arrow

पत्रकारिताको पाठ पढाउँदै मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
Surendra Panday gandaki province.jpg
तस्बिर-फाइल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वच्छ र स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयं पत्रकार नै जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

पत्रकरिता आफ्नै लयमा बनेको भएपनि आज पत्रकारिताको लय बिग्रेको, एउटा टिभी र अर्काे टिभीमा समाचार हेर्दा फरकफरक सन्देश र सूचना जाने गरेको उनले बताए । 

फोनिजको २४ औं स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार पत्रकारद्वय कास्कीका हुमबहादुर तमु र मुस्ताङका सुन्दरकुमार थकालीलाई अर्पण गर्दैै मुख्यमन्त्री पाण्डेले भने, ‘यस्तो सूचनाले जनतालाई दिग्भ्रमित गरेका कारण नियमन हुन आवश्यक छ र पत्रकार आफै पनि जिम्मेवार र गम्भीर हुनुपर्छ ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको आमसञ्चार विधेयक ल्याउने तयारी भन्दै यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको बताए । उनले भने, ‘मलाई कसैलाई नियमन गर्नु छैन । त्यसैले पत्रकार साथीहरुको केही कुरा छलफलबाट पारित भएपछि अगाडि बढ्छ । मेरो एउटै मात्र धेय छ, स्वतन्त्रताको नाममा अराजक हुनुभएन ।’

उनले पछिल्लो समय स्वतन्त्रतको नाममा सामाजिक सञ्जालमा अराजकता फैलिएको टिप्पणी गरे । ‘सोसल मिडिया स्वतन्त्रताको नाममा अहिले अराजक भएको छ, मुख्यमन्त्री पाण्डेले भने, ‘यसले पत्रकारिता स्वनियमन हुनुपर्ने हो तर त्यो भएको देखिएन ।’ 

उनले व्यक्तिको गुण वा दोषको आधारमा एकतर्फी समाचार सम्प्रेषण गर्दा न्यायोचित नहुने धारणा राखे ।

‘समाचार सम्प्रेषण गर्दा सबै पत्रकार गलत छैनन्, सबै पत्रकार सही छैनन् भन्ने बुझे जस्तै सबै राजनीतिज्ञ गलत छैनन् भन्ने पनि हेक्का राख्नुपर्छ’, मुख्यमन्त्रीले भने ।

पुरस्कृत व्यक्तित्व हुमबहादुर गुरुङले नेपाल विविधतायुक्त देशमा सम्पूर्ण समुदायको पहुँच स्थापना नभएको कारण सक्रिय पत्रकारितामा लागेको भन्दै पत्रकारिता भित्रै पनि असमानता रहेको दुःखेसो पोखे ।

उनले पत्रकारितालाई स्वच्छ बनाउन राजनीतिक पार्टी निकट हुन नहुने स्पष्ट पारे । 

अर्का पुरस्कृत व्यक्तित्व सुन्दरकुमार थकालीले पुरस्कारले पत्रकारितामा थप उत्साह मिलेको भन्दै गण्डकी प्रदेशको शिरमा रहेको जिल्लामा पत्रकारिता गर्न सहज नरहेको स्पष्ट पारे । 

फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना मातापिता वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका हुन् । 

सुरुमा पाँच लाख रुपैयाँदेखि सुरु गरिएको अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष एक लाख थप गर्दै आएका छन् ।

यस वर्ष पनि १ लाख थप गर्ने घोषणा गरेका छन् । हाल अक्षयकोषमा नौ लाख रुपैयाँ छ ।

यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुई पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ ।

पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ पुरस्कृत भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ