arrow

विवादित टाइगर प्यालेस किनेको गैरआवासीय नेपालीहरुको घोषणा  

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
tiger-palace-press-meet.jpg

काठमाडौँ । रुपन्देहीको भैरहवामा रहेको टाइगर प्यालेस पाँच तारे रिसोर्ट गैरआवासीय नेपालीहरुले किनेका छन् । 

एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतएनआरएनएको समूहले उक्त रिसोर्ट खरिद गरेको हो ।

सुवेदीले अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका छन् । आचार्यले युकेमा होलीकाउलगायत संचालन गरिरहेका छन् । 

सुवेदी अध्यक्ष रहेको अमेरिकाको डेलावेयरमा दर्ता रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । 

योसँगै रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको छ । 

सो समूहले बुधबार पत्रकार सम्मेलननै गरेर आफ्नो भनाई सार्वजनिक गरेको छ । विदेशमा शेयर खरिद बिक्री गरिए पनि टाइगर प्यालेस रिसोर्ट खरिदबापत सरकारलाई लाग्ने सम्पूर्ण करहरु तिर्न तयार रहेको अध्यक्ष सुवेदीले उक्त पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्ने आरोप लागेको छ । बाहिर बढी मूल्यमा खरिद गरेको भए पनि कम देखाएर सरकारलाई तिर्नुपर्ने करमा ठगी गर्न सक्ने शंकाबीच यो आरोप लागेको हो । 

अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब पाँच अर्ब रुपैयाँ लगानी गरेको थियो । 

प्रेस नोट–
तिलोत्तमा नगरपालिका, भैरहवा, रुपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्टलाई अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सेयर लगानी गरी सञ्चालन गर्दै आएको थियो । सो अष्ट्रेलियन कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार जना नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए र यसले नेपाल सरकारलाई करोडौं रुपैयाँ राजस्व समेत तिर्दै आएको थियो ।
कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विबादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन र यो रिसोर्टले करोडौं रुपैयाँ घाटा व्यहोर्दै आएको थियो । रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दै गएको थियो । रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाए पछि हामी विदेशमा बस्ने केही गैर आवासीय नेपालीहरुले अष्ट्रेलियन कम्पनीको सिल्भर हेरिटेज लिमिटेडमा भएको सवै शेयरहरु खरिद गरेका छौं । सिल्भर हेरिटेज गु्रपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र हामी गैरआवासीय नेपालीहरुले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक मार्फत सिल्भर हेरिटेज लिमिटेडमा भएको अष्टर््ेलियन कम्पनीको सवै शेयर खरिद गरेको हुंदा टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमा हस्तान्तरण हुन आएको छ । अव नयाँ व्यवस्थापन सहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको कुरा यहाँहरु माझ जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौं ।
जननी जन्मभूमिस्च स्वर्गादपी गरियसीको मर्मलाई आत्मसात गर्दै अवसरका लागि विदेशीएका हामी नेपालीले आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका हौं । नेपाल सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन नसकेको अवस्थामा हामीले विदेशमा दुख गरेर कमाएको आर्जनलाई मातृभूमिमा लगानी गरी पर्यटन उद्योग मार्फत देश विकासमा टेवा पुर्याउने प्रयत्न गरेका छौं ।
पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठुला लगानीका पर्यटन उद्योगहरु धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद होइन । नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको अहम् भूमिका भएकोले हामी केही गैरआवासीय नेपालीहरुले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा ईंटा थप्न चाहेका छौं । हाम्रो सानो कोशिसले बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योग मार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने कोशिषस्वरुप टाइगर प्यालेस रिसोर्टमा लगानी गरेका हौं । यसमा हाम्रो नाफा आर्जनको उद्देश्य भन्दा पनि आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध बढी छ ।
रिसोर्टको लगानीकर्ता अष्टेलियन कम्पनी आफैं आर्थिकरुपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो । सो कम्पनीको नेपालको सवै लगानी नोक्सानीमा गएका, टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा पुगेको र बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा सो अष्टर््ेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा कारोबार भएको हो । तर, रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यवसायीक दायित्वहरु र हालसम्म भएको नोक्सानीको अवस्थालाई हेर्दा आर्थिक रुपमा जर्जर भएको रिसोर्टलाई सञ्चालन गर्नको लागि ठूलो रकम थप लगानी गर्नु पर्ने देखिएको छ । हामीले गरेको प्रारम्भिक अध्ययनबाट शेयर खरिद कारोबार रकम समेतलाई जोड्दा करिव ४ अर्व नेपाली रुपैयां खर्च गर्नुपर्ने जस्तो देखिएको छ ।
हामी विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको शेयर खरिद गरेको भएपनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून वमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानूनले दिएको म्यादभित्र तिर्ने बुझाउने नै छौं ।
यो परियोजना सफल रुपमा सञ्चालन हुँदा गैरआवासीय नेपालीहरुमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष बैदेशिक लगानीको वातावरण बन्ने समेत विश्वास लिएका छौं । टाइगर प्यालेस रिसोर्ट पूर्णरुपमा संचालन हुँदा एक हजार भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाउने, नेपाल सरकारले पाउने राजस्व वृद्धि हुनुको साथै पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक समुन्नतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं । रिसोर्ट सञ्चालन गरेर मुलुकको पर्यटन उद्योगको विकासमा सघाउ पुर्याउन सरकार, निजी क्षेत्र, सञ्चारकर्मी, स्थानीय समुदाय लगायत सबै सरोकारवालाहरुबाट साथ, सहयोगको अपेक्षा गर्दछौं ।


दिपक दत्त गौतम                                                                                       वुद्धिसागर सुवेदी
संचालक                                                                                                         अध्यक्ष

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ