arrow

गण्डकीकाे नयाँ कोर्स

पाण्डेको सत्ता जोगाइदिने फणिन्द्र

प्रदेशसभा बर्बादीतिर जाँदै गरेको टुलुटुलु हेरेर बस्न सकिन : देवकोटा

logo
हरि पन्त, 
प्रकाशित २०८१ जेठ २८ सोमबार
surendraraj-panday-phadindra-devkota.jpg

पोखरा । नेकपा (माओपादी केन्द्र) को चुनाव चिन्हबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिएपछि गण्डकी प्रदेशमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेको सत्ता जोगिएको छ । योसँगै गण्डकी प्रदेश मध्यावधिमा जानबाट पनि जोगिएको छ । साथै अन्य छ प्रदेशमा प्रमुख प्रतिपक्षी कांग्रेस गण्डकीमा भने सत्ताको नेतृत्व गर्न पाएको छ । 

संयोगले मुख्यमन्त्री पाण्डे र सांसद देवकोटा एउटै जिल्ला गोरखाका हुन् । पाण्डे गोरखा २ (ख) र देवकोटा २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

गण्डकीमा सबैभन्दा ठूलो दल कांग्रेसको २७ सिट छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसलाई सत्ता सञ्चालन गर्न ३१ आवश्यक छ । मुख्यमन्त्री पाण्डेले आफूलाई बहुमत सिद्ध गर्न निकै पापड पेल्नुपर्यो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा विश्वासको मत माग्दै गर्दासम्म एकखालको संशय थियो । तर मुख्यमन्त्री पाण्डे आफूले विश्वासको मत पाउनेमा ढुक्क जस्तै थिए । उनले गरेको भाषणमा यस्तै महसुस गर्न सकिन्थ्यो । 

प्रदेश सभा बैठक शुरु हुनु भन्दा केही अघिमात्र दुई सांसद रहेको राप्रपाले पाण्डेलाई विश्वासको मत दिने निर्णय गरेको थियो । यो निर्णयसँगै पाण्डेको पक्षमा २९ मत पुग्यो । पाण्डेलाई स्वतन्त्र सांसद राजीव गुरुङले ३० पुगेमा आफूले सहयोग गर्ने वचन पहिल्यै दिएका थिए । सांसद देवकोटाले आफूलाई माओवादीको सांसद नभन्न आग्रह गर्दै आएका थिए भने नेसपा अध्यक्ष डा. बाबुराम भट्टाईले माओवादीबाट आफ्ना सांसद छुट्याइदिन माग गर्दै आएका थिए । तर चुनाव चिन्हका कारण उनको माग संबोधन हुन सकेको थिएन ।

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पुग्न नदिन एमाले र माओवादीले हदैसम्म प्रयास गरेको थियो । सांसद देवकोटा विश्वासको मत दिन गएपछि उनीविरुद्ध एमाले र माओवादी सांसदले सदनमा नाराबाजी गर्दै उनलाई रोक्न प्रयास गरेका थिए । मर्यादापालकले उनीहरुलाई रोकेका थिए । फ्लोरक्रस गर्नु संसदीय विकृति भएको उनीहरुको जिकिर छ ।

प्रदेश सभा बर्बादीतिर जाँदै गरेको टुलुटुलु हेरेर बस्न सकिन : देवकोटा

गण्डकीमा पाण्डेको सत्ता जोगाउन निर्णायक भूमिका खेलेका देवकोटाले प्रदेश सभा जोगाउन र मध्यावधि टार्न आफूले यस्तो कदम चालेको बताएका छन् । उनले नेसपाको निर्णयानुसार नै विश्वासको मत दिएको जिकिर गरे । गण्डकी प्रदेशसभा बचाउनु आफ्नो दायित्व भएको उनले बताए । 

‘मैले यसअघि एमाले नेता खगराज अधिकारीलाई समर्थन गरेको थिएँ । तर उहाँले सत्ता जोगाउन सक्नुभएन । राप्रपाले पनि उहाँलाई विश्वास गरेन । अहिले परिस्थिति फेरियो’, उनले भने, ‘प्रदेशसभा बर्बादीतिर जाँदै गरेको टुलुटुलु हेरेर बस्न सकिन ।’

उनले थपे, ‘मुख्यमन्त्रीलाई राप्रपाले सघाउने निर्णय गर्यो र स्वतन्त्र सांसद राजीवजीले पनि सघाउने वचन दिनुभएकै थियो । मेरै कारण समस्या निम्तिने देखिएपछि कदम चालेको हुँ ।’  

कारबाही गर्ने माओवादीको चेतावनीप्रति उनले आफू अर्को दलको उम्मेदवार भएको र दलको निर्णयानुसार मत दियो भनेर सहज रूपमा लिनुपर्ने टिप्पणी गरे । 

उनले भने, ‘एकले अर्कालाई कारबाही गर्दै जाने हो भने हामी कहाँ पुग्ने ? एउटा दलले अर्को दलको (सांसद) लाई कारबाही गर्दै जाने हो भने यो राजनीतिक प्रणाली खारेज गरे भइहाल्यो नि ।’

उनले थपे, ‘मेरो पार्टी नेसपा भएका कारणले कानूनले दिएको अधिकार प्रयोग गरेको हुँ । चुनावमा एकल चिन्ह रहे पनि मेरो परिचयपत्र र संसदीय दलले दिएको परिचयपत्र, प्रदेश सभाले दिएको परिचयपत्र र निर्वाचन आयोगको वेबसाइटमा पार्टीको नाम नेसपा रहेकाले पार्टीको निर्देशन अनुसार मतदान गरेको हुँ ।’

निर्णायक सांसदलाई मन्त्री बनाउने तयारी

मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् । विश्वासको मत पुर्याउन निर्णायक भूमिका निर्वाह गरेका देवकोटा, राजीव र राप्रपाका पञ्चराम गुरुङलाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । पञ्चराम र राजीव मन्त्री बन्न ईच्छुक भए पनि देवकोटा अनिर्णित छन् ।

मुख्यमन्त्रीले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने मनस्थिति बनाएका छन्।

मन्त्रिपरिषद्मा विन्दुकुमार थापा र डा. टकराज गुरुङ नियुक्त भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ