- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हामी दैनिक सडक यातायातका कारण मानिसको ज्यान गएको समाचार सुन्दछौँ । यसरी ज्यान गुमाउनेमा बालबालिका तथा ज्येष्ठ नागरिक सबैभन्दा बढी छन् ।
बालबालिकाको शरीरको बनोट, मानसिक अवस्था र सिकाइको अवस्था आदिका कारण उनीहरु वयष्क मानिसले जति सोच्न र देख्न सक्दैनन् । यसै कारण उनीहरु सडकको जोखिममा पर्दछन् ।
बालबालिकाहरु एक पटकमा एउटा विषयमा मात्र सोच्न सक्दछन् । उनीहरुको शरीर पनि विकासकै क्रममा हुन्छ । सवारी साधनले ठक्कर दिँदा वयष्क मानिसको जति उनीहरुको शरीरले भार थेग्न सक्दैन ।
सडकमा ज्यान गुमाउने बालबालिकामध्ये ३८ प्रतिशत पैदल यात्राकै क्रममा मारिन्छन् । यस्तो समस्या मध्यम तथा कम आय भएका मुलुकमा बढी हुन्छ । यस्ता मुलुकका बालबालिका हिँड्ने सडकमै सुस्त गतिदेखि तीव्र गतिसम्मका सवारी साधन चल्दछन् ।
दुई पांग्रेदेखि चार पांग्रेसम्म र मोटर जडान नगरिएका साइकल तथा रिक्सादेखि जनावरले तान्ने गाढा तथा टाँगासम्म बालबालिकाको ज्यान जोखिममा पार्ने सवारी साधनमा पर्दछन् ।
उच्च आय भएका मुलुकका बालबालिकाको अवस्था फरक छ । त्यस्ता मुलुकमा सडक यातायातमा ज्यान गुमाउनेमध्ये ३६ प्रतिशत बालबालिका सवारी साधनको अगाडि वा पछाडिको सिटमा राखिएका हुन्छन् ।
उनीहरुको मृत्युको मुख्य कारण सिटबेल्ट वा बालबालिकाका लागि व्यवस्थित सिटको प्रयोग नहुनु हो । बाँकी सडक परिघटनामा मारिएकाहरु साइकल, मोटरसाइकल र अन्य सवारी साधनको ठक्करमा पर्दछन् ।
यसरी ज्यान गुमाउने बालबालिकामा साइकलका प्रयोगकर्ता ६ प्रतिशत, चार पांग्रेका प्रयोगकर्ता सात प्रतिशत र मोटरसाइकलका प्रयोगकर्ता १४ प्रतिशत रहेका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यिनीहरु हेलमेटको प्रयोग नगर्ने, उपयुक्त बालमैत्री सिटको व्यवस्था नहुँदा तथा सिट बेल्टको प्रयोग नगरेका कारण जोखिममा पर्दछन् ।
सडक यातायातका कारण बालबालिकाको ज्यान जोखिममा पार्नेमध्ये मुख्य कारण सवारी गति हो । उच्च आय भएका मुलुकका सडकमा मारिने एक तिहाइ बालबालिका सवारी गतिको शिकार बन्दछन् । त्यस्तै मध्यम तथा कम आय भएका मुलुकमा सवारी गतिका कारण मारिने बालबालिकाको संख्या करिब ५० प्रतिशत छ ।
बालबालिकाका लागि सडकलाई सुरक्षित स्थल बनाउनका लागि पहिलो कदम हो, गतिमा रोकावट । बालबालिका तथा पैदल यात्रीको भीडभाड हुने सडकहरुमा सवारी गति ३० किलोमिटर प्रतिघन्टाभन्दा बढी हुनु हुँदैन । यसो भएमा सवारी चालकले सवारी साधन नियन्त्रणमा राख्न सक्दछ । कथंकदाचित ठक्कर लागि हाले पनि मानिसको ज्यान जाने सम्भावना न्यून रहन्छ ।
सडकमा गति कम पार्न स्पिड क्यामेराको प्रयोग गर्न सकिन्छ । यस्तै सडकमा रोकावट राख्ने, बत्तीको संकेत राख्ने तथा राउन्ड अबाउटको व्यवस्थापन गर्न सकिन्छ । यसो गरेमा बालबालिकासहित सबै सडक प्रयोगकर्ता सुरक्षित बनदछन् ।
बालबालिकाका लागि सडक असुरक्षित बन्नुको अर्को कारण हो सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गर्नु । मादक पदार्थको सेवन गरी सवारी साधन चलाउने कार्यलाई नियमन गरिनु पर्दछ । यसका साथै बालबालिकालाई मादक पदार्थको किनबेचमा सरिक हुन पनि दिइनु हुँदैन । त्यतिमात्र होइन आजकल मापसे थाहा हुन्छ भनेर धेरैजसो युवा चालकले लागुपदार्थ सेवन (लापसे) गरेको पनि पाइएको छ ।
अर्को उपाय हो दुई पांग्रेका प्रयोगकर्ताले हेलमेटको प्रयोग गर्नु । चालक, यात्री, बालबालिका जो जो यस्ता सवारी साधनको प्रयोग गर्दछन्, उनीहरुलाई अनिवार्य हेलमेट लगाउने कानूनी व्यवस्था लागु हुनु पर्दछ । हाम्रो देशमा पनि यस्तो कानून छ । तर लागु भएको छैन । हेलमेटको प्रयोगसम्बन्धी भियतनामको अनुभव सिकाइयोग्य छ ।
सन् २००७ मा हेलमेट अनिवार्य गर्नुअघिसम्म भियतनाममा वार्षिक १४ हजारभन्दा बढी मानिसको ज्यान सडक यातायातका कारण जान्थ्यो । यसरी ज्यान गमाउनेमध्ये ६० प्रतिशत मोटरकसाइकलका प्रयोगकर्ता थिए ।
नेपालमै जस्तो भियतनाममा पनि मोटरसाइकल नै सवारीको पहिलो साधन हो । नेपालमा आव २०७९–८० मा मात्र ४० लाख मोटरसाइकल दर्ता भएका थिए ।
सडकमा एक हजार वटा सवारी साधन थप हुँदा ६ प्रतिशत पैदल यात्री, साइकल यात्री पाँच प्रतिशत र गाडी प्रयोगकर्ता सात प्रतिशत घाइते हुन सक्ने अध्ययनले देखाएको छ ।
भियतनाममा मोटरसाइकल क्र्यासमा परी वार्षिक ३० हजार मानिस घाइते बन्दथे । तीमध्ये अधिकांशको टाउकोमा चोट लाग्दथ्यो । घाइतेको उपचारका लागि मुलुकले वार्षिक ९० करोड अमेरिकी डलर खर्चन्थ्यो । उक्त रकम भियतनामको कूल गार्हस्थ उत्पादनको २.७ प्रतिशत थियो ।
यस समस्याबाट मुक्तिका लागि त्यस मुलुकको सरकारले साइकल, मोटरसाइकल, स्कुटर लगायतका सबै दुई पांग्रे सवारी साधनका चालक तथा बालबालिका समेतका यात्रीका लागि हेलमेट अनिवार्य गरायो । यसको निगरानी गर्न प्रहरीलाई जिम्मा दिइयो ।
पहिलो वर्षमा ५ लाख मानिस कारबाहीमा परे । जरिवाना र हेलमेटको दाम बराबर जस्तो थियो । अझ जरिवाना बढी । बजारमा हेलमेटको दाम सरदर १० अमेरिकी डलर पर्दथ्यो भने जरिवाना १२ डलरसम्म तोकियो । यो जरिवाना मानिसको सरदर महिनाबारी कमाइको ३३ प्रतिशत थियो ।
यो नियम लागु गरिएको पहिलो तीन महिनामै सडक यातायात परिघटनाको क्रममा १८ प्रतिशत र यस्ता परिघटनाबाट मृत्यु हुनेको संख्यामा १६ प्रतिशतले कमी आयो ।
यस परिणामबाट सरकार अझ जोसियो । तर नियम कानूनमा भएका स–साना छिद्रको प्रयोग गर्दै कतिपय प्रयोगकर्ताले चिउँडोमा मात्र हेलमेट अड्याएर सवारी प्रयोग गर्न थाले । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको हेलमेटको जिम्मेवारी कसले लिने भन्ने पनि प्रस्ट भएन ।
यी दुवै कुरालाई समेट्दै सरकारले सन् २०१० मा १४ वर्ष मुनिका बालबालिकाको हेलमेटको जिम्मेवारी सम्बन्धित सवारी चालकले लिनुपर्ने व्यवस्था गरेपछि भने बालबालिकाका लागि पनि हेलमेट अनिवार्य भयो । हेलमेट अनिवार्य कार्यक्रमका लागि प्रहरीको तलब तथा हेलमेटको मूल्य गरी वार्षिक दुई करोड ४० लाख अमेरिकी डलर खर्च भयो ।
यसबाट रोडक्र्यासमा ज्यान जानेको दर १८ प्रतिशतले कमी आइ वार्षिक एक हजार पाँच सय मानिसको ज्यान जोगियो भने थप पाँच हजारलाई सख्त घाइते हुनबाट जोगाइयो ।