँचीमा २१ जना महिला र ३८ जना पुरुष गरी ५९, प्युठानमा ३३ जना महिला र ३५ जना पुरुषगरी ६८, दाङमा ४६ जना महिला र १६१ जना पुरुषगरी २२७, रोल्पामा ३४ जना महिला र ३९ जना पुरुष गरी ७३, बाँकेमा २३ जना महिला र ३५ जना पुरुषगरी ५८,  बर्दियामा ६९ जना महिला र ९३ जना पुरुष गरी १६२ र रुकुम पूर्वमा ६ जना महिला र ६ जना पुरुषगरी १२ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७९/०८० मा नवलपरासी बर्दघाट सुस्ता पश्चिममा ३६ जना महिला र ३७ जना पुरुषगरी ७३, रुपन्देहीमा ९७ जना महिला र ११४ जना पुरुषगरी २४१, कपिलवस्तुमा ६० जना महिला र ८७ जना पुरुष गरी १४७, पाल्पामा २८ जना महिला र ५८ जना पुरुषगरी ८६, गुल्मीमा ३० जना महिला र ५१ जना पुरुषगरी ८१ जनाले आत्महत्या गरेका छन् । 

अर्घाखाँचीमा ३६ जना महिला र ३४ जना पुरुष गरी ६०, दाङमा १०० जना महिला र १२० जना पुरुष गरी २२०, प्युठानमा ३५ जना महिला र ३९ जना पुरुषगरी ७४, रोल्पामा ३० जना महिला र ३७ जना पुरुषगरी ६७, बाँकेमा ५६ जना महिला र ६६ जना पुरुषगरी १२२, बर्दियामा ४७ जना महिला र ७४ जना पुरुषगरी १२१ र रुकुम पूर्वमा ३ जना महिला र ९ जना पुरुषगरी १२ जनाले आत्महत्या गरेको जनाइएको छ ।

यसरी आत्महत्याको दर वृद्धि हुँदै जानु निकै खतरनाक रहेको जानकारहरुको भनाइ छ । सामाजिक तथा मनोविज्ञानमा विद्यावारिधि गरेर अन्तर्राष्ट्रियस्तरमा लामो समय काम गरेका बुटवलका प्रधुन्न गौतमका अनुसार मानिसहरुले आफ्नो ज्यान आफैँ मृत्युवरण गर्ने क्रम झन् बढ्दै जाने बताए ।

उनले भने- कोरोना भाइरस यता सबै क्षेत्रहरु धरासायी बन्दै जानू र चरमरुपमा मौलाउँदै गएको कालाबजारी, आयस्रोत एवं रोजगारीमा मन्दी लाग्नु लगायत कारणले गर्दा मानिसहरु सामान्यरुपमा घरायसी व्यवहार समेत चलाउन नसक्ने स्थितिमा पुगिसकेकाले मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरे ।

उनले थपे- यो तीन वर्षको अवधिमा सबैभन्दा धेरै उद्योगी व्यापारी र सामान्य परिवारकाले ज्यान गुमाएको भन्दै वित्तीय संस्था र बैंकबाट ल्याएको ऋण तिर्न नसक्दा उक्त संस्थाहरुको निरन्तर ताकेता र घरमा नै आएर धम्काउने जस्ता कार्यले समाजमा हुने बेइज्जतीको सोँचले त्यस्ता व्यक्तिहरुले अप्रिय घटनाको निर्णय लिने गरेको आफ्नो स्थलगत अध्ययनको अनुभव सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ