काठमाडौँ । नेकपा एमालेभित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुने प्रसङ्गले अध्यक्ष केपी शर्मा ओलीको मथिङ्गल बिथोलिदिएको छ । दुई साताअघि मात्रै विद्यालाई पार्टीभित्र निषेध हुने संकेत गरेका ओलीले आइतबार फेरि राजनीतिमा आउने वा नआउने बारेमा प्रष्ट हुनुपर्ने लक्षित भाषण गरेका छन् ।
त्यो भाषण कोशी प्रदेशको बैठकमा पुगेर गरेका हुन् । पूर्व एमाले उपाध्यक्षसमेत रहेकी भण्डारीले कोशी प्रदेशका कार्यकर्ताहरुलाई भेटघाट गरी धारणा बुझेको बेलामा ओलीको यस्तो अभिव्यक्ति आएको हो ।
आइतबारको विद्या लक्षित केपीको भाषण भंगाल हाइटमा बसेर भेटघाट मात्रै होइन राजनीतिमा आउने हो भने चाँडै नै घोषणा गर्नुपर्ने आशयको थियो ।
यसअघि ओलीले साउन अन्तिम साता (साउन २८) गते पूर्व राष्ट्रपति सम्मानित भएर बस्नुपर्ने भन्दै राजनीतिमा आउने चर्चा एमाले विरोधीहरूले विभाजित गर्ने षड्यन्त्र स्वरुप भएको बताएका थिए ।
तर दुई साता यता पूर्व राष्ट्रपति भण्डारीले निरन्तर कार्यकर्ताहरुसँग छलफल गर्दै आएकी छिन् । आइतबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन चाहे उनलाई सधैँ स्वागत रहेको पनि बताएका थिए ।
‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हुन्छ, कसले रोक्छ ? कसरी रोक्छ ?’, प्रश्न गर्दै ओलीले भने, ‘त्यसकारण हामी उहाँलाई निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व दिनुभयो भने ठीक छ तर उहाँ आउँछु त भन्नुपर्यो नि ! उहाँलाई सधैँ वेलकम छ ।’
उनले भण्डारीलाई एमालेमा आउन निषेध गर्यो र रोक्यो भनेर प्रचार गरेर भ्रम फिँजाएको भन्दै असन्तुष्टिसमेत जनाएका थिए ।
साउन २८ मा एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पूर्व एमाले उपाध्यक्षसमेत रहेकी भण्डारी राष्ट्रपति भैसकेको व्यक्ति सम्मानित भएर बस्नु नै उपयुक्त हुने बताएका थिए ।
‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ’, अध्यक्ष ओलीले त्यसबेला भनेका थिए, ‘त्योभन्दा अगाडि पनि हाम्रो नजिकैका मित्र र पार्टीको उपाध्यक्ष नै हो ।’
त्यसबेला उनले भण्डारीलाई नेताहरूले भेटेको र सक्रिय राजनीतिमा फर्कने भन्ने कुरालाई लिएर एमालेलाई कमजोर पार्ने प्रयासका रूपमा व्याख्यासमेत गरेका थिए ।
‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठुलो कुरा होइन । विष्णुप्रसाद पौडेलले मात्रै होइन, मैले पनि कुरा गरेको छु । अरूले पनि कुरा गर्नुभएको छ । कुरा गरेको विषयलाई कार्ड नै छपाएर लिएर जानुभयो रे नि त, पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्नुभयो भन्ने, यस्तो खालको प्रयासलाई मलजल नगर्दा राम्रो हुन्छ’, ओलीको भनाइ थियो ।
एमालेका केही नेताहरूले भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः फर्कनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् ।
त्यसरी लबिङ गर्ने नेताहरूमा कर्ण थापा, कृष्ण राई, विशाल भट्टराई, डोरमणि पौडेल, हिक्मत कार्की, भानुभक्त ढकाललगायत छन् ।
ओली भने यतिबेला आफै तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष बन्ने महत्वाकांक्षासहित अघि बढेका छन् ।
उनले त्यसका लागि पार्टीभित्र माहोल बनाउँदै लगेका छन् । ओलीले पूर्व प्रथम राष्ट्रपति रामवरण यादव राजनीतिमा नफर्किएको भन्दै भण्डारीले पनि राजनीतिमा आउने कुराले राम्रो सन्देश नजाने आँकलन गरिरहेका छन् ।
‘पहिलो राष्ट्रपति राजनीतिमा सक्रिय हुनु भएन । राष्ट्रको नेतृत्व गरिसकेको व्यक्तिले म राजनीतिमा आउँदिन भन्नुपर्ने हो । तर, राजनीतिमा आउने तयारी गर्नुले खासै राम्रो सन्देश दिँदैन,’ ओली निकट रहेका एक पदाधिकारीले भने ।
अर्का एक नेता भण्डारी सक्रिय भइहाल्ने अवस्था बनिनसकेको बताउँछन् । एमालेको राजनीतिमा चासो दिने तर ओलीलाई क्रस गरेर आइहाल्ने अवस्था नभएको ती पदाधिकारीको दाबी छ ।
पार्टी राजनीतिमा आउँदा आलोचनाको शिकार बन्ने खतरा रहेकाले सकारात्मक माहोल बने मात्रै राजनीतिमा आउने पक्षमा भण्डारी रहेकी छिन् ।
‘सक्रिय भइहाल्ने मनसाय देखिँदैन । सात वर्ष राष्ट्रपति पदमा बसियो । राजनीतिमा आउँदा विवादित भइन्छ । गुटबन्दी शुरु हुन्छ, व्यापक माग भयो, सर्वसहमति हुने भयो । भण्डारी नआउँदा पार्टी बिग्रने अवस्था बन्यो भने मात्रै सक्रिय हुने कुरा छ होइन भने ओलीलाई क्रस गरेर पार्टीमा आउने चाहना देखिदैन’, भण्डारी निकट रहेका एक नेताको दाबी छ ।
एमालेका अर्का नेता एमालेभित्र युवाहरुको आवाज बढिरहेको भन्दै दुवैतिर मिलाउन सक्ने भएकाले नेतृत्वमा आउनुपर्ने र एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीलाई मिलाउन सक्ने अवस्था बनेमा भण्डारी आउन सक्ने दाबी गर्छन् ।
‘एमालेमा युवाहरुको आवाज बढिरहेका बेला बीचमा बसेर दुवैतिर मिलाउन सक्नुहुन्छ भन्ने एउटा आधार भयो भने राजनीति सम्भावनाको खेल हो भन्छन् उहाँ नआउने भन्ने कुरा रहँदैन,’ ती नेताले भने ।
तर मदन भण्डारीको विरासत बोकेकी भण्डारी फेरि सक्रिय रुपमा पार्टी राजनीतिमा फर्कंदा ओलीले आफूलाई सहयोग पुग्ने भन्दा पनि चुनौती थपिन सक्ने ठानेको निकतवर्ती नेताहरुको धारणा छ ।
ओलीपछि एमालेमा नेतृत्व संकट
कहीँ कतै आफ्नो सहयोगीका रुपमा भण्डारीलाई उपयोग गर्न पनि ओलीले पुनः राजनीतिमा सक्रिय गराउन ओलीकै भूमिका हुन सक्ने पनि एमालेभित्र रहेका एकथरी नेताहरुको बुझाइ रहेको छ ।
यसै पनि ओलीपछि एमालेमा नेतृत्व संकटको सम्भावना बढ्दैछ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टीभित्र सर्वस्वीकार्य छैनन् ।
बाहिर सभ्य र सौम्य स्वभाव देखाउने सुवासचन्द्र नेम्वाङलाई ओली नेतृत्व दिन चाहँदैनन् ।
विगतमा माधवकुमार नेपाललाई साथ दिएका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेहरुले एमालेको नेतृत्वका लागि ओलीको निगाह प्राप्त गर्ने अवस्था छैन । अष्टलक्ष्मी शाक्यका लागि भण्डारी पनि सहमत हुन सक्दिनन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीचको टकरावले गर्दा उनीहरु तत्कालै नेतृत्वमा जाने अवस्थामा छैनन् ।
पौडेललाई एक कार्यकाल रोक्नका लागि पनि पोखरेलले एक किसिमको योजना रचेको हुन सक्ने आँकलन एकथरीको छ ।
अर्काथरी भने ओली नै पोखरेललाई उत्तराधिकारी बनाउन खोजिरहेको बताउँछन् । त्यहीँनेर ओली निकटका एक केन्द्रीय सदस्य भने ७० वर्षको सीमा राखिएको भए यो सम्भव भएको भन्दै अब पोखरेल पनि नेतृत्वको कित्ताबाट टाढिएको बताउँछन् ।
त्यसकारण वैकल्पिक नेतृत्वका लागि भन्दै ओली वा उनी निकट रहेका नेताहरुले भण्डारीलाई ‘जबर्जस्ती’ राजनीतिमा ल्याउन सक्ने संभावना रहेको एमालेभित्र चर्चा छ ।
तर उनले प्रत्यक्ष कार्यकारी भूमिकामा जानुपर्छ भन्ने नभएको बताउँदै पार्टी राजनीतिमा नफर्कने संकेत गरेकी छिन् ।
भण्डारी कार्यकाल पूरा गरेर शितलनिवासबाट आफ्नो निवासमा सरेपछि एमालेका नेता कार्यकर्तासँग नियमित सम्पर्क र परामर्शमा छिन् ।
एमाले नेताहरु गोकुल बास्कोटा, कर्ण थापा, विद्या भट्टराई, भगवती चौधरी, आनन्द पोखरेल, खगराज अधिकारी लगायतका नेताहरुले एकीकृत समाजवादीलाई समेत एमालेमा मिलाउन सकिने गरी विद्यालाई पार्टीमा सक्रिय गराउन खोजिरहँदा ओलीले घोषित अघोषित रुपमै ‘रातो बत्ती’ बालेका छन् ।
जसले गर्दा एमालेभित्र भण्डारी पक्षधर भनेर चिनिएकाहरुलाई ओली आफैँले असजिलो बनाइदिएका छन् । यसले गर्दा आउँदो एघारौँ महाधिवेशनको पूर्वसन्ध्या रिहर्सल निकै पेचिलो हुने देखिएको छ ।
भण्डारी निकट स्रोतका अनुसार उनले आफू सक्रिय राजनीतिमा नफर्किने तर पार्टीभित्रको राजनीतिलाई नजिकबाट नियालिरहेकाले पनि पार्टीभित्र भण्डारी पक्षधर नेताहरु कित कर्नरमा पर्ने कित नेतृत्वमा आउनसक्ने अर्को चर्चाले प्राथमिकता पाएको छ ।
ओलीकै सहयोगमा भण्डारी
अहिलेसम्म भण्डारी ओलीकै गुटबाट उपाध्यक्ष भइन् भने ओलीकै कृपाले राष्ट्रपति पनि भइन् । ओली बिना विद्याको राजनीति नै सम्भव छैन ।
राष्ट्रपतिको सात वर्षे कार्यकालमा पनि ओली नै उनका वास्तविक सल्लाहकार थिए । ओली आफू प्रधानमन्त्री हुँदा पटक पटक प्रोटोकल तोडेर विद्यालाई भेट्न जाने गर्दथे ।
ओलीले नै विद्यालाई असंवैधानिक सबै कदमका साक्षी बनाए । दुई पटकसम्म संविधानको उल्लंघन गरेर विद्याले नै ओलीको सिफारिसमा संसद विघटन गरेकी थिइन् ।
उनले नै संविधान मिचेर संसदबाट दुई पटकसम्म पारित भएर आएको नागरिकता विधेयक स्वीकृत नगरी थन्क्याएकी थिइन् ।
ओलीले जतिपटक संविधानको धज्जी उडाए उति नै पटक विद्याले पनि संविधानको उल्लंघन गरिन् ।
खासमा दुवैले मिलेर जनतालाई बनाउनुसम्म पंगु बनाए । दुवैले मिलेर एमालेका कार्यकर्ताहरुलाई पंगु बनाए ।
नेपाली कम्युनिष्ट राजनीतिका सशक्त क्रान्तिकारी धरोहर मदन भण्डारीकी पत्नी विद्याले मदनको बाटो भने रोज्न सकिनन् ।
केवल राजनीतिका लागि केपी र विद्याले मदनको नामको दुरुपयोग गरे । दासढुंगामा मदनको हत्या भएको हो भनेर सत्ता बाहिर छँदा कुर्लिरहने मदन–विद्या जब देशको बागडोर सम्हाले तब कहिल्यै पनि यसको छानबिन गर्ने प्रसङ्ग नै निकालेनन् ।
विद्या दुई पटक गरी सात वर्ष राष्ट्रपति भइन् । केपी ओली दुई पटक गरी करिब पाँच वर्ष प्रधानमन्त्री भए । तर सो अवधिमा कसैलाई पनि दासढुंगा काण्डको चासो भएन ।
विद्याको एकमात्र दबाबले पनि ओलीले उच्चस्तरीय छानबिन समिति बनाएर यसको छिनोफानो हुन सक्दथ्यो । तर उनीहरुले राजनीतिमात्र गरे मदनलाई न्याय दिएनन् ।
मदनको जनताको बहुदलीय जनवाद पनि उनीहरुले कुल्चिए । अब पनि केपी–विद्याबीच राजनीतिक एकता भयो भने बाँकी रहेका एमालेका शीर्ष नेताहरु उच्च तहमा जाने नसोचे हुने पनि आँकलन गरिएको छ ।
तर ओली आफू नै सर्वशक्तिमान हुन् । उनले अरु कोही अगाडि बढेको देख्न नचाहने भएकाले पनि बाँचुन्जेल अध्यक्ष पड्काउने सोचमा रहेको बुझ्न सकिन्छ ।